गुल्मी । मालिका गाउँपालिका–५ का ७० बर्षीय मीन बहादुर परियारले कुममा कुम जोडी, बसेर र उठेर दमाह ठोक्छन् । उमेर अनुसार गरुङ्गो दमाह बोकेर ढल्की–ढल्की नाच्न सजिलो छैन् । तर, उमङ्गले बाजा बोकेर चौर घुमेको पत्तै हुँदैन् । सरायँमा सनाई गीतमा दमाहको ताल मिल्नुपर्छ । साथीभाईबिच अंगालोमा बाँधिएर ‘आयो दशै गयो, देवी भेट भयो’, । ‘बाँचे आइसल भेट राखे माया पेट’ भन्ने गीतमा खेलिने सरायँ नाचको आनन्दता बेग्लै हुन्छ । उनी इस्मा र मालिकाका सवै सरायँमा नाच्ने गर्छन् । सोहि गाउँकै ६३ बर्षीय डील बहादुर परियार पनि दिनभर दमाह ठोकेर सरायँ नाच्छन् । अर्जे फुलबारीदेखि इस्मा मैदानका सरायँमा बर्षेनी छुट्दैनन् । युवा उमेरबाट नर्सिङ्गा र कर्नाल फुकेर हुर्केका डील बहादुरको टोली अर्जेमा रातमा समेत सरायँ खेले । अर्जेमा पूर्णिमाको दिन सरायँ खेलिन्छ । भने दशैको भोलीपल्ट इस्मा मैदानमा बिहान १० बजेबाट ४ बजेसम्म सरायँ हुन्छ । सरायँको मध्ये समयमा मालिका गाउँपालिका–५ छापबाट एउटा समुह सरायँ खेल्दै इस्मा मैदान आउँछन् । इस्मा मैदानमा सरायँ खेलिरहेका इस्माली टोली छपालीको स्वागतमा मैदान प्रवेशद्धारमा पुग्छन् । दुवैटोली जब भेट हुन्छन्, तब उफ्रिर्दै र चिच्याउँदै मैदानको बिच भागको मौलो छोप्न आइपुग्छन् । यो परम्परालाई पहिले बहादुरी र बिजयउत्सवको रुपमा विकास गरियो ।
त्यो बेला इस्माली र छपाली मध्ये कसले पहिले मौलो छुने भन्ने दौड हुन्थ्यो । त्यो मानसिकताका कारण झगडा बढेपछि अहिले आत्मिय सम्मानको रुपमा भेट हुने र सरायँ खेल्ने गरिएको छ । एकादशीमा नजिकमा घमिर बाहेक सरायँ हुँदैन् । त्यसैले पनि दशैमा घर आएकाहरु इस्मा मैदान पुगेर सरायँ नहेरी गन्तव्यमा फर्किदैन्थे । जसका कारण भीडले चौर खचाखच हुन्थ्यो । इस्माली र छपालीको सरायँ नमिस्सिएसम्म कोहि घर फर्किदैनथे । तर, अहिले इस्मा, मालिका, धुर्कोट लगायतका स्थानका सरायँमा गोलघेरा नपुग्ने अवस्था छ । अडिएर सरायँ खेल्ने पुस्ता छैन् । फोटोको लागि घुम्ने र छोड्ने चलनले सरायँ जोगाउन सकस रहेको धुर्कोट गाउँपालिका–५ का सुरज केसीले बताए । मालिकाको छापले परापुर्वकालदेखि इस्माकोत मान्दै आएकाले कोतकै सम्मानकै लागि सरायँ खेलेर मिसिने गरिएको मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखाकुमार जिसीले बताए । पहिले छपाली सरायँले खादीपाटादेखि मैदान भरिलो बन्ने गरेपनि अहिले परम्परालाई निरन्तरता दिन मात्रै सकिएको जिसीको भनाई छ । सरायँकै बिचमा नाँच्ने र बजाउनेहरुलाई इस्मा मैदान ओलक खुवाइन्छ । मनकामना पुजा समितिका अध्यक्ष खगराज बस्नेतका अनुसार ओलक निकै पुरानो प्रचलन हो । दहि, केरा र अम्बालाई ओलक भनिन्छ । बस्नेतका अनुसार केहि बर्षसम्म इस्मा दोहली, रजस्थल, दर्लामचौर र छापका स्थानीयले ल्याएको दहीले मैदानमा इन्द्रबीर बस्नेतको घर भरिन्थ्यो ।
अहिले इस्मा, मालिका, धुर्कोट लगायतका स्थानका सरायँमा गोलघेरा नपुग्ने अवस्था छ । अडिएर सरायँ खेल्ने पुस्ता छैन् । फोटोको लागि घुम्ने र छोड्ने चलनले सरायँ जोगाउन सकस रहेको धुर्कोट गाउँपालिका–५ का सुरज केसीले बताए ।
कोतको नाममा दही, केरा र अम्बा ल्याउँदा धार्मिक आनन्दता प्राप्त हुन्थ्यो । अहिले गाउँ र मान्छेका मन रुखा बनेका छन् । सहयोग र आस्था मर्दै गएकाले छापले मात्रै ओलक ल्याउने र आफुहरुले दही किनेर सरायँ खेल्नेहरुलाई खुवाउँदै आएको मनकामना पुजा समितिका अध्यक्ष बस्नेतले बताए ।
सरायँमा पुस्तान्तरणको खाँचो
युवा नेता राजेन्द्र विक्रम कुवंर । कलागलामा अब्बल छन् । सेतो साफा शिरमा । खुट्टामा पनि सेतै धोती । गलामा जमराको माला र हातमा तरबार छोपेर इस्मा गाउँपालिका–२ को देविस्थान मन्दिर परिसर ताल्तुङ्गमा मज्जैले सरायँ खेले कुवंर । उनी सानै उमेरबाट सरायँ खेल्थे । सोरठी गाउन र नाच्न पनि माहिर कुवंरलाई परम्परागत कला र संस्कृति संरक्षणको पिरलो छ । सरायँ र सोरठीको पुस्तान्तरण गर्नुपर्ने जोड कुवंरको छ । जसका कारण हस्तिचौरमा दर्जनौ युवासंगै दशैको चुर्तुदशीका दिन सरायँ खेल्छन् । मुसिकोटका पनि विभिन्न स्थानमा सरायँ हुन्छ । मुसिकोट युवा क्वलले पनि दशैमा सरायँ संरक्षणका लागि प्रतियोगीतानै गर्ने गरेको छ ।
गुल्मीमा दुई दर्जन स्थानमा सरायँ
ऐतिहासिक सरायँ नाच गुल्मी, अर्घाखाची, प्युठान र पाल्पाका शक्तिपिठमा दशैंको भोलीपल्टबाट खेल्ने परम्परा छ । गुल्मीमा मन्दिरमा भक्तजनले चढाएका खुकुरी, तरवार, खुडा, खड्ग आदि हतियार एक आपसमा ठोक्याउ“दै ‘वाख्खै वा’ को भाषामा सरायँ खेलिन्छ । केहि समय पहिले हतियारनै नचाएर सरायँ खेलिन्थ्यो ।
पछिल्लो सयम सवै ठाउँमा त्यो छैन् । हतियार प्रर्दशन गर्दा दुर्घटना हुने डर बढि हुने भएकाले यो पछिल्लो समय छोडिएको इस्माका अगुवा रामबहादुर बिष्टले जानकारी दिए । अहिले काठका हतियार, रुमाल, मजुरका प्वाँख र फुल छोपेर सरायँ खेल्ने गरिएको छ । भने केहि स्थानमा खुकुरी र तरबार नचाउने गरिएको छ । गुल्मीमा बिशेष गरेर छत्रकोटको चोयँगा, मालिकाको अर्जे, घमिर, छापहिले, इस्माको मैदान, राङदल, ठाढुङ्गा, हस्तिचौरमा सरायँ हुँदै आएको छ । त्यस्तै धुर्कोटका जैसिथोक, रजस्थल, वाग्ला तथा मुसिकोटको कोट, थाम, वामी लगायतका स्थानमा सरायँ हुने गरेको छ ।
पट्टा र मालश्री लोप हुँदै
पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । इस्माको चाँपटारीबाट फुलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारीहरु झरेपछि मैदानमा करिव डेढ घण्टा रोचक पट्टा नाँच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको पट्टा नाचमा अब्बल खुम बहादुर बस्नेतले बताए । यो परम्परा अरु कसैको लागि हो भन्ने मानसिकताको कारण अहिले त्यो प्रथा परम्परा लगभग हराएको उनले बताए । यो रोचक नाच र गीत पाको पुस्तासंगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताए ।
पछिल्ला बर्षहरुमा फुलपातीमा पट्टा खेल्ने र मालश्री गाउनेको खडेरी छ । लक्ष्मीकान्त, नुरदेव पैयानी मालश्रीका कलाकार हुन् । उनीहरु दिवंगत भए । अहिले होमकान्त, लोकप्रसाद, घनश्याम र जिबाखर पैयानीले मालश्री गाउँछन् । उनीहरुसंग मेलो छोप्नेहरु छैनन् ।
पछिल्ला बर्षहरुमा फुलपातीमा पट्टा खेल्ने र मालश्री गाउनेको खडेरी छ । लक्ष्मीकान्त, नुरदेव पैयानी मालश्रीका कलाकार हुन् । उनीहरु दिवंगत भए । अहिले होमकान्त, लोकप्रसाद, घनश्याम र जिबाखर पैयानीले मालश्री गाउँछन् । उनीहरुसंग मेलो छोप्नेहरु छैनन् । इस्मारजस्थलकै पुनाराम अधिकारी पनि मालश्रीका कलाकार भएपनि बसाई सरे । पैयानी परिवारसंगै मालश्रीको प्रतिष्ठा जोडिएको भएपनि पुरानो पुस्तासंगै हराउँदै गएकाले आफुहरु पनि चिन्तित बनेको स्थानीय अगुवा नारायण पैयानीले बताए । सिक्ने र सिकाउने पुस्ताबिचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको स्थानीय टीका बहादुर थापाले बताए । उनले पुरानो पुस्तालाई मालश्री र पट्टा खेल्न सिकाउनुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology