तिमी एउटाको इसारामा
म अर्कैको स्वार्थमा
सज्ने बेलाका बहरगोरु झै
कैलेसम्म डुक्रिने बिना अर्थमा
बरु यसो गरौँ,
तिमी तिम्रो धुलो टक्टकाउ
म मेरो अनुहार पखाल्छु
तिमी तिम्रो आङको भुसुना धपाउ
म मेरो भैसी लखेट्छु ।
तिमी, तिमीभित्रका दम्भ निकाल
म, मभित्रको आडम्बर हटाउछु
तिमी तिम्रो वादको अपबाद छोड
म मेरो विचारको शल्यक्रिया गर्छु
तिमी तिम्रो बस्तीबाट एक कलंक निकाल
म मेरो ठाउँबाट दर्जन लखेट्छु ।।
तिमी नयाँ गोरेटोमा एक क्वाँक लगाउ
म त्यसमा डोजर चलाउछु
तिमी समृद्धिको पर्खालमा एक इट्टा थप
म पिलर उठाउछु
तिमी एक जनालाई श्रम सृजना गर
म हजारौंलाइ काम पुर्याउँछु ।
अनि,
तिमी आफ्नो दुई गास अरुलाइ दिएकोमा गर्ब गर
म मेरो सिरकको न्यानो अनाथलायलाइ दिएर पसिना काड्छु ।
यसरी तिमी र म मिलेर
तीन करोडको एक मुठ्ठी बनाऔं
र,
बृक्षरोपण गरौं
सम्राट र स्वाठबिहिन
समृद्धिको, मानवताको।
- विष्णु पोखरेल
२०७१-१०-०८, बुटवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology