देवदह । देवदहमा निर्माणाधिन पतन्जली योगपिठ बजेट अभावका कारण समयमै पूरा हुन सकेको छैन । निर्माण सुरु गरेको ८ बर्ष बितिसक्दा पनि बजेट अभावका कारण निर्माण सम्पन्न हुन नसकेको निर्माण समितिले जनाएको छ ।
देवदहको वडा नं. ५ मा निर्माणाधीन उक्त योगपिठ २०७० सालमा सुरु गरिएको थियो । जसकालागि देवदह नगरपालिकाले तीन कठ्ठा जग्गा समेत उपलब्ध गराएको छ ।
तत्कालीन अवस्थामा शान्ति मन्त्रालयबाट २५ लाख उपलब्ध गराईने सहमति भएपनि सरकार परिवर्तन पछि उक्त रकम नदिईएकोले ५ लाख मात्र प्राप्त भएको संस्थाका पुर्व अध्यक्ष तुल्सीराम न्यौपानेले बताए । त्यसयता देवदह नगरपालिका र स्थानीयबाट सहयोग स्वरूप प्राप्त रकमबाट कलिकती काम भएको भए पनि प्रयाप्त रकम नहुँदा निर्माण सम्पन्न हुन नसकेको न्यौपानेले बताए ।
कुल ५० लाखको उक्त आयोजनामा ९० फिट लम्बाई र २५ फिट चौडाई भएको एउटा भवन बनिसकेको छ । जसमा पेन्ट लगायतको काम र ट्वाइलेट बनाउने काम बाँकी रहेको निर्माण समितिले जनाएको छ । साथै, गेट निर्माण लगायतका कार्य समेत बाँकी रहेको जनाउँंदै निर्माण समितिले सहयोगीको खोजी गरिरहेको छ ।
प्राकृतिक चिकित्सा अस्पतालको रुपमा अगाडि बढाउने गरि अघि सारीएको उक्त आयोजनामा कार्यालय लगायतका अन्य भौतिक पुर्वाधार निर्माणको काम समेत बाकिँ नै रहेका छन् । 
कुनैपनि आयोजना सुरु गरिसकेपछि र त्यसमा लगानी गरिसकेपछि समय मै आयोजना सम्पन्न भएन भने त्यसले संस्थागत सेवा प्रवाह गर्न सक्दैन । यदि संस्थाले सेवा प्रवाह गर्न सक्ने गरि निर्माण सम्पन्न गर्न सकिएन भने त्यस आयोजनामा जति नै लगानी गरिएको भए पनि उक्त रकमको उपयोग भएको मानिदैन । त्यसैले सुरु गरिसकिएका आयोजना समयमै सम्पन्न गर्न र त्यहाँबाट सेवा प्रवाह गर्न संबंधित निकायको समयमै ध्यान पुग्नु जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology