देवदह । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदह नगर कमिटीको नेतृत्व चयनमा सकस देखिएको छ । सवै वडाहरुको अधिवेशन सकेर गत पौष २० गते धुमधामका साथ नगर अधिवेशन उद्घाटन गरेपनि माओवादी केन्द्र देवदह सर्वसम्मत रुपमा नगर नेतृत्व चयन गर्न चुक्यो ।
नगर अधिवेशन उद्घाटन गर्दै पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी केन्द्रमा जनलहर आएको उद्घोष गरे । पार्टी जिल्ला संयोजक निर्मल जिसीसहित जिल्ला र प्रदेश स्तरका दर्जनौ नेताहरुको उपस्थितिमा सुरुभएको अधिवेशनले नेतृत्व चयन गर्न भने सकेन ।
२८ सदस्यीय नगर कार्यसमितिको टुंगो लगाएपनि अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि यतिवेला अध्यक्ष मण्डलको टेकोमा माओवादी केन्द्र देवदह अडिएको छ ।
पार्टीका पुर्व देवदह अध्यक्ष समेत रहेका क्षेत्रीय संयोजक मोतिलाल ढकाल यतिबेला अध्यक्ष मण्डलको अध्यक्ष रहेका छन् भने सदस्यमा निर्मला जिसी र दिनानाथ सापकोटा रहेका छन् ।
सर्वसम्मत रुपमा नगर नेतृत्व चयनको प्रयास भएको र छिट्टै नगरले नेतृत्व पाउने नेता ढकाल बताउँछन् । ‘पहिले नगर कमिटि चयन गरेर कमिटिको बैठकले नगर पदाधिकारी चयन गर्ने व्यवस्था हाम्रो विधानमा रहेको छ ।’ नेता ढकालले भने, 'हामी छिट्टै यसलाई टुंगोमा पु¥याउँछौं ।’
त्यसैगरी निर्वतमान नगर अध्यक्ष गोविन्द ठटराई पनि नेतृत्वको समस्या नरहेको र छिट्टै समाधान हुने दावी गर्छन् ।
तर स्थिति भने नेताहरुले भनेजस्तो सहज देखिदैन । नगर अध्यक्षको लागि प्रदेश सदस्य र नगर इञ्चार्ज समेत रहेकी कल्पना सुवेदी र स्थानीय सामुदायिक रेडियो देवदहका कार्यकारी प्रमुखसमेत रहेका दिपक न्यौपानेले दावी गरिरहेका छन् ।
माओवादी स्रोतका अनुसार पार्टी नेताहरुले सुवेदीलाई अध्यक्ष र न्यौपानेलाई सचिव बनाएर लैजाने तयारी गरेको भएपनि न्यौपानेले अध्यक्षमा अडान छोडेका छैनन् । ‘उहाँहरु दुवै योग्य हुनुहुन्छ, तर कल्पना जी अध्यक्ष र दीपक जी सचिव भएर जाँदा नगर नेतृत्व मिल्छ र थप गतिशील बन्छ भन्ने लागेको छ ।’ स्रोतले सेतोमसीलाई भन्यो, ‘सर्वसम्मत हुन नसके निर्वाचनमा जाने बाटो खुल्ला नै रहेको छ ।’
त्यसो त नेतृत्वको लागि अध्यक्षमा मात्र लफडा छैन, माओवादी केन्द्र देवदहको उपाध्यक्षमा ७ जनाको दावी छ । सचिव र अन्य पदाधिकारीमा पनि दुई वा दुई भन्दा बढीको दावी रहेको हुनाले परिस्थिति जटिल बनेको एक माओवादी नेताले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology