काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने बताए ।
अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिए। उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे।
मन्त्री पौडेलले त्रास, आतंक, भय सिर्जना गर्नेकामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताए। उनले अधिकांश कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology