माधव ज्ञवाली, गुल्मी । पछिल्लो समय गाउँपालिकाकै मुख्य बजारको रुपमा रहेको बलेटक्सार बजारमा देखिएको ट्राफिक समस्यालाई ब्यवस्थापन गर्न रुरुक्षेत्र गाउँपालिकाले सक्रियता देखाएको छ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता एवं गुल्मी उद्योग वाणिज्य संघ, शाााखा कार्यालय बलेटक्सार गुल्मीका प्रतिनिधि, वडा न.४ का जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायतको उपस्थितिमा ट्राफिक व्यवस्थापन सम्बन्धि महत्वपूर्ण निर्णय गरिएको हो ।
बलेटक्सार बजारको सडक पेटीमा भएको संरचना, सामाग्री बोर्डहरु एक हप्ताभित्र हटाएर पैदल यात्रुलाई सहजरूपमा हिड्ने वातावरण मिलाइदिन गाउँपालिकाले एक सुचना मार्फत आग्रह गरिसकेको छ।
बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो साढे ३ देखि साढे ४ बजेसम्म बलेटक्सार बजारमा सामान लोड/अनलोड गर्न नपाइने र अबदेखि निर्माण सामाग्रीहरु सडकमा राख्न नपाइने गाउँपालिकाले उल्लेख गरेको छ। हाल सडकमा रहेका निर्माण सामाग्री पनि ७ दिनभित्र हटाएर सहयोग गर्न पनि अनुरोध गरिएको छ।
गाउँपालिकाले चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनको पार्किङको विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ। चारपाङ्ग्रेको लागि बजारको पुर्वपट्टिको स्थल नाच्ने डाँडा र पश्चिम पट्टिको हाट बजारको क्षेत्रलाई पार्किङ स्थल निर्धारण गरि पार्किङको व्यवस्थापन गर्ने निर्णय भएको र दुई पाङ्ग्रे सवारी साधन आइतवार, मंगलवार, बिहिवार रिडी तम्घास सडकको दक्षिणतर्फ र सोमवार, वुधवार, शुक्रवार र शनिवार उत्तरतर्फ पार्किङ लागि व्यवस्थापन गर्ने निर्णय गरिएको हो।
भवन निर्माण गर्दा सडकको मापदण्ड अनुसार जग्गा छाडी निर्माण गर्ने व्यवस्था मिलाउन पनि गाउँपालिकाले आग्रह गरेको छ। पछिल्लो समय सवारी साधनको चाप बढेसङ्गै बलेटक्सार बजारमा ट्राफिक समस्या बढ्दै गइरहेको छ, जसले गर्दा पैदलयात्रीहरुले सास्ती भोग्न बाध्य भएका छन् । गाउँपालिकाको यो निर्णयलाई धेरैले स्वागत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology