देवदह । रोटरी क्लब अफ देवदहले विद्यालयलाई सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । बुधबार सुनवलस्थित ज्योति माध्यमिक विद्यालयलाई मेसिन हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष विष्णु पाठकले बताए ।
नवलपरासीमा बालिकाहरूको स्वास्थ्य र स्वच्छता प्रवर्द्धन गर्न सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको क्लबले जनाएको छ । सो अवसरमा क्लबले विद्यार्थीहरूलाई नैतिकता र इमानदारीका मूल्यहरू सिकाउन विद्यालयलाई रोटरी फोर-वे टेस्टको ब्यानर समेत प्रदान गरेको छ ।
यसअघि गतवर्ष देवदह आदर्श बहुमुखी क्याम्पसलाई मेसिन उपलब्ध गराएको रोटरी क्लबले पर्वतका दुई विद्यालय सहित हालसम्म चार वटा मेसिन वितरण गरेको छ ।
रोटरी क्लब अफ चेन्नई हलमार्कका एक सदस्यले आफ्नो बुवाको सम्झनामा रोटरी क्लब अफ देवदहलाई चार वटा मेसिन सौजन्य गरेको र उपलब्ध भएका सबै मेसिन वितरण गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।
कार्यक्रममा रोटरीका सदस्य, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology