रेशम अधिकारी, रुपन्देही। सोझा जनताको समूह बनाउने र उनीहरूलाई बिनाधितो ऋण दिने प्रलोभनमा पारेर आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध शुक्रबार पर्दशन गरेका छन् ।
नवलपरासी र रूपन्देहीका विभिन्न स्थानबाट भेला भएका लघुवित्त वित्तीय संस्थाका पीडितहरूले नवसामन्ती रुपमा स्थापित लघुवित्त वित्तीय संस्था खारेज हुनुपर्ने, लघुवित्त वित्तीय संस्थाहरूबाट लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब जनतालाई ब्याज अनुदानमा ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्। उनीहरूले आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।
रूपन्देहीको देवदह र नवलपरासी सुनवलको ज्यामिरेदेखि सुरु भएको प्रदर्शन पुर्व पश्चिम राजमार्ग हुँदै देवदह खैरेनी चोकमा कोणसभा गरेका थिए ।

लघुवित्त वित्तीय संस्थाले विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गर्ने र आर्थिक शोषण गर्दै आएकाले आगामी दिनमा लघुवित्त जनताका लागि आवश्यक नभएको आरोप उनीहरूको छ । लघुवित्तले समूह गठन गर्दा साथै ऋण लिँदा आकर्षण देखाउने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेकाले महिलाहरू पीडित भएको गीता खाण ठकुरी बताइन्।
किसान र विपन्न नागरिकलाई कर्जा पहुँच मार्फत गरीबी घटाउने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले अधिक मुनाफाका लागि गरीबको दोहन र शोषण गरेको भनी आलोचना भइरहेको छ। आन्दोलनकारीहरूले महिलाहरूलाई लोभ देखाएर ऋणको पासोमा पारेको तथा जबर्जस्ती सम्पत्ति हरण गर्न खोजेको आरोप लगाउने गरेका छन्। सीमान्तीकृत नागरिकलाई आर्थिक रूपमा सशक्तीकरण गर्न र सामाजिक रूपान्तरणका लागि लघुवित्त वित्तीय संस्थाहरूले योगदान पुर्याउने अपेक्षा सहित यस्ता संस्थाको विस्तारलाई अनुमति दिइएको थियो।

नव सामान्तीका रुपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर भन्ने माग सहित आन्दोलनमा उत्रिएको लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति लुम्बिनी प्रदेश संयोजक मनिराम ज्ञवालीले बताए।
रूपन्देही र नवलपरासीका बिभिन्न स्थानका महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा पीडित बनाएको महिलाहरूको आरोप छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology