गुल्मी । गत स्थानीय निर्वाचन समपन्न भएसङ्गै इस्मा गाउँपालिका गुल्मीले आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लाएको छ।
गुल्मीको इस्मा गाउँपालिकाले आफ्नो चुनावी प्रतिबद्धता अनुसार टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। पालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाएपछी स्थानीय हर्षित छन ।
यता आफुले भत्ता लिन लागेको दश वर्ष भएको र पहिले भत्ता लिनको लागि बैंकमा जानु पर्थ्यो तर अहिले बैंकमा जानुपर्ने बाध्यता अन्त्य भएको इस्मा गाउँपालिका– ५ का ८२ वर्षीय मनिराम भण्डारीले बताए ।
सामाजिक सुरक्षा भत्ता आफ्नै टोलबाट पाउँदा भण्डारी मात्र होइन् नमकला बोहोरा पनि हर्षित देखिन्छन। पहिलो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएकी नमकलाले टोलमै आएर भत्ता वितरण गरेको पाएपछि आफु जस्ता अरु ज्येष्ठ नागरिक उत्साहित भएको बताए ।
ज्येष्ठ नागरिकहरुका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगी उपलब्ध गराउने इस्मा गाउँपालिकाले नीति लिएको थियो । सोही अनुसार गाउँपालिकाले यतिबेला ६ वटै वडाको टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सोही स्थानकी छमकली घर्तीले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिन । “हामी पहिले बैंक जाँदा निकै दुःख हुन्थ्यो । कहिले गाडिमा तेल राखिदिनु पर्ने । कहिले दिनभर लाइनमा बस्नुपर्ने । अहिले आफ्नै टोलबाट भत्ता पायौं । निकै खुसी छौं।”
तुल्सी गिरी पनि आफ्नै टोलबाट भत्ता प्राप्त गर्दा औधि खुसी देखिन्छन । उनले टोल–टोलमा आएर सामाजिक सुरक्षा भत्ता दिएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए । आगामी दिनमा पनि टोलमै आएर भत्ता उपलब्ध गराइनदिन आग्रह समेत गरे।
गाउँपालिकाको यो कार्य प्रति धेरैले प्रसंशा गरेका छन् । ग्रामीण क्षेत्रबाट लामो समय खर्चेर भत्ता लिनकै लागि सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष ०७८÷०७९ को चौंथो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको विभिन्न १८ स्थानबाट १२ सय ३२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । पौडेलले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमा पु¥याउने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम रहेको उल्लेख गर्दै अहिले सामाजिक सुरक्षा लाभग्राही नागरिकहरुको परिचयपत्र नविकरणका लागि पनि टोल–टोलमा शिविर सञ्चालन गरिएको उल्लेख गरे।
गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनताको भावना अनुसार टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए ।
“हामीले निर्वाचनमा संकल्प गरेका थियौं । ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि लामो समय र पैसा खर्चिनुपर्ने छैन् ।” अध्यक्ष खड्काले भने “नागरिकलाई राहत होला भनेर सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।
गाउँपालिकामा भएको एकमात्र बैंकमा सबै नागरिकको सहज पहुँच छैन । बैंकमा लाइनमा बस्नुपर्ने बाध्यता छ ।” वृद्ध बुवाआमाको समस्या टुलुटुलु बसेर हेर्न नसक्ने अध्यक्ष खड्काले बताए।
नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउन थालिएको अध्यक्ष खड्काको दाबी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology