देवदह । देवदहमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । दुईदिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि क्षमता विकास तालिमको समापन समारोहमा ५८ देखि ६० वर्ष उमेर समुहका १० जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।
तालिमको समापन तथा सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिला स्वास्थ्य स्वयंसेविका विना तलब २४सै घण्टा नागरिकको सेवामा खटिएकोले नगरपालिकाले सम्मान गरेको बताईन् । स्वास्थ्य स्वयं सेविकाका मागलाई सम्बोधन गर्दै आगामी दिनमा स्वयं सेविकालाई प्रोत्साहन गर्ने उनको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्यालले वडा नं ३ ले महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहन स्वरूप यातायात खर्च र अन्य सुविधा थप गरेको बताए ।
दुईदिने तालिममा देवदह नगरपालिकाका ९६ जना महिला स्वयंसेविकाहरू सहभागी थिए ।
तालिममा देवदह नगर अस्पताल र वडास्तरमा रहेका आधारभूत स्वास्थ्य केन्द्रका प्रमुखले तालिम दिएको देवदह नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology