Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालयको विजोग

विद्यालयको शौचालयमा विद्यार्थीले बोक्छन घरबाटै पानी 

विद्यालयको शौचालयमा विद्यार्थीले बोक्छन घरबाटै पानी 

images
  • विद्यालयको शौचालयमा विद्यार्थीले बोक्छन घरबाटै पानी 
    images
    images

    रेशम अधिकारी, रूपन्देही । देशमा तीन तहको सरकार छ। जसलाई गाउँगाउँमा सिंहदरबार आएको भनेर पनि राजनीतिक नेतृत्वमा रहेकाहरूले बेलाबखत अर्थ्याउने गर्दछन। तर वास्तविकता त्यो भन्दा निकै पर छ भन्ने कुराको उदाहरण बनेको छ- रुपन्देही जिल्लाको देवदह नगरपालिका -११ स्थित शंकर आधारभूत विद्यालय।  

    images
    images
    images

    भर्खरै मात्र विद्यार्थी भर्ना अभियान सकिएको छ। भर्ना अभियानमा विद्यार्थी तान्न लगाइने निशुल्क र गुणस्तरिय शिक्षाका नाराहरू संचार माध्यममा देखिन छाडेको केहि दिन मात्र भएको छ।  पाँच तारे होटलका सेमिनारबाट सुरु हुने ती गुलिया नाराहरू संचारमाध्यमसम्म  आइपुग्दासम्म पनि मिठै र आकर्षक लाग्छन।  तर जब विद्यार्थीहरू विद्यालय पुग्छन तब वास्तविकताले ती नाराहरूलाई यसरी गिज्याईरहेको हुन्छ कि त्यसलाई शब्दले व्याख्या गर्न मुस्किल पर्छ। 

    images
    images
    images

    सोमबार हाम्रो टिम सेतोमसीको नियमित प्रशारण मिसन खबरको लागि हामी शंकर आधारभूत विद्यालय पुग्यौं। जहाँ टिनको छानो मुनी खलखली पसिना बगाउदैं स-साना बाबुनानीहरू पढिरहेका थिए।  पढिरहेका पनि के भन्ने? यो 'दुषित राज्य संयन्त्र'ले दिएको 'यातना' भोगिरहेका थिए।  

    images
    images
    images

    विना पंखा टन्टलापुर घाममा टिनको राप मुनी कलिला बच्चाहरूले पसिना चुहाउदै, कापीको गाताले अनुहार हम्किरहेको देखेपछि हामीले यिनै बच्चाका अभिभावकले दिएको भोट पाएर जितेका विभिन्न तहका जनप्रतिनिधीहरू र यिनै बच्चाका अभिभावकले तिरेको करले पालिएका कर्मचारीहरू बस्ने आलिसान महल र ति महलमा चलिरहेका अत्याधुनिक वातानुकुलित कक्ष सम्झियौ। कस्तो असमान र असामाजिक व्यवस्थाको थैलीभित्र हाम्रो समाज कैद छ भन्ने गतिलो उदाहरण हो विद्यालय। जहाँ न गर्मीमा कक्षा कोठामा पंखा चल्छ, न त ति बच्चाको शरीरबाट पसिना बगेर तिर्खाउदा पिउन एक घुड्की पानी नै छ। 

    विद्यालयको यो अवस्था यहाँका स्थानीयलाई पनि थाहा छ।  स्थानिय असिम श्रेष्ठ भन्छन, "टिनको छानो हालिएका साना कक्षा कोठामा विद्यार्थी कोचिएर पढ्नुपर्ने अवस्था छ । विद्यालयको अवस्था सुधार गर्नुपर्ने जरुरी छ। राम्रा कक्षाकोठा छैनन् । बर्खामा पानी चुहिने, गर्मीमा टिनले पोल्ने समस्या छ। विद्यालयमा एउटा राम्रो भवन, पर्खाल, सार्वजनिक शौचालय, खानेपानीको व्यवस्थापन गर्न आवश्यक छ। कक्षामा बसेर पढ्नुभन्दा पनि कहिले बिदा होला भन्ने आशमा विद्यार्थी बस्नुपर्ने बाध्यता यहाँ छ।" 

    स्थानीयको उक्त भनाईलाई कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीको भनाईले पनि पुष्टि गर्छ।  उनी भन्छन, "स्कूल आउन मन नै लाग्दैन, गर्मीमा यो तातो टिनको राप मुनि बस्नुपर्ने बाध्यता छ।  बिहान आउँदा लगाएको कपडा घर जादा पसिनाले निथ्रुक्क भिजेको हुन्छ।  स्कूल बसेर पढ्ने वातावरण नै छैन ।" उनीजस्तै अन्य सबै विद्यार्थीहरुलाई विद्यालयमा आउन दिक्क लाग्छ । दिनभर विद्यालयमा दिक्दारीका साथ बस्नुपर्ने उनीहरूको गुनासो छ । 

    त्यतिमात्रै होइन, विद्यालयमा आवश्यक फर्निचर समेत छैन। अहिलेको जमानामा पनि विद्यार्थीहरू भुईमा बसेर पढ्छन त्यो पनि नगरपालिकाभित्रको विद्यालयमा। "आवश्यक फर्निचरका अभावमा कार्पेट विना नै १ देखि ३ कक्षासम्मका विद्यार्थीले भुइँमै बसेर पढ्नुपरेको छ, के भन्नु सर दु:ख त कति छ कति!"  विद्यालयका एक शिक्षकले हामीसंग गुनासो पोखे ।

    शौचालयको लागि समेत घरबाटै पानी बोकेर ल्याउछन विद्यार्थी

    अझ अचम्मको र सुन्दै मुटु चिसिक्क हुने अर्को प्रशंग पनि छ, यहि विद्यालयको। खानेपानी छैन, कक्षामा पंखा छैनन, फर्निचर छैनन् यतिमात्रै कहाँ होर यहाँ नभएको? यहाँ त बालबालिकाहरू शौचालयको लागि समेत घरबाटै पानी बोकेर आउनुपर्ने अवस्था छ। कलिला बालबालिकाका घटीमा टाई होइन, यहाँ  पिउनका साथसाथै शौचालयको लागि समेत काधमा पानीको भाडो बोकेर विद्यालय आउछन विद्यार्थीहरू। त्यहि पानी पिउछन अनि त्यहि पानी शौचालयमा समेत प्रयोग गर्ने र घरबाट ल्याइएको पानी सकिएमा विद्यालय नजीकैको घर जाने गरेको विद्यार्थी बताउँछन् । 

    "विद्यालयमा कार्यालय सहयोगीले गाग्रीमा बोकेर ल्याएको पानी शिक्षक र अन्य कर्मचारीलाई समेत अपुग हुन्छ", विद्यालयका प्रधानाध्यापक रूप नारायण चौधरीले भने, "विद्यार्थीका लागि खानेपानीको व्यवस्था विद्यालयले गर्न सकेको छैन । विद्यालयका समस्या र अभावका बारेमा सम्बन्धित निकायमा बारम्बार माग गरिएको छ, समाधानका लागि कहीँकतैबाट पनि पहल भएको छैन।"

    पानीकै अभावमा सो विद्यालयमा शौचालयको पनि व्यवस्थापन हुनसकेको छैन । विद्यार्थी खुला आकासमुनि शौच गर्न बाध्य छन् । ‘शौच गर्नका लागि विद्यार्थी कि त खोल्साखोल्सी खोज्दै हिँड्छन्, कि त खेत वा बारीको कान्लाले छलिन्छन्’, प्रअ चौधरीले दु:ख पोखे ।
     
    कक्षा ८ सम्म पढाइ हुने यस विद्यालय समस्याका चाङमा छ ।   "विद्यालयमा समस्या र अभाव मात्रै छैन", प्रअ चौधरीले दिक्दारी शैलीमा भने, "शिक्षक दरबन्दी, भवन, फर्निचर, शौचालय र खानेपानी यहाँको मुख्य समस्या हो ।"

    नगरपालिका के भन्छ ?

    आवश्यक आधारभूत पूर्वाधारकै अभाव हुँदा विद्यालय सञ्चालन गर्न निकै कठिनाइ भएको छ । खानेपानी र भौतिक संरचनाको अभावका बीच चलेको विद्यालयमा गुणस्तरीय शिक्षाको कसरी आशा गर्न सकिन्छ भनी अभिभावक प्रश्न गर्छन् ।

    यहि प्रश्न हामीले देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्मालाई राख्दा उनको जवाफ यस्तो आयो,  "विद्यालयको समस्या समाधानका लागि शिक्षा शाखाले आफ्नो भूमिका निर्वाह गरेको छ। विद्यालयका  प्रधानाध्यापक  र त्यहाँका विद्यालय व्यवस्थापन समितिले विद्यालयको भएका सम्पतिको  संरक्षण  गर्न नसकेको कारण पनि जीर्ण अवस्थामा पुगेको छ ।" 

    वडा नम्बर ११ र १२ का  जनताले  देवदह नगरपालिकालाई भेगीय रुपमा भेदभाव गरेको आरोप लगाएकोबारे हाम्रो जिज्ञासामा शिक्षा शाखा प्रमुख शर्माले   शिक्षा शाखाले शैक्षिक विकासमा अन्य वडा भन्दा पहिला त्यस वडाहरूमा शैक्षिक कार्यक्रम लागु गरेको बताए । उनले भने,  "हामीले धेरै विद्यालय  सुधारका निम्ति प्रधानाध्यापक फेर्ने काम गरेका छौ। त्यो स्थिति सो विद्यालयमा पनि आउन सक्छ, विद्यालयको अनुगमन गर्छौ र त्रुटि पहिचान गरि कार्य अगाडि बढाउँछौ  ।"  विद्यालयको संरक्षण र व्यवस्थापनमा अभिभावकको समेत चासो जगाउन आवश्यक रहेको प्रमुख शर्माको भनाई छ। 

    नेपालको संविधानले विद्यालय तहको शिक्षाको व्यवस्थापन र नियमन गर्ने अधिकार स्थानीय तहलाई सुम्पिएको छ ।  संविधानअनुसार शिक्षासम्बन्धी मौलिक हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा सहज पहुँचको सुनिश्चितता गरेको छ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्कका साथै अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने हकको व्यवस्था गरेको छ ।

    गुणस्तरीय शिक्षाको विकास र विस्तारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सक्रियता र जवाफदेहिताको अहम् भूमिका रहन्छ । तथापि अत्यावश्यक भौतिक पूर्वाधार, शिक्षाको गुणस्तरीयता र शिक्षण पेसाप्रति समर्पित शिक्षकको पर्याप्त व्यवस्था पहिलो सर्त हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।