काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतले द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार, व्यापार, पर्यटन तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ र ७ गते भएको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि २४ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । वक्तव्यमा भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने, जनकपुर-अयोध्या रेल सेवा सुरु गर्ने, काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्गलाई दोहोरो बनाउने तथा विभिन्न पूर्वाधार आयोजना अघि बढाउने उल्लेख छ ।
संयुक्त वक्तव्यका बुँदा यसप्रकार छन् :
१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गरेका छन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण हो। उनी उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलसहित भारत गएका थिए ।
२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरेका थिए। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए ।
३. भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गरेका थिए र उनको सम्मानमा दिवाभोज आयोजना गरेका थिए। छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, साझा चासोका क्षेत्रीय विषय तथा विश्वव्यापी घटनाक्रम समेटिएका थिए ।
४. प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरेका थिए। उक्त बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
५. भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्। भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। यसमध्ये विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनाका लागि ५६ अर्ब रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका आयोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा रहनेछ। सहायता उपलब्ध गराउने प्रक्रिया र आयोजनाबारे आपसी छलफलबाट टुङ्गो लगाइनेछ ।
६. दुवै प्रधानमन्त्रीले नेपालमा उच्च प्रभाव सामुदायिक विकास आयोजनासहितका विकास परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्। भारत सरकारको सहयोगमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिको समीक्षा गर्दै चितवनमा भारतको अनुदान सहयोगमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गरेका छन् ।
७. दुवै नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र स्वीकृत गरेका छन् । यसले नेपाल-भारत साझेदारीलाई भविष्यमा अघि बढाउने मार्गचित्र तयार गरेको छ। आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धसँगै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, नवप्रवर्तन, डिजिटल सेवा, अन्तरिक्ष र अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय समेटिएको छ ।
८. हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि बढाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी छलफललाई निरन्तरता दिने सहमति भएको छ । हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको छ । यसका लागि प्राविधिक छलफलबाट प्रक्रिया टुङ्गो लगाइनेछ ।
९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह प्रयोग गर्न नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेका छन्। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा पनि पहुँच उपलब्ध गराइनेछ ।
१०. दुवै नेताले सीमापार सम्पर्क सञ्जाल र सीमा पूर्वाधार सुधारमा जोड दिएका छन्। यसका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी तथा पेट्रोलियम पाइपलाइन निर्माणलाई अघि बढाउने सहमति भएको छ ।
११. दुवै प्रधानमन्त्रीले अयोध्या-जनकपुरबीच सञ्चालन हुने सरयू-कमला रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्। यसले आवागमन सहज बनाउनुका साथै रामायण परिपथअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने र नेपाल-भारतबीचको सभ्यतागत सम्बन्ध थप बलियो बनाउने विश्वास गरिएको छ। बौद्ध तथा शिवशक्ति धार्मिक पर्यटन परिपथ विकास गर्न पनि यस्तै सम्पर्क विस्तार गर्ने सहमति भएको छ ।
१२. प्रस्तावित रक्सौल-काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षण अन्तिम चरणमा पुगेको घोषणा गरिएको छ। नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन् ।
१३. दुवै नेताले बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको भर्चुअल रूपमा शिलान्यास गरेका छन्। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन जाँच चौकीको प्रगतिप्रति पनि स्वागत गरिएको छ। नेपाल-भारतबीच हाल तीनवटा एकीकृत जाँच चौकी सञ्चालनमा छन् ।
१४. भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ सवारीसाधन आवागमनयोग्य सीमापार पुल उद्घाटन गरिएको छ। यसले पश्चिम नेपाल र भारतबीच प्रत्यक्ष सम्पर्क विस्तार गर्ने अपेक्षा गरिएको छ ।
१५. सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कामको प्रगतिप्रति दुवै नेताले सन्तुष्टि व्यक्त गरेका छन्। बाँकी सीमा विवादका विषयमा काम अघि बढाउन परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ ।
१६. भारत र नेपालबीच पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ। झापामा पेट्रोलियम भण्डारण केन्द्र निर्माणको भर्चुअल शिलान्यास गरिएको छ। सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माणको काम छिट्टै सुरु गर्न जोड दिइएको छ। दुवै देशबीच ग्यास पाइपलाइन निर्माणमा पनि सहकार्य खोज्ने सहमति भएको छ ।
१७. जलविद्युत् क्षेत्रमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। भारतीय कम्पनीले नेपालमा विकास गरिरहेका जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्ने सहमति भएको छ। यस अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ ।
१८. पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन छिटो टुङ्ग्याएर कार्यान्वयन सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई निर्देशन दिइएको छ। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन तयार गर्ने काम पनि तीव्र बनाउने सहमति भएको छ। यी आयोजनाले जलस्रोतको पारस्परिक उपयोग र बाढीको प्रभाव न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
१९. नेपालका इनरुवा र भारतको नयाँ पूर्णिया तथा नेपालको दोधारा र भारतको बरेली जोड्ने दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।
२०. नेपालको शिक्षा तथा क्षमता अभिवृद्धिमा सहयोग विस्तार गर्दै भारतले नेपालमा भारतीय प्रविधि संस्थानको शाखा स्थापना गर्ने सहमति भएको छ। यसले नेपालको शिक्षा क्षेत्रमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। प्रविधि, नवप्रवर्तन, डिजिटल तथा वित्तीय सम्पर्कका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने सहमति भएको छ ।
२१. एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चारलगायतका सेवा सहज रूपमा प्राप्त गर्न दुवै पक्षले सहजीकरण गर्ने आवश्यकता औँल्याएका छन् ।
२२. प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच निम्न आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् :
- भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र।
- भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र ।
- भारत सरकारको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारीपत्र।
- आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत र नेपाल सरकारबीच समझदारीपत्र।
- भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया उपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारीपत्र ।
- दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने सम्बन्धमा भारत र नेपाल सरकारबीच समझदारीपत्र ।
- भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र ।
- पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत र नेपाल सरकारबीच समझदारीपत्र ।
२३. प्रधानमन्त्री शाहले भ्रमणका क्रममा प्रदान गरिएको आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन्। उनले मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन् भने भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ ।
२४. नेपाल-भारत साझेदारी गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको संयुक्त वक्तव्यमा उल्लेख छ। जनस्तरको बलियो सम्बन्ध तथा आर्थिक र विकास सहकार्यले दुई देशको सम्बन्ध थप सुदृढ बनाएको उल्लेख गर्दै नियमित उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology