देवदह । देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले पत्रकारिताको माध्यमबाट स्थानीय निकायमा सुशासन कायम हुन सक्ने बताएका छन् । पत्रकार र सञ्चार माध्यमले स्थानीय निकायमा हुने हरेक गतिबिधिहरुलाई निष्पक्ष रूपले खबरदारी गर्न सके विकास र सुशासनमा सहयोग पुग्ने उनले बताए ।
रुपन्देहीको देवदहमा आज सम्पन्न विद्यालयका सूचना अधिकारीहरूसँग अन्तरक्रिया एवम् आधारभूत समाचार लेखन तालिम समापनको अवसरमा बोल्दै प्रशासकीय अधिकृत सापकोटाले यस्तो बताएका हुन् । अधिकृत सापकोटाले शैक्षिक क्षेत्रको सुधारका लागि समेत पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै नगर प्रवक्ता गणेश डुम्रेले सञ्चार माध्यमहरूले नकारात्मक सँगै सकारात्मक समाचारलाई समेत महत्त्व दिनुपर्नेमा जोड दिए । आम सञ्चार माध्यमबाटै हरेक विषयको धारणा बन्ने भएकाले त्यसतर्फ सचेत हुन तालिमका सहभागीलाई उनले आग्रह गरे । सेतोमसी डिजिटल पत्रिकाको आयोजनामा भएको तालिम समापनको अवसरमा बोल्दै नगर प्रवक्ता डुम्रेले विद्यालय शान्ति क्षेत्र भए पनि कतिपय अवस्थामा गलत सूचना र समाचारका कारण द्वन्द्व सृजना हुने गरेको उल्लेख गरे ।

कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै सेतोमसीका सम्पादक विष्णुप्रसाद पोखरेलले देवदहलाई मिडिया नगरीको रूपमा विकास गर्दै लैजानुपर्ने बताए । त्यसको पूर्वाधार तयार गर्न पनि हरेक विद्यालय र सङ्घसंस्थामा पत्रकारिताको आधारभूत ज्ञान दिन आवश्यक रहेको उनले औँल्याए ।
सोही अवसरमा सहभागीको तर्फबाट बोल्दै कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक तेजबहादुर अर्याल र ग्रिन प्लान्ट आवासीय माविका शिक्षक धनमाया शर्माले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताए । विद्यालयका नियमित गतिविधिलाई सञ्चार माध्यम सम्म पुर्याउनका लागि तालिम उपयोगी हुनेमा उनीहरूले जोड दिए ।
रोटरी क्लब अफ देवदहको सहयोगमा भएको तालिममा देवदहका सामुदायिक र संस्थागत गरी विभिन्न ३८ वटा विद्यालयका शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । तालिमको सहजिकरण सेतोमसी अनलाइन पत्रिकाका कार्यकारी सम्पादक पवन पौडेलले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology