निःशुल्क रुपमा उपहार स्वरुप पाएको आफ्नो अमूल्य जीवनलाई आफैले सदाको लागि उत्सर्ग गर्नु आत्महत्या हो । ‘आत्महत्या’ दुई शब्दको समायोजनबाट बनेको छ । आत्मा र हत्या आफ्नो आत्माको आफै हत्या गर्नु नै आत्महत्या हो । मानिसले जीवन जीउने क्रममा अनेकौ उतारचढावहरुको सामना गर्नुपर्ने हुन्छ । बिघ्न बाधाहरुसँग जुध्नुपर्ने हुन्छ । यसरी जीवनलाई सहज र सरल बनाउने क्रममा मानिसमा हीनताबोधको सिर्जना भयो भने उसले आफ्नो मनस्थितिलाई नकारात्मक सोंचमा बदल्न सक्छ । अनि उसले आत्महत्याको विविध माध्यम जस्तै विष सेवन गर्नु, झुण्डिनु, हाम फाल्नु, धारिलो हतियार प्रयोग गर्नु मध्ये कुनै एक विकल्प रोजी उपहार स्वरुप पाएको अमूल्य जीवनलाई क्षेणिक समयमानै समाप्त पार्न सक्छ ।
नेपालमा पहिलेदेखि नै आत्महत्याको दर निकै बढी भएकोमा यो महामारीले वर्तमान अवस्थालाई अझ खराब बनाएको छ । विगत चैत्रदेखि हालसम्म अनिश्चितताको कारण भावनात्मक तथा मानसिक अस्वस्थता एवम् आघात र विविध क्षतिहरुका कारणले गर्दा तिन सय १८ जना बालबालिका र आठ सय ७६ जना महिला सहित एक हजार तिन सय ५० जनाले आत्महत्या गरेका छन् ।
नेपाल प्रहरीका अनुसार गतवर्षका तुलनामा यसवर्षको ४ महिनाको समयमा आत्महत्या गर्ने किशोरीहरुको सङ्ख्या अघिल्लो महिनाहरुको तुलनामा ४० प्रतिशतले वृद्धि भएको छ भने आत्महत्या गर्ने किशोरहरुको सङ्ख्यामा पनि केहि वृद्धि भएको छ । यी सङ्ख्याहरुमा प्रहरीको अभिलेखमा रहेको आत्महत्या मात्रै समावेश छन् । यस अभिलेखमा नरहेका घटनाहरु आत्महत्याका प्रयासहरु वा आत्महत्या गर्ने सोंच बनाएका मानिसहरुलाई समेटिएको छैन । हरेक आत्महत्याले उनीहरुको नजिकका मानिसहरुमा गहिरो शोक छोड्ने गर्दछ ।
युनिसेफले बालबालिका तथा परिवारको सम्बन्धमा गत जुलाइमा गरेको एक सर्वेक्षण अनुसार ४८ प्रतिशत परिवारहरुले विशेष गरी बन्दाबन्दीको बेलामा आफ्ना बालबालिकाका आवश्यकता पूरा गर्न सकिन्छ या सकिन्न भन्ने विषयमा तनाव बढेको बताएका थिए । युवाहरुमा आत्महत्याको सङ्ख्या बढिरहँदा कल सेन्टरहरुमा आत्महत्याका विषयमा सहयोगको माग गर्ने व्यक्तिहरु थोरै थिए । युवाहरुका लागि सहायता सेवाहरु विस्तार गर्नु साथै मानसिक स्वास्थ्यको विषयमा रहेको सामाजिक दोषारोपण र लाञ्छनाको सम्बोधन गर्नु पनि महत्वपूर्ण छ । नेपालका बालबालिका तथा युवाहरुको मानसिक स्वास्थ्यका सवालमा रोकथाम, थेरापी उपचार तथा पुनस्र्थापनामा योगदान गर्दै यसलाई पनि मूलधारको स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण हिस्साको रुपमा सुनिश्चित गर्ने कार्यमा सहयोग पु¥याउन सरकार तथा विकास साझेदारहरु, नागरिक समाज, समुदाय र परिवारको महत्वपूर्ण भूमिका रहन्छ ।
आत्महत्या महामारीको रुपमा देखिनुको मुख्य कारण जीवनयापनका चिन्ताहरुसँग जुध्न नसक्नु र भविष्यका आशाहरुलाई निराशामा परिणत गरी कठोर सङ्घर्ष गर्न नसक्नु हो । त्यस्तै मानिसले समाजमा रहँदा, बस्दा आफूलाई पृथक महसुस गरी एकान्त स्थल खोज्नु, सोँचमग्न हुनु, जीवनलाई सामान्य अर्थमा परिभाषित गर्नु, कोही कसैप्रति माया, ममता नहुनु अर्को कारण हो । विश्व मानचित्रलाई नियालेर हेर्ने हो भने संसारमा कतै न कतै हरेक ४० सेकेण्डमा कसैले आत्महत्या गर्नेगर्छ । झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वस्थ्य संगठन डब्लु एच ओ ले जनाएको छ । सडक दुर्घटना पछि सबैभन्दा धेरै १५ देखि १८ वर्षमा मानिसहरुले ज्यान गुमाउने आत्महत्याको कारण नै देखिएको छ । आत्महत्यालाई न्यूनिकरण गर्नको लागि निम्न कदमहरु चाल्नु जरुरी छ ।
– कुनै पनि आत्महत्याको घटनालाई प्राथमिकताका साथ प्रकाशन÷प्रशारण गर्नुहुँदैन ।
– घटनालाई प्रोत्साहित नगरी दुरुत्साहित गर्नेतर्फ ध्यान आकर्षण हुनुपर्छ ।
– शीर्षक र समाचारले जोखिममा रहेका व्यक्तिलाई थप दुरुत्साहत गर्न सक्छ यसैले शीर्षक राख्दा ध्यान दिनुपर्छ । जस्तै ‘कीर्तिमानी खेलाडीद्वारा झुण्डिएर आत्महत्या’ शीर्षकको सट्टा ‘मृत अवस्थामा फेला’ वा ‘कोठामै मृत भेटियो’ जस्ता शीर्षक राख्दा उपयुक्त हुन्छ ।
– विस्तृत विवरण दिने, वा फोटो, भिडियो सम्प्रेषण गर्नेजस्ता कार्य गर्नुहुँदैन ।
– आत्महत्या सम्बन्धि विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ ।
– आत्महत्या रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय नीति ल्याउनुपर्छ । बढी भन्दा बढी हेल्पलाइनहरु स्थापना गर्नुपर्छ र मानिसलाई बढी जनचेतना जगाउनु पर्छ ।
नोट : पाठक मन्च, घुम्ने किताब, नेपाल मनोचिकित्सक संघ र नेपाल सामाजिक मानसिक स्वास्थ्य संघद्वारा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम भएको गार्मी एकेडेमी, बुटवल कक्षा ८ का विद्यार्थी अन्सु क्षेत्रीको निबन्ध आयोजकसंगको समन्वयमा प्रकाशन गरिएको - सम्पादक ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology