माधव ज्ञवाली, गुल्मी । साउन लागेपछि जब रेडियोबाट तिजका गित बज्न थाल्छन् । गाउँघरमा तिज लाएको भान हुन्छ। मेलापात गर्दा कानमा इयरफोन लगाएर होस् या घरमै रेडियो घन्काएर होस् । मौलिक तिज गितमा नरमाउने सायद कमै हुन्छन् ।
गाउँघरमा पालैपालो एक अर्काको घरमा साँझमा जम्मा भएर मौलिक तिज गित गाएर नाच्ने । नाचेर सकिसकेपछि काँक्राको अचारको स्वाद लिएर मात्र घर फर्किने चलन धेरै पहिलेबाटको हो।
तिजको दिन आउनुभन्दा १/२ दिन अघि नै २/४ दिनलाई पुग्ने गरि निकै आतुर गरेर घाँस काट्ने अनि माइतीघर जाने । आमाले पकाएको दर खाने तिजको दिन नाच्ने डाँडामा गएर गितद्वारा आफ्ना पिर वेदना पोख्ने नेपाली हिन्दु नारीको परम्परा नै हो। त्यसैले त तिजलाई हिन्दु नारीको महान पर्व पनि भनिन्छ।
तर एकाएक कोरोना भाइरस आयो। सबै कुरालाई ठप्प पारिदियो। बाह्रै महिना चुलो चौको अनि घाँसपात मा बिताउनुपर्ने दिदिबहिनीहरुलाई तिजको दिन खुसी मिल्थ्यो । तर गत बर्ष र अहिले पनि त्यो खुसी मिल्न सकेन।
चेलीका माइतीघर शून्य छन् । नाच्ने डाँडाहरु उनीहरुलाई नै कुरेर बसिरहेछन । तर यसपालि पनि ती डाँडाहरु रित्तै रहे। कोरोना भाइरसको त्रासका कारण जमघट हुने अवस्था पनि छैन । सरकारले पनि बन्देज गरिदिएको छ।
नाच्ने डाँडाहरु रित्तै भएपनि बैकल्पिक बाटो रोज्न सकिन्छ भन्ने उदाहरण रुरु धार्मिक सेवा संचारले रुरुक्षेत्र धाम रिडि र कालीगण्डकी पोस्ट स्याङ्जाले दिएका छन् । यी दुईको संयुक्त पहलमा प्रतिस्पर्धाको माध्यमबाट तिजको मौलिकतालाई जोगाउने प्रयास गरेका छन् । प्रतिस्पर्धामा सहभागी भएका नृत्यले यतिखेर सामाजिक संजाल फेसबुक खचाखच भरिएको छ।
"रुरु कालीगण्डकी अनलाइन तिज नृत्य प्रतियोगिता आयोजना गरेर संजाल मार्फत मौलिकता जोगाउने प्रयास गरेका हौँ । कार्यक्रमका अध्यक्ष चुरामणी तिमिल्सिनाले बताए । पछिल्लो समय तिजको मौलिकता हराइरहेका बेला कोरोना भाइरसको असरका कारण अझै हराउँदै जाने होकि भन्ने अनुुुुभुती भएसङ्गै गाउँघरमा लुकेर रहेका प्रतिभाहरु लाई बाहिर ल्याउने उदेश्य सहित अनलाइन तिज नृत्य प्रतियोगिताको आयोजना गरिएको तिमिल्सिनाको भनाई छ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट उत्साहजनक सहभागिता रहेको छ । आजसम्म विभिन्न १५ भन्दा बढी जिल्लाबाट २०० भन्दा धेरै प्रतियोगीहरुले सहभागिता जनाइसकेको तिमिल्सिनाले बताए। प्रतियोगीले मौलिक तीज गितमा नृत्य गरेको हुनुपर्ने उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology