रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर -६ मा कार्यालय संचालन गर्दै आएको आयाम बहुउद्देश्यीय सहकारी संस्था अबैधानिक ढंगले संचालनमा आएको पाइएपछि सहकारीका संचालक तथा व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । २३ लाख ४४ हजार २५० नगद सहित सहकारीका तीन जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो। नगरपालिमा दर्ता नभएको, समन्वय नगरेको र हिसाबकिताब समेत पारदर्शी नभएको पाइएपछि आयाम सहकारी सिल गरिएको छ जनाईएको छ। सहकारीको नाममा बैंक खाता समेत संचालन नभएको पाइएपछि सहकारीको कार्यालय शिल गर्ने निर्णयमा स्थानिय पालिका र प्रशासन पुगेको हो।
आयाम सहकारीको विषयमा केही दिन पहिले देखिनै गुनासो आइरहेको र अनुगमनका क्रममा सहकारी ऎन र सहकारीको कार्यविधी र मापदण्ड विपरीत संचालनमा आएको पाइएको देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले बताए।
नगरपालिकाले अनुगमन गर्ने क्रममा संचालक समिति कर्माचारी र शेयर सदस्यको शेयर प्रमाण पत्र नपाएको, सर्वसाधारणलाई प्रलोभनमा पारेर दैनिक रुपमा रकम उठाउने र ब्याजको प्रलोभन देखाएर शेयर सदस्य बनाउने देखिएकोले कारबाहीको दायराम ल्याइएको नगर प्रमुख खरेलको भनाई थियो ।
सहकारिका व्यवस्थाक तथा कर्मचारीले नियुक्ति पत्र नलिएको, लेखा सुपरिवेक्षण समितिको संयोजक पुष्पा पुन सहकारीको सदस्य समेत नभएको र सहकारीका सदस्यको हिसाबकिताब समेत पारदर्शी नदेखिएको जिल्ला सहकारी संघका संचालक समिति सदस्य मोतिलाल ढकालले बताए।
जिल्ला सहकारी संघ, प्रदेश सहकारी बिभाग देवदह नगरपालिका र प्रहरी चौकी खरेनीले संयुक्त रुपमा अनुगमन गरि सहकारी संचालन ऎन विपरीत संचालन गरेको पाइएपछि सहकारीको कार्यालय सिल गरिएको र सहकारीका संचालक खिमराज भण्डारी, व्यवस्थापक चुडामणि शर्मा र लेखा समितिका संयोजक पुष्पा पुनलाई कार्यालयबाट नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय भैरहवा जिम्मा लगाइएको प्रहरी चौकी खैरेनीका इन्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए।
कार्यालयमा सहकारी सदस्यको दाता ४२ र ६१ देखाएको छ भने २०७९ मा संचालक समिति बनाएपनी संचालक समिति निष्क्रिय भएको पाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology