काठमाडौं । सार्वजनिक जग्गा संरक्षण र नदी किनारका अतिक्रमित बस्ती हटाउने अभियान चलाएको सरकारले विस्थापित परिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुकुम्बासी समस्या थप जटिल बनेको छ । पहिले घरटहरा भत्काएर बस्तीबाट विस्थापित गरिएका परिवारलाई अहिले आश्रय दिइएको भनिएको होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिएपछि सरकारको निर्णय र कार्यशैलीमाथि प्रश्न उठेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाख १२ गतेदेखि काठमाडौं उपत्यकाका थापाथली, मनोहरा र सिनामंगललगायत नदी किनारका बस्ती हटाउन सुरु गरेको थियो । त्यसक्रममा विस्थापित परिवारलाई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको थियो। सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासन दिएको भए पनि आठ महिना बितिसक्दा स्थायी आवासको टुंगो लाग्न सकेको छैन ।
अहिले त्यही आश्रयस्थलबाट पनि परिवारलाई हटाउन खोजिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । भूमि समस्या समाधान समिति काठमाडौंको पत्रका आधारमा सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताएका थिए ।
बिहीबार जिल्ला प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली परिचालन गरी माइकिङसमेत गरिएको थियो । तर शुक्रबार तोकिएको समयसीमा सकिँदासमेत विस्थापित परिवारले सेन्टर छाड्न मानेनन् । उनीहरूले वैकल्पिक आवासको व्यवस्था नभएसम्म बाहिर नजाने अडान राखेका छन् । नियमित खाना उपलब्ध गराउन बन्द भएपछि उनीहरूले थाल ठटाएर विरोधसमेत गरेका थिए ।
बोडेमा अहिले थापाथलीबाट विस्थापित १९ परिवारका ५९ जना बसिरहेका छन् । तीमध्ये १७ जना बालबालिका छन् । प्रशासनका अनुसार १९ परिवारमध्ये सात परिवारका सदस्यको नाममा अन्यत्र जग्गा भेटिएको छ । बाँकी १२ परिवारको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको र घरभाडा सुविधाको व्यवस्था गरिएको प्रशासनको भनाइ छ । तर विस्थापित परिवारले उपलब्ध गराइएको रकमले उपत्यकामा कोठा भाडामा लिएर परिवार पाल्न सम्भव नभएको गुनासो गरेका छन् ।
विस्थापित दलमर्दन कामीले सरकारले अन्यायपूर्ण ढंगले हटाउन खोजिरहेको भन्दै आफूहरूले प्रतिरोध गरिरहेको बताएका छन् । उनीहरूको मुख्य माग स्थायी आवासको सुनिश्चितता हो । आठ महिनादेखि अस्थायी आश्रयमा बसिरहेका परिवारलाई व्यवस्थापनको टुंगो नलगाई हटाउन खोज्नु मानवीय दृष्टिले उचित नभएको उनीहरूको भनाइ छ ।
सरकारको कदमप्रति राजनीतिक दलहरूले पनि आपत्ति जनाएका छन् । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासीलाई आश्रयस्थलबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेसले यस विषयमा विस्थापित परिवारको अवस्था बुझ्न केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन् ।
नेकपा एमालेले पनि सरकारको कदमलाई अमानवीय र गैरजिम्मेवार भन्दै निर्णय फिर्ता लिन माग गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले घर भत्काएर पुनर्वासको आश्वासन दिएको सरकारले महिनौँसम्म नागरिकलाई अनिश्चिततामा राख्नु गलत भएको बताएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि व्यवस्थापन र आवासको टुंगो नलगाई हिउँदको समयमा परिवारलाई आश्रयस्थलबाट हटाउन खोज्नु निन्दनीय भएको बताएका छन् ।
सार्वजनिक जग्गा संरक्षण गर्नु र अतिक्रमण हटाउनु सरकारको जिम्मेवारी भए पनि विस्थापित नागरिकको आवास, रोजगारी, शिक्षा र सुरक्षाको सुनिश्चितता गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । विशेषगरी बालबालिकासहितका परिवारलाई खाना र आश्रयको सुविधा कटौती गरेर बाहिरिन बाध्य पार्नुले सरकारको मानवीय संवेदनशीलतामाथि प्रश्न उठाएको छ । १५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासन आठ महिनासम्म पूरा हुन नसक्नु र अहिले आश्रयस्थलबाटै हटाउन खोजिनुले सरकारको प्रतिबद्धता र कार्यान्वयनबीचको दूरी देखाएको छ ।
वास्तविक सुकुम्बासी पहिचान गरेर व्यवस्थित पुनर्वास गर्नुको सट्टा एउटा ठाउँबाट उठाएर अर्को ठाउँमा बेघर बनाउनु समस्याको समाधान हुन सक्दैन । सरकारले तत्काल विस्थापित परिवारसँग संवाद गरी स्थायी व्यवस्थापनको स्पष्ट योजना सार्वजनिक गर्नुपर्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology