देवदह । विदेशिनु नेपालीको वाध्यता हो र यो हाम्रो वर्षौंदेखिको समस्या हो । विदेश पुगेर आर्जन गरेको धन र सिकेको सिपसहित नेपाल फर्किन चाहने र फर्किएका नेपाली युवाले नेपालमै भविष्य खोज्ने क्रममा भोग्ने अनेकन अफ्ठ्याराहरू पनि समस्याकै रूपमा छन् । त्यसो त विदेशमा पनि नेपालीलाई सजिलो कहाँ छ र ? एकातिर आफ्नो सपना र अर्कोतर्फ जिविकोपार्जनको समस्याका बीचबाट विदेश पुगेका कैयौं युवा बाकसमा फर्किएका छन् । कोही विदेशमा समस्यामा परेर नेपालबाटै परिवारले ऋण खोजेर पठाएको हवाई टिकटबाट स्वदेश फर्किएका पनि छन् ? धेरैको बर्षौंदेखि आतेजाते चलिरहेको छ । यसैबीचमा कोही युवाहरू यस्ता पनि छन्, जसले विदेशमा आर्जन गरेको पुँजी र सिकेको ज्ञानलाई मातृभुमिमा लगानी गरेर अनेक व्यवधानसंग भिड्दै सफलताको मार्गमा अघि बढेर उदाहरणीय बनेका छन् । त्यस्तै एउटा उदाहरण हुन् - रुपन्देहीको देवदह निवासी खेम चापागाई ।
बि. सं. २०३९ साल कार्तिक ८ गते तत्कालिन केरवानी ९ (हाल देवदह ४) मा बुवा तुलसीराम र आमा फूलमायाको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका चापागाईले अढाई बर्ष विदेशको अनुभव संगालेर स्वदेशमै आफ्नो ब्यवसायिक कर्मलाई निरन्तरता दिएका छन् । परिवारको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका चापागाईको बाल्यकाल संयूक्त परिवारमै वित्यो । चार भाई र दुई दिदिबहिनिको संगोलमा जेष्ठ सन्तानको रुपमा जन्मिएका खेमको बाल्यकाल खासै अभावमा नबितेपनि कुनैबेला विद्यालयको शुल्क बुझाउन नसक्दा निकै दु:खीत हुनुपरेको खेमसंग अनुभव छ ।
२०५५ सालमा एसएलसी परिक्षा दिएपछि खेमले घरमा किराना पसल सुरु गरे । आफ्नै घरमा हजुरवुवाको अनुमतिमा कोठामा सटर बनाएर एउटा प्लाष्टिकको कुर्चि र टेवलमा सामान राखेर उनले व्यवसाय सुरु गरे । तत्कालिन अवस्थामा १३ हजार लगानी गरेर आफनो ब्यवसाय सुरु गरेका खेमले दैनिक ४ हजारको ब्यापार गर्थे । सानो पसलमा मात्र सिमित हुनुहुन्न भन्ने मान्यता सहित थप अवसरको खोजिमा छिमेकी अंकलको सहारा लिएर खेम भारतको राजधानी दिल्ली प्रस्थान गरे । दिल्लीमै रहेका बेला एसएलसी पास भएको खवर पाएपछि खेम नेपाल फर्किए । नेपाल फर्किएर १२ कक्षासम्म केरवानी माध्यमिक विद्यालयमा अध्ययन गरेका खेमले बुटवल बाणिज्य क्याम्पसमा स्नातक अध्ययन गर्न भर्ना भए ।
मलेसिया हुँदा संगै काम गरेका साथी नवलपरासी निवासी सन्तराम यादवलाई भेट गरेर व्यवसायिक सोँचका साथ भैरहवाबाट बाग्लुङ्गमा लगेर गल्ला आईटम बिक्री गर्न यादवसंगै उनले बाग्लुङ्गको भ्रमण गरे । व्यवसाय न हो, त्यति सजिलो कहाँ हुन्थ्यो र ? त्यहाँ करोडौं लगानी गरेर ब्यापार गरिरहेका ब्यापारीहरु देखेपछि योजना अनुसारको ब्यापार गर्न नसकिने यकिनका साथ खेम र यादव देवदह फर्किए ।
स्नातक तेस्रो बर्षमा अध्ययन गर्दागर्दै २०६२ सालमा उनी विवाह बन्धनमा बाधिए । बुटवल कृष्णगञ्ज निवासी कलाकुमारी पाठकसंग बैवाहिक बन्धनमा बाँधिएसंगै खेमको जिम्मेवारी पनि बढयो । बैवाहिक बन्धनमा बाँधिएका खेमको २०६३ सालमा पहिलो सन्तानको जन्म भयो । देश परिवर्तनको संघारमा रहेको र गणतन्त्र प्राप्तिको युद्धमा होमिएकै बेला खेम भने विदेशिनुपर्ने बाध्यता आईप¥यो । एउटा सामान्य कृषकको छोरो अनि बुवा स्वयमले १२ बर्ष खाडीमा आफ्नो पसिना बगाएको स्मरण गर्दै ९५ हजार खर्चिएर आफ्नो भविष्यको खोजीमा उनी छोरो जन्मिएको चार दिनमै चार दिनको छोरो सहित सबै परिवार छोडेर मलेसिया होमिए । त्यहाँको १ हजार रियल (तत्कालिन अवस्थामा नेपाली २५ हजार) तलवमा मलेसिया गएका खेमले खाने, बस्ने र अन्य खर्च कटाएर चार सय रियल अर्थात जम्मा १० हजार मात्र कमाई गरे । यसरी खेमले जनतन ढाई बर्ष मलेसियामा बिताए ।
देशमै गएर केहि गर्नुपर्छ, श्रम बेचेर र विदेशमा पसिना बगाएर प्रगति हुन्न भन्ने महशुस गरि आफुसंगै काम गर्ने साथीलाई पनि नेपालमै गएर केहि गर्नुपर्छ भनेर नेपाल फर्किएका उनले नेपाल आएर पनि यहाँ उपयूक्त अवसर नभेटेपछि फेरी विदेशिने निर्णय गरे । २०६६ सालमा स्वदेश फर्किएका खेमले साउदी अरवको पाण्डा सुपर मार्केटमा रोजगारीका लागि आवेदन दिए । तर त्यहाँबाट उनलाई कुनै प्रतिकृया नआएपछि उनले नेपालमै बसेर केहि न केहि गर्नुपर्छ भन्ने अठोट सहित व्यवसायिक योजना बनाए ।
मलेसिया हुँदा संगै काम गरेका साथी नवलपरासी निवासी सन्तराम यादवलाई भेट गरेर व्यवसायिक सोँचका साथ भैरहवाबाट बाग्लुङ्गमा लगेर गल्ला आईटम बिक्री गर्न यादवसंगै उनले बाग्लुङ्गको भ्रमण गरे । व्यवसाय न हो, त्यति सजिलो कहाँ हुन्थ्यो र ? त्यहाँ करोडौं लगानी गरेर ब्यापार गरिरहेका ब्यापारीहरु देखेपछि योजना अनुसारको ब्यापार गर्न नसकिने यकिनका साथ खेम र यादव देवदह फर्किए ।
देवदह फर्किएर ग्रिल ब्यवसाय र पुस्तक पसल संचालन गर्ने मनसाय बनाएपनि उनीहरूले पछि चाउमिन उद्योग संचालन संचालन गर्ने निधो गरे । "उद्योग संचालन गर्ने निर्णय त गरियो तर हामीसंग लगानी गर्ने पैसा भएन" उनी भन्छन, "अढाई बर्ष विदेश बसेर जेनतेन त्यहाँ जाँदाको ऋण चुक्ता गरेको आँफुसंग बचत नभएको र साथीसंग समेत नगद नभएकाले थप समस्या झेल्नुपर्यो ।"
हजुरबुवासंग लिएको रकमको ब्याज र साँवा गरि कमाएर तिर्ने गरी खेमले बुटवलबाट एउटा पुरानो मेसिन खरिद गरे । देवदह ७ खैरेनी चोकबाट दक्षिण तर्फ २ वटा कोठा भाडामा लिएर त्यसको पछाडि सानो ट्रष्ट निर्माण गरि उनले एस. के. चाउमिन उद्योग नाम दिएर चाउमिन फ्याक्ट्री सुरु गरे ।
खेम परिवारको जेठो सन्तान भएपनि उनको घर संयूक्त थियो । उनको परिवारको आर्थिक कारोवार हजुरबुवा बेनि महादेवले गर्थे । खेमको हजुरबुवाले केही समयअघि देवदह खैरेनी बजार नजिक रहेको ३ कठठा जग्गा बिक्रि गरि हजुरबुवाको बैङ्कका खाता नभएका कारण १० लाख रुपैंया खेमले आफ्नो खातामा जम्मा गरेका थिए । तर उनी हजुरबुवासंग आफ्नो व्यवसायिक योजना सुनाउन डराउँथे । जसका कारण आफ्नै खातामा भएको पैसा पनि उनले आफ्नो व्यवसायिक योजनामा खर्च गर्न सक्दैनथे । तर ब्यवसाय गर्ने निर्णय भईसकेकाले खेमले आफ्नो योजना बुवा तुलसीरामलाई सुनाए । २ लाख रुपैंयासम्म लगानी गरेको खण्डमा आफु्ले साथीसंग मिलेर चाउमिन उद्योग संचालन गर्ने योजना बुवालाई सुनाएपछि बुवाले पनि हजुरबुवाको पैसाबाट ब्यवसाय सुरु गर्न र यदि पछि समस्या परेको खण्डमा आफुले उक्त पैसा फिर्ता गर्न सघाउने बचन दिएको खेमले सुनाए । बुवाको कुरा सुनेपछि निकै हौसिएका खेमले साथीसंग सबैकुरा सेयर गरे र हजुरबुवासंग लिएको रकमको ब्याज र साँवा गरि कमाएर तिर्ने गरी बुटवलबाट एउटा पुरानो मेसिन खरिद गरे । देवदह ७ खैरेनी चोकबाट दक्षिण तर्फ २ वटा कोठा भाडामा लिएर त्यसको पछाडि सानो ट्रष्ट निर्माण गरि उनले एस. के. चाउमिन उद्योग नाम दिएर चाउमिन फ्याक्ट्री सुरु गरे ।
खेम र उनका साथी दुबैलाई चाउमिन बनाउन आउदैनथ्यो । स्थानीय ग्रिल उद्योगमा काम गर्ने कामदार जो त्यसअघि अन्यत्रै चाउमिन बनाउने काम गर्थे, उनैको भरोसामा खेमले उद्योग सुरु गरे । स्थानीय संगी-साथीको सहयोगमा बजारमा चाउमिन समेत वितरण गर्न थाले । रातभर चाउमिन उत्पादन गर्ने र बिहान दुवैजना पार्टनर मोटरसाईकलमा चाउमिन लिएर बजार जाने खेम र यादवको दैनिकी बन्दै गयो । उनको ब्यापारले बिस्तारै बजार पनि लिन थाल्यो । सुरुवाती दैनिक २५ केजी मैदाको चाउमिन उत्पादन गर्ने खेमको फ्याक्ट्रीले १५ दिन बित्न नपाउँदै दैनिक ५० केजी मैदाको चाउमिन उत्पादन गर्न थाल्यो र सोहि बमोजिम बजार पनि पाउँदै गयो ।
एकजना मिस्त्रीको भरमा आफुहरु दुईजना खटेर निकै कष्टका साथ उद्योग र ब्यापार धानिरहेका खेम र उनको साथीलाई एकदिन निकै ठुलो समस्या आईप¥यो । केहि क्षणको लागि भनेर बाहिर निस्किएको मिस्त्री फिर्ता नआएपछि मैदा मुछेर बसेका उनीहरुलाई के गर्ने, के नगर्ने भयो । मिस्त्री हुँदा आफुले बजार हेर्ने र साथीले प्याकेजिङ्ग हेर्ने गरेका उनीहरुलाई मेसिन संचालन सम्बन्धि कुनै ज्ञान थिएन । बिहान बजारबाट आएपछि मैदा मुछेर बसेका उनीहरु बेलुका अबेरसम्म मिस्त्री नआएपछि रुल्लटुल्ल बने । भोलि बिहान बजारमा चाउमिन पु¥याउन छ । राती अबेरसम्म उत्पादन छैन । अब के गर्ने भनेर बसिरहेका आँफुहरुलाई घरबेटी आमा आएर सान्त्वना दिएको खेम अहिले पनि झल्झली सम्झन्छन् । घरबेटी आमाले आफुहरुलाई धैर्य हुन आग्रह गरेको र गरेपछि सिकिन्छ भन्ने हौसला दिएपछि साथीले मेसिन सुरु गरेर मिस्त्रीले २ घण्टामा गर्ने उत्पादन आफुँहरुले ९ घण्टा लगाएर गरेको उनले सम्झिए । अघिल्लो दिन साँझ ६ बजे चालु गरेको मेसिन अर्को दिन बिहान ३ बजेसम्म चलाएर बिहान ५ बजे बजारमा चाउमिन पु¥याएको त्यो क्षण अहिले पनि खेमलाई ताजै छ ।
'हरेक समस्यासंग समाधान हुन्छ' भन्ने अनुभवबाटै सिकेका खेमले खैरेनी बजारमै संघर्ष गर्दै एकदिनमा ८ क्विन्टल मैदाको चाउमिन उत्पादन गरेर बिक्री गरे । तर बजारको प्रतिष्पर्धा र उत्पादित सामग्रीको गुणस्तरलाई मध्यनजर गर्दै बिस्तारै चाउमिन ब्यवसायीहरु समेत संगठिन हुन थाले । अहिले खेम र उनका साथीसहित अन्य ३१ जनाको संयूक्त लगानीमा देवदह ९ भलुहीमा 'टेन स्टार फुड प्रोडक्सन प्रा.लि.' नामक कम्पनी खोलेर चाउमिन, सस, केचअप, भेनेगर, अजिनामोटा लगायतको उत्दादन र प्याकेजिङ्ग गरिरहेका छन् । करिब ३० करोडको लगानीमा सुरु गरिएको सो उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि एक सय जनाले रोजगारी पाईरहेका छन् । खेम लगायत अरु सबै लगानीकर्ताले आ-आफ्नो जिम्मेवारीमा रहेको भुमिकामा काम गर्छन् ।
हातले मेसिन चलाएर चाउमिन उत्पादन गर्ने खेम र उनका साथीहरु हाल अटोमेटिक मेसिनबाट आफ्नो उत्पादनलाई अगाढि बढाईरहेका छन् । टेन स्टार फुडमा अहिले दैनिक १ सय ६० बोरा मैदाको चाउमिन उत्पादन हुनेगर्छ । अहिले खेमले उक्त फ्याक्ट्रीको उत्पादन र ब्यवस्थापनको काम हेर्छन् । बिहान ९ बजे निस्कने उनी साँझ ५ बजे मुस्कीलले घर आईपुग्छन् । एक छोरा र एक छोरीका पिता खेम आफुले लगानी गरेको फ्याक्ट्रीमा काम परेको खण्डमा जुनसुकै बेला त्यहाँ पुग्छन् । कहिलेकाँही मेसीन बिग्रिएको खण्डमा भारत र चीनबाट सामान मगाउनुपर्ने समस्याले अहिले पनि खेम र पार्टनरहरुलाई कहिलेकाँही समस्या पर्नेगर्छ । त्यसैले मेसिन र त्यसका पाटपुर्जा उत्पादन गर्ने बन्दोबस्त नेपालमै भैदिए आफुहरुले संचालन गरेका र यस्तै प्रकृतिका उद्योगहरुलाई थप राहत हुने उनी बताउँछन् । जसको लागि महाविर पुनजस्ता नेपाली बैज्ञानीकहरुले संचालन गरेको अभियानमा राज्यले लगानी गर्नुपर्ने उनको सुझाब छ ।
देशको राजनितिक अस्थिरता, आर्थिक मन्दी र अस्तब्यस्त बजारका कारण यो एक दशकमा आफुहरुले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै बर्तमान अवस्थामा कतिपय उद्योग बन्द भईसकेको र कतिपय बन्द हुने अवस्थामा रहेकाले देशका लाखौँ नागरिकलाई रोजगारी सिर्जना गर्न राज्यले विशेष योजना ल्याउननु पर्ने खेम बताउँछन् । देशको नागरिक भईसकेपछि अधिकार मात्र खोज्न नहुने र कर्तब्य सम्झिएर आफ्नो सिप र क्षमतालाई स्वदेशमै खर्च गर्न चाहे यहाँ थुप्रै अवसरहरु रहेकाले निति निर्माताले त्यसमा ध्यान दिनुपर्ने र हरेक जनताले राज्यको निर्देशन पालना गनुपर्ने खेम उनको भनाई छ । समयलाई कहिल्यै अवमुल्यन गर्न नहुने बताउने खेमलाई आगामी समयले पनि थप सफलताको शिखरमा पुर्याउन सघाओस । शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology