Logo

२०८३, श्रावण २७गते


images
images

उद्यम यात्रा

निरन्तर संघर्षको प्रतिफल - पाठक फुडल्याण्ड

निरन्तर संघर्षको प्रतिफल - पाठक फुडल्याण्ड

images
  • निरन्तर संघर्षको प्रतिफल - पाठक फुडल्याण्ड
    images
    images

    हरेक सफलताहरुसंग मानिसको संघर्ष अनि मेहनतको कथा जोडिएको हुन्छ । कथा तब मात्र कथा बन्छ, जब त्यसमा जीवन भरिन्छ । अनि जीवन र जगतमा त्यस्ता कथाहरु कतिपयले पढ्ने, सिक्ने र त्यसबाट प्रेरणा लिने गर्छन् । फेरी जीवन आफैमा संघर्ष पनि हो । एउटा जीवनमा धेरैपटक मानिस असफल हुन्छ, पल्टिन्छ, ठोक्किन्छ, हण्डर खान्छ, फेरी उठेर लतारिदै, घिस्रिदै अघि बढ्छ । संघर्षपछिको सफलतामा मज्जा पनि उत्तिकै आउँछ । त्यसैले भनिन्छ, - मेहनतको पसिनामा सुगन्ध हुन्छ । यस्तै सुगन्धित पसिनाका पर्याय हुन् - देवदहका कृष्ण पाठक ।

    images
    images
    images

    हाल रुपन्देहीको देवदह-५ मा पाठक फुडल्याण्ड एण्ड ईभेन्ट भेन्यू संचालन गरिरहेका पाठकको जन्म वि.सं २०३२ सालमा पर्वतको फलेवासमा भयो । जन्मिएको एक बर्षमै आमा खीमाकुमारीको अल्पायूमै निधन अनि बाबु यज्ञप्रसादले अर्को परिवार जोडेपछि कृष्णलाई मातृ तथा पितृ वात्सल्यको अभाव खड्कियो । तर उनलाई अनाथ हुनु परेन । आमा र बुवाको माया उनले आफ्नै कान्छोबुवा खिलप्रसाद र कान्छीआमा भगवतीदेवी बाटै पाए । कृष्णको बाल्यकाल जन्मगाउँ फलेवासमा कान्छोबुवासंगै बित्यो । उनी ७ कक्षासम्म कान्छोबुवा÷कान्छिआमाकै रेखदेखमा हुर्किए र पढे । १२ बर्षको उमेरमा पर्वत सेतीवेणीमा ब्यापार गर्ने आफ्नो बुवासंग बस्ने कृष्णले निधो गरे । त्यसपछि उनले ९ बर्ष बुवासंग बसेर व्यापार सिके । २०५३ सालमा २१ बर्ष पुगेका कृष्णको पारिवारिक सल्लाहमै विवाह भयो । रुपन्देहीको तत्कालिन आनन्दवन ९ मणिग्राममा गीता भण्डारीसंग विवाह बन्धनमा बाँधिएपछि कृष्णको काँधमा थप जिम्मेवारी बढ्यो ।

    images
    images
    images

    आफु १ बर्ष नहुँदै आमाको मृत्यु, कान्छोबुवासंगको सामिप्यता, बुवासंग पछिल्लो पटक संगै भएर सिकेको सिप, यी सबै कृष्णको लागि अगाडि बढ्ने मार्ग बने । त्यतिन्जेल आइ. ए. सम्मको अध्ययन गरेका कृष्णले अन्त्यमा घर छाड्ने निधो गरे र गन्तब्य बनाए - रुपन्देहीको देवदह ।

    images
    images
    images

    जसले जागीर होईन, व्यवसाय रोजे

    २०५३ सालमा देवदहमा सुकुम्बासी भएर झरेका कृष्णले जस्ताले छाएको सानो घर बनाए र परिवारसंगै किराना पसलबाट आफ्नो व्यवसाय सुरु गरे । देवदह झरेको एक बर्षमै कृष्णको पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो । त्यो बेला आइ. ए. सम्म पढेको व्यक्तिले चाहेको अवस्थामा सरकारी विद्यालयमा शिक्षक हुन गार्ह्यो थिएन, तर उनी जागीरे हुन चाहेनन् । देवदह झर्नुको कारण प्रष्ट्याउँदै उनी भन्छन्, "पेशाले शिक्षक मेरो कान्छोबुवाले संगै हुँदा स्कुल पढाउन र शिक्षक हुन सुझाउनु हुन्थ्यो तर मनले मानेन, बिजनेस नै गर्नुपर्छ भनेर म तराई झरें ।" 

    पाठक फुडल्याण्ड एण्ड ईभेन्ट भेन्यूमा कृष्ण पाठक-min.png

    त्यसो त देवदहको सुरुवाती समय उनको निम्ति सहज रहेन । सानो किराना पसलले खर्चको बोझ धान्न नसकेपछि उनी विदेसिने प्रयत्न पनि गरे । न्युजिल्याण्ड जाने भनेर उनले १ लाख ८० हजार रूपैया ऋण खोजेरै एक एजेन्टलाई बुझाए ।  तर न काम भयो, न त पैसा नै फिर्ता आयो । कृष्ण थप ऋणको बोझमा परे, तर पनि विचलित भएनन् । उनले अझै ऋण खोजेर किराना पसलमा लगानी थपे । पसलले मात्र नधानेपछि  उनले स्थानीय एक विद्यालयको क्यान्टिनमा काम समेत गर्न थाले ।

    कृष्ण ब्यापारसंगै समाजसंग घुलमेल हुँदा नहुँदै देशमा चलेको शसस्त्र विद्रोहको आगो देवदहसम्मै विस्तार हुँदै थियो । जसले उनको दिनचर्यामा समेत बदलाव ल्यायो । किराना पसल भएकाले तत्कालिन बिद्रोहि माओवादीले आफ्नो पसलबाट सामान किनेर लैजाने र सोही क्रममा केहि माओवादी नेता आफ्नो घर र पसलमा आएकै कारण पटक पटक तत्कालिन राज्य (शाही नेपाली सेना) बाट प्रताडित  हुनुपरेको उनी आजपनि सम्झिन्छन् । कति पटक त आर्मीले उनको घरमा छापा समेत मारेको छ । "पसल भएका कारण माओवादी नेताहरु मेरो घरमा बस्थे तर संयोगले छापा मार्ने समयमा आर्मीले केही प्रमाण भेटाउदैनथ्यो तै पनि चेतावनी दिएर जान्थ्यो ।" त्यो समय सम्झिदा अहिले पनि सिरिङ्ग हुने उनी बताउँछन् । 

    किराना पसलको  व्यापार र क्यान्टिनको जागिरले मात्र ऋण तिर्न र परिवारको पालनपोषण गर्न समेत धौधौ भएपछि कृष्ण राजधानी हानिने निधो गरे । राजधानी गएर उनले काठमाण्डौको एभरेष्ट होटलमा ९ महिना तालिम लिए । नाताले आफ्नो अंकल पर्नेको सिफारीसमा तालिममा जाँदा उनले पुतलिसडकमा जेठानसंग मिलेर होटल संचालन गरिसकेका थिए ।

    होटल र तालिम चल्दै थियो । कृष्ण आफ्नो लक्ष्यको नजिक पुग्दै थिए । यही विचमा उनलाई घरबाट फोन आयो, फोनबाट उनले आफ्नो छोरा घरको छतबाट लडेको खबर पाए । उनी छाँगाबाट खसेजस्तै भए, उनले घर फर्किनु बाहेक अरु केहि सोचेनन् । जेठानसंगको व्यवसायिक यात्रा अन्त्य गर्दै उनी देवदह फर्किए र छोराको उपचार र हेरविचारमा तल्लीन रहे । छोराको रेखदेख र उपचारको लागि राजधानी छोडेका कृष्णको काठमाण्डौ मोह भने सकिएको थिएन । उनी फेरी काठमाण्डौ लागे । होटल क्षेत्रमा धेरथोर तालिम र अनुभव बटुलेका उनले २०६२÷०६३ मा काठमाण्डौको गोंगबुमा होटल लाईनमै फेरी लगानी गरे । त्यहाँबाट उनलाई व्यवसायमा केहि रस पस्यो । उनले करिब ५ बर्ष त्यहि गुजारे ।

     सुगन्धित पसिनाका पर्याय -  कृष्ण पाठक.jpg
    घर जग्गा बेचेर संचालन गरेको पाठक रेष्टुरेण्टमा परिवार सहित कृष्ण पाठक 

    सशस्त्र जनयुद्धको अन्त्यसंगै तत्कालिन विद्रोही शक्ति शान्तिपुर्ण अवतरण हुँदै राजनितिको मुलधारमा प्रवेश गरेको र राज्य संरचना नै परिवर्तन भएकाले 'अब केही हुन्छ र म मेरै ठाउँमा गएर केही नयाँ गर्छु' भन्ने मनसायका साथ कृष्ण गोंगबुको होटलबाट आफ्नो स्वामित्व निकालेर अब फेरी राजधानी नफर्किने गरि देवदह फर्किए । कृष्ण भन्छन, "मेरो जीवनको टर्निङ्ग पोईन्ट नै यहि हो । मैले अन्तिम पटक लगानी गरेको होटलबाट केही पैसा बचाएँ, मेरो परिवारलाई होटल र यहि लाईनमै हाम्रो भविष्य छ भन्ने विश्वास दिलाएर भएको घर जग्गा बेचविखन गरेर देवदहको खैरेनी बजारमा २०६७ सालमा पाठक रेष्टुरेण्ट नामले व्यवसाय संचालन गरें ।" आफ्नै रेष्टुरेण्ट सुरु गरेर पनि उनी केहि समय अर्कैको क्याटरीङ्गमा कुकको काममा समेत हिडिरहे । "मैले मेरो दायरा साँघुरो बनाउनुहुन्न । अधिकांश मान्छेलाई मेरा हातको स्वाद चखाउनुपर्छ र मैले मेरो भविष्य यहि क्षेत्रमा कोर्नुपर्छ" भन्ने मेरो अठोटले आफुले आफ्नै रेष्टुरेण्ट हुँदा समेत त्यो बेला अर्कैको क्याटरीङ्गमा कुकको काम गरेको उनी बताउँछन् । 

    यसरी भएको सबै घर जग्गा बेचेर व्यवसायमा लगानी गर्दा जीवनमा पहिलो पटक आफु संकटमा परेको कृष्ण सम्झन्छन् । घर जग्गा बेचेर रेष्टुरेण्टमा लगानी गर्ने कुराले श्रीमती गीताको आँखा ओभानो हुने कुरै भएन । तर, उनले कृष्णको निर्णयलाई सम्मान गरिन् र  उनी एक बचनमै घर जग्गा बेचेर रेष्टुरेण्टमा लगानी गर्न राजी भएको सम्झदै कृष्ण आफ्नो व्यवसायिक सफलताको सबै श्रेय श्रीमती गीतालाई दिन चाहन्छन् ।

    पत्नी वियोग र भाई विष्णुको साथ

    आफ्नो जीवनकालको अन्तिम व्यवसायिक विकल्पको रुपमा कृष्णले पाठक रेष्टुरेण्ट संचालन गर्दै गर्दा आफुमा 'गर या मर' को स्थिति आएको उनी बताउँछन् । कृष्ण अफ्ट्यारो स्थितिमा काम गरिरहँदा उनलाई साथ दिन माल्दिभ्समा रहेका भाई (कान्छो बुवाको छोरा) बिष्णु टुप्लुक्क आईपुग्छन् । होटल म्यानेजमेन्टमै अध्ययन गरिरहेका भाई बिष्णुको आगमनसंगै आफुलाई थप हौसला मिलेको र लगत्तै नवलपरासीको सुनवल बजारमा पाठक टेन्ट एण्ड क्याटरीङ्ग सुरुवात गरेको उनी बताउँछन् ।

     सुगन्धित पसिनाका पर्याय -  कृष्ण पाठक 1.jpg
    कृष्ण पाठकले  सुनवल बजारमा तत्कालीन अवस्थामा  संचालन पाठक टेन्ट एण्ड क्याटरीङ्ग । फोटो : विष्णु पाठक 

    एकपछि अर्को हण्डर-ठक्कर खाँदै व्यवसायिक मार्गमा अघि बढेका कृष्णको परिवारमा यसैबीचमा एउटा नसोँचेको समस्या आईलाग्छ । कृष्णकी श्रीमती गीता पटक पटक विरामी परेर २०७२ सालमा स्वास्थ्य परिक्षण गर्दा उनमा क्यान्सर देखापर्छ । श्रीमतीलाई क्यान्सर देखिएसंगै कृष्ण उपचारको लागि अस्पताल धाईरहेको अवस्थामा उनलाई रेष्टुरेण्टका घरबेटीले रेष्टुरेण्ट हटाउन आग्रह गर्छन् । एकातिर बिरामी बोकेर हस्पिटर धाउनुपर्ने बाध्यता त अर्कोतर्फ डेरा सर्नुपर्ने समस्या । त्यो बेला आफुले धेरै संयम भएर आफ्नो उद्धेश्यलाई व्यवस्थापन गरेको कृष्ण बताउँछन् ।

    करिव ८ बर्ष क्यान्सरसंग जुधेकी श्रीमती गीता आज उनीसंग छैनन् । गतसाल भौतिक दुनियाँबाट सधैका लागि अस्ताईकी गीताको संघर्ष र उनले हरेक सुख दु:खका मोडमा दिएको साथ अनि अल्पायुमै जीवनसाथी गुमाउनुपर्दाको पिडा कृष्णले गहंभरी आशु बनाएर पोखे । केहि वर्षयता कोभिड १९ ले व्यवसायिक शिथिलतामा पुगेका कृष्ण श्रीमतीको साथ र योगदानको खुलेर प्रशंसा गर्छन् । उनी भन्छन्, गीताले सबै कुरा समालेर मात्र यो सम्भव भएको हो, उनले कुरा नबुझेको भए र साथ नदिएको भए यो सफलता सम्भव थिएन ।"

    पाठक दाजुभाईले हाँकेको पाठक फुडल्याण्ड एण्ड ईभेन्ट भेन्यू

    कृष्णले सुरू गरेको पाठक रेष्टुरेन्ट अहिले पाठक फुडल्याण्ड एण्ड ईभेन्ट भेन्यू बनेको छ । पाठक दाजुभाई (कृष्ण र विष्णु) ले हाँकेको पाठक फुडल्याण्डले दिनानुदिन व्यवसायिक सफलताको स्वाद चाखिरहेको छ । सुरुवाती लगानी दुई करोड रहेको पाठक फुडल्याण्डमा अहिले ५ करोडको लगानी छ । नवलपरासीदेखि कपिलवस्तु र पाल्पासम्मका इभेन्ट पाठक फुडल्याण्ड एण्ड ईभेन्ट भेन्यूले व्यवस्थापन गर्दै आएको छ । यसले १२ जनालाई पूर्णकालिन र १ सय १० जनाभन्दा बढिलाई आंशिक रोजगारी दिएको छ भने पाठक फुडल्याण्डसंग ईन्डोर ईभेन्ट गर्ने ४ वटा हल छन् र एकैदिनमा १० हजार मानिसलाई व्यवस्थापन गर्नसक्ने जनशक्ति छ ।

    pathak foodland.jpg
    हाल देवदह -५, खैरेनीमा संचालन भइरहेको पाठक फुडल्याण्ड एण्ड ईभेन्ट भेन्यू  । फोटो : विष्णु पाठक 

    व्यवसायसंगै सेवामा रम्न चाहने पाठक दाजुभाई आफुलाई आफ्नो प्रतिष्पर्धी ठान्छन् र आजभन्दा भोलिको दिनलाई कसरी अझै गुणस्तरीय बनाउने भन्ने मै आफूहरू चिन्तन गरिरहने उनीहरू बताउँछन् । जीवन, भोगाई र संघर्षलाई आफनो मार्गदर्शन मान्ने कृष्ण र विष्णु अहिले सामाजिक संघसंस्थाहरु मार्फत पनि सक्रिय छन् ।

    'देवदहमा पर्यटनको उच्च सम्भावना रहेको र त्यसको लागि राज्यको मात्रै मुख ताकेर हुँदैन, जनस्तरबाट पनि यथासक्य प्रयत्न गर्नुपर्छ' भन्ने मान्यता राख्ने पाठक दाजुभाईले देवदहमा कुनैदिन प्रधानमन्त्री वा राष्ट्रपति आएर एक हजारदेखि १२ सय जनालाई एकैपटक सम्बोधन गर्न परेपनि समस्या नहोस् भनेर मेगा हल निर्माण गरेको बताउछन् । खानामा मिठो स्वाद भर्न सिपालु पाठक दाजुभाईसंग वातावरण मिलेको खण्डमा व्यवसायलाई अझै बिस्तार गरेर थप रोजगारी सृजना गर्ने सपना छ ।

    'जीवनमा पसिना कहिल्यै ओभाउनु हुन्न, जब मानिसको शरिरमा पसिना ओभाउँछ, तब उसको जीवन निष्कृय हुन्छ' यस्तो संघर्षशिल चिन्तन राख्ने पाठक परिवारको अथाह संघर्षबाट आर्जित पसिनाको प्रतिफल हो - पाठक फुडल्याण्ड । पाठकले परिकार पस्किरहोस्, पाठक अघि बढोस् तर पाठकको स्वाद उस्तै रहोस् । कृष्ण, विष्णु र पाठक फुडल्याण्डलाई शुभकामना ।

     

    (नोट : देशको अर्थतन्त्र वर्षौंदेखि ओरालो लाग्दै हाल आएर अफ्ठ्यारो स्थितिमा पुगेको छ । विमानस्थलमा देश छोडेर विदेशीने युवाहरूको लाईन दिनानुदिन बढ्दो छ । यो देशमा केही हुँदैन र यहाँ टिक्नै सकिन्न भन्ने भाष्य निर्माण भइरहेको छ । यस्तो कठिन स्थितिमा पनि केही यस्ता व्यक्तिहरू छन्, जसले जागीर वा विदेश रोजेनन्, जसले राज्यबाट केही प्राप्तिको आशा गरेनन्, बरू विभिन्न क्षेत्रमा लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र राज्यलाई कर तिरेर खुसी भइरहे  । यस्तै उद्यमीहरूका आरोह अवरोहको कथा लेख्न र  उद्यमशिलतामा नयाँ पुस्तालाई जोडिन प्रेरित गर्ने उद्धेश्यले सेतोमसीले 'उद्यम यात्रा' नामक स्तम्भ सुरू गरेको छ । २०५८/०५९ तिरबाटै देवदह सन्देश नामक हस्तलिखित भित्तेपत्रिका मार्फत पत्रकारीतामा पाईलो राखेका, रेडियो देवदह, रेडियो लुम्बिनी र रेडियो सुनवलमा समेत विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिसकेका पत्रकार पवन पौडेलसंगको सहकार्यमा हामीले यो स्तम्भ प्रकाशन गरेका छौं । अर्को महिनादेखि 'उद्यम यात्रा' स्तम्भ हरेक महिनाको अन्तिम शनिवार प्रकाशन हुनेछ - सम्पादक ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।