बौद्ध साहित्यमा चिनियाँ यात्रीहरूले उल्लेख गरेका यात्रा विवरणहरूले देवदह क्षेत्रको पहिचान सुनिश्चितता गरेको छ । उक्त यात्रा वृतान्तमा उल्लिखित दिशा, दुरी र रोहिणी नदीको उपस्थितिले हालको देवदह क्षेत्र बुद्धकालीन देवदह भएको विषयलाई प्रमाणित गर्ने आधार प्रदान गरेको छ । बुद्धकालीन देवदहको सीमाना, राजाहरू, नगरहरू र देवदहमा बुद्धवाणीलगायतका महत्वपूर्ण कुराहरूले देवदह क्षेत्रको महत्व झल्काउनुका साथै हालको देवदहलाई बुद्धकालीन समयसँग जोडेको छ ।
देवदह क्षेत्रमा रहेका बौद्ध सम्पदाको पहिचान, संरक्षण र उचित व्यवस्थापनले यस क्षेत्रलाई धार्मिक पर्यटनको उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । त्रिपिटक लगायत बौद्ध ग्रन्थहरूका विभिन्न अध्यायमा महत्वपूर्ण स्थान दिइएको ‘देवदह’ प्राचीन कोलिय गणराज्यको राजधानी थियो । बुद्धमाता मायादेवी, प्रजापति गौतमी र राहुलमाता यशोधराको जन्म नगरी तथा कोलीय सभ्यताको विकाससँग देवदह जोडिन्छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तिपछि देवदहमा आई उपदेशहरू दिएको उल्लेख छ । बुद्धले देवदहमा आई दिएका उपदेशहरू ‘मज्झिम निकाय’ र ‘संयुक्त निकायमा’ छन् । भगवान बुद्ध र सारिपुत्र साधना गर्न देवदहमा आएको प्रसङ्ग संयुक्त निकायमा छ । जसका आधारमा तत्कालीन देवदह पनि साधनाको केन्द्र भएको प्रमाणित हुन्छ ।
बुद्धको महापरिनिर्वाणपछि बुद्धअस्थिको आठभागमध्ये एक भाग अस्थि प्राप्त गरी कोलियहरूले भगवान बुद्धको अस्थि धातु राखेर रामग्राममा स्तुप निर्माण गरेका थिए । यसर्थ नवलपरासीको रामग्राम बौद्ध धर्म अनुयायी तथा भगवान बुद्धप्रति आस्था राख्ने करोडौं व्यक्तिहरूको पवित्र तीर्थस्थल बनेको छ । बुद्धको जीवनसँग सम्बन्ध रहेका लुम्बिनी, सारनाथ, बोधगया, कुशीनगर, तिलौराकोट, श्रावस्ती, राजगृह आदी स्थानहरूको विषयमा प्रमाणिक टुङ्गो लागिसकेको छ । यी सबै ठाउँहरूमा पुरातात्त्विक उत्खननसमेत भइसकेका छन् । यी स्थानहरूले अन्तराष्ट्रिय मान्यतासमेत प्राप्त गरेका छन् र ती स्थान चर्चित बौद्ध तीर्थस्थल बनिसकेका छन् ।
देवदह र रामग्रामको समेत प्रमाणिक ग्रन्थहरूको आधारमा निचोड निस्किएको छ । बुद्धकालीन देवदह रुपन्देही जिल्लाको देवदह नगरपालिकामा मानिँदै आइएको छ । यहाँका कन्यामाई, बैरीमाई, भवानीपुर, घोडाहा र खयरडाँडाभित्रको पुरातात्त्विक क्षेत्र जहाँ विशाल भग्नावशेषहरू रहेका छन् । देवदह प्रमाणित गर्ने आधारहरूका रूपमा प्राप्त पुरातात्त्विक प्रमाण र बौद्ध ग्रन्थहरूमा उल्लिखित विषय प्रमुख हुन् । त्रिपिटक तथा अन्य बौद्ध ग्रन्थहरू, विभिन्न विद्धानहरूले आफ्ना कृतिहरूमा देवदह सम्बन्धि गरेका वर्णन र चर्चाहरूको आधारमा रुपन्देही जिल्लामा रहेको देवदहलाई नै बुद्धकालीन देवदह मान्न सकिने आधार तथा प्रमाणहरू देखा परेका छन् । ‘बुद्धकालिन देवदह नै अहिलेसम्म मानिँदै आएको रुपन्देही जिल्लाको देवदह हो ।’ भन्ने विषय प्रमाणित गर्ने प्रमुख
पाँच आधारहरू यस प्रकार छन् :
१. देवदहलाई प्रमाणित गर्ने रोहिणी नदी ऐतिहासिक अवशेष र प्रमाण दुबै हो । जुन २६ सय वर्ष अघिदेखि बगिरहेको छ । बौद्ध ग्रन्थहरूमा देवदह नगर रोहिणी नदीको पूर्वी किनारमा रहेको उल्लेख छ । उक्त रोहिणी नदी अहिले रुपन्देहीको देवदहमा पश्चिम किनार हुँदै दक्षिण तर्फ बग्दै भारतको गोरखपुरनजिकको राप्ती नदीमा मिसिएको छ ।
२. चिनियाँ बौद्ध तीर्थयात्रीहरूको यात्रा वृत्तान्तमा उल्लेख गरिएको लुम्बिनीदेखि रामग्रामसँगको दिशा र दुरी रुपन्देही जिल्लाको देवदह र नवलपरासी जिल्लाको रामग्राम स्तुपसँग मिल्न आउँछ । चिनियाँ बौद्ध तीर्थयात्रीहरूको यात्रा विवरण ऐतिहासिक अभिलेख भएकाले यसलाई भरपर्दो प्रमाण मान्नुपर्छ।
३. देवदह पहिचानको आधार देवदह नामाकरण हो । त्रिपिटकमा उल्लेख भएको मंगलपुस्करिणी (देवदह) शाक्य र कोलिय राजाहरूले विशेष पर्वहरूमा नुहाउने दह थियो । यही दहको नामबाट ‘देव दह’ बनेको र हालसम्म पनि यो ठाउँलाई देवदह नै भनिएको कुरा अर्को विशेष प्रमाण हो ।
४. बुद्धकालिन कोलिय नगरका धेरै प्रमाण अहिले पनि जमिनमा पुरिएका छन् । देवदहमा जमिन खन्दा भग्नावशेष तथा अवशेषहरू फेला परेका छन् । यहाँका पुरातात्त्विक ढुङ्गाइट्टा, सरसमान व्यक्तिहरूले प्रयोग गरेको पाइन्छ । प्राचीन भवनका पर्खालहरू अहिले पनि देवदह क्षेत्रमा देख्न सकिन्छ । यसरी भग्नावशेष तथा अवशेषहरू फेला परेका क्षेत्रहरूमा मुलतः कन्यामाई, बैरीमाई, भवानीपुर, घोडाहा र खयरडाडा आदि रहेका छन् । यहाँको भग्नावशेष तथा अवशेषहरू भेटिने यो क्षेत्र बौद्ध ग्रन्थले वर्णन गरेजस्तै ठुलो र समृद्ध थियो ।
५. बुद्धकालीन देवदहसँग नजिक रहेका कोलिय जनपदभित्रका स्थानहरू जसलाई बौद्ध ग्रन्थहरूमा वर्णन गरिएको छ । ती स्थानहरू अहिले देवदहसँग नजीक रहेका स्थानहरूसँग मेल खाएको छ जस्तो कि त्यसबेलाको कोल नगर वा कोलिय नगर अपभ्रंस हुँदै अहिले देवदहको कोलुवा भएको हो । यसैगरि सज्जनेल अपभ्रंस भई सुनवल, हलिद्धबसन अपभ्रंस भई हर्दिया भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology