काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको छ ।
कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तानबापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।
दफा १५५ को उपदफा (४) बमोजिम अदालतमा उपस्थित कसुरदारको हकमा कैद पुर्जी जारी भई आएपछि र फरारको हकमा समेत कसुरदार प्रहरी कार्यालयबाट पक्राउ भई अदालतमा पेस गरी निजको नाममा कैद पुर्जी जारी भई आएपछि कारागार कार्यालयले त्यस्तो कसुरदारलाई कानुनबमोजिम कैदमा राख्नुपर्नेछ । तर, कसुरदारलाई एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरणसमेतलाई विचार गरेर कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा हुने नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैद बस्नु नपर्ने आदेश दिन सक्ने कानुनी व्यवस्था छ । सोही कानुनी व्यवस्थामा टेकेर सांसद चौधरीले जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।
उनलाई ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा १० वर्षअघि नै कैलाली जिल्ला अदालतबाट ६ महिनाका लागि कैद सजाय सुनाएकाे थियाे । कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology