देवदह । लामो समयमदेखि निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको लायन्स क्लब अफ देवदहले यो वर्ष २० हजार बढी देवदहबासीको सुगर परिक्षण गर्ने लक्ष्य लिएको जनाएको छ।
नियमित सामाजिक कृयाकलाप अन्तर्गत शनिबार देवदहको कोलिय बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा निशुल्क सुगर र रक्तचाप परिक्षण गर्ने क्रममा संचारकर्मीसंग कुरा गर्दै क्लबका अध्यक्ष मनबहादुर क्षेत्रीले २० हजार देवदहबासीको निशुल्क सुगर परिक्षण गर्ने लक्ष्य सहित काम गरिरहेको बताए।
"पछिल्लो आम नेपालीमा देखिईरहेको दिर्घ रोग सुगर र ब्लड प्रेसर हो। समयमै हाम्रो स्वास्थ्यमा यसको अवस्थाबारे जानकारी भयो भने सामान्य औषधि र शारीरिक व्यायामबाटै पनि यस्ता रोग नियन्त्रण गर्न सकिन्छ।" उनले भने, "समयमै स्वास्थ्य अवस्थाबारे सबैले थाहा आउनुपर्छ र थप स्वास्थ्य समस्या आउनबाट जोगिनुपर्छ भनेर नै हामीले यो अभियान संचालन गरेका हौँ।"
स्थानिय स्वास्थ्य संस्था श्री कृष्ण पोलिक्लिनिक देवदह र खैरेनी पोलिक्लिनिकको प्राविधिक सहयोगमा क्लबले स्वास्थ्य परिक्षण कार्य सुरु गरेको र यो नियमित चलिरहने क्लबका निवर्तमान अध्यक्ष बिष्णु ज्ञवालीले बताए। "पछिल्लो क्रममा देबदह क्षेत्रमा सुगरका बिरामी उल्लेख्य बढेको पाइएकोले गतबर्षबाटै सुगर परिक्षण अभियान सन्चालन गरेका हौँ। गत बर्ष मात्रै हामीले १० हजार ६ सय १६ जनाको सुगर परिक्षण गरेका छौ" उनले भने ।
स्वास्थ्य क्षेत्रमा कामहरु गरिरहेको देवदह लायन्स क्लबले लायन्स आँखा अस्पताल स्थापना गरि देवदह ५ बैकुन्ठनगरस्थित आफ्नै कार्यालयबाट साताको २ दिन आँखा परिक्षण समेत गर्दै आएको छ। प्रत्येक हप्ताको सोमबार र शुक्रवार उक्त अस्पतालमा दक्ष प्राविधिकहरुद्वारा आँखा परिक्षण हुने क्लबले जनाएको छ।
केही महिना यता क्लबले स्थानिय विद्यालयमै पुगेर विद्यार्थीहरूको आँखा परिक्षण गर्ने अभियान समेत संचालन गरेको छ। परिक्षणको क्रममा आँखाको समस्या देखिएका बिरामीहरुलाई निशुल्क रुपमा चस्मा वितरण समेत गर्ने गरिएको क्लबका सस्थापक अध्यक्ष बिष्णुप्रसाद पौडेलले बताए ।
एकैदिन एक हजार ७ सय ५४ जनाको सुगर तथा रक्तचाप परिक्षण
यसैबीच क्लबले शनिबार एकैदिन १ हजार ७ सय ५४ जनाको सुगर तथा रक्तचाप परिक्षण गरेको छ । देवदहमा मुख्य कार्यालय रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारण सभाको अवसर पारेर दुई सेवा केन्द्रमा एकै पटक सेयर सदस्यहरुको स्वास्थ्य परिक्षण गरेको हो।
४ हजार ९ सय भन्दा बढी सेयर सदस्य रहेको सहकारीको खैरेनी सेवा केन्द्रमा मात्र क्लबले १ हजार ३ सय ४२ जनाको स्वास्थ्य परिक्षण गरेको क्लबका अध्यक्ष मनबहादुर क्षेत्रीले जानकारी दिए ।
सो क्रममा १ सय ३४ जनालाइ सुगरको समस्या देखिएको क्लबले जनाएको छ।
त्यसैगरी १ हजार २ सय भन्दा बढी सदस्य रहेको सहकारीको घोडाहा सेवा केन्द्रमा समेत ४ सय १२ जनाको स्वास्थ्य परिक्षण गरिएको र ३६ जनालाइ सुगरको समस्या देखिएको क्लबका कोषाध्यक्ष अजय चापागाइले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology