Logo

२०८३, कार्तिक २८गते


images
images

क्रिकेट

टी–२० फ्रेन्चाइज लिगमाथि थप नियन्त्रण गर्ने आईसीसीको प्रस्ताव

टी–२० फ्रेन्चाइज लिगमाथि थप नियन्त्रण गर्ने आईसीसीको प्रस्ताव

images
  • टी–२० फ्रेन्चाइज लिगमाथि थप नियन्त्रण गर्ने आईसीसीको प्रस्ताव
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वभर सञ्चालन भइरहेका टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगितामाथि आफ्नो निगरानी र नियन्त्रण बढाउने प्रस्ताव अघि सारेको छ । क्रिकेटको निष्पक्षता, भ्रष्टाचार नियन्त्रण र अन्तर्राष्ट्रिय खेल तालिकामा देखिएको दबाब व्यवस्थापन गर्ने उद्देश्यले आईसीसीले यस्तो प्रस्ताव तयार पारेको हो ।

    images
    images
    images

    आईसीसीले गठन गरेको फ्रेन्चाइज लिग समीक्षा समूहले विभिन्न सुधारका प्रस्ताव तयार पारेको छ । उक्त प्रस्तावमाथि यसै सप्ताहन्त इन्डोनेसियाको बालीमा हुने आईसीसीको त्रैमासिक बैठकमा क्रिकेट बोर्डका प्रमुख तथा कार्यकारी अधिकृतहरूले छलफल गर्नेछन् ।

    images
    images
    images

    प्रस्तावअनुसार फ्रेन्चाइज लिगमा एकै खेलमा मैदान उत्रिने टोलीमा विदेशी खेलाडीको संख्या सीमित गर्नुपर्नेछ । यसले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने आईएलटी-२० र अमेरिकाको मेजर लिग क्रिकेटलाई सबैभन्दा बढी प्रभाव पार्ने देखिएको छ ।

    images
    images

    हाल आईएलटी-२० मा एक टोलीबाट ११ खेलाडीमध्ये नौ जनासम्म विदेशी खेलाडी खेलाउन पाइन्छ । तीमध्ये कम्तीमा एक जना एसोसिएट सदस्य राष्ट्रका खेलाडी हुनुपर्ने व्यवस्था छ । त्यस्तै, अमेरिकाको मेजर लिग क्रिकेटमा एक टोलीले ११ खेलाडीमध्ये छ जनासम्म विदेशी खेलाडी खेलाउन पाउँछ । सन् २०२३ मा आईसीसीले विदेशी खेलाडीको सीमा निर्धारण गर्दा यी दुवै प्रतियोगितालाई विशेष छुट दिएको थियो ।

    नयाँ प्रस्तावअनुसार एक टोलीमा चार जनामात्र विदेशी खेलाडी राख्न पाउने व्यवस्था लागू भएमा यी दुवै प्रतियोगिताको व्यावसायिक सञ्चालनमा असर पर्न सक्नेछ। त्यस अवस्थामा टोलीहरूले संयुक्त अरब इमिरेट्स र अमेरिकाका स्थानीय खेलाडीमा बढी निर्भर हुनुपर्नेछ ।

    यी दुवै प्रतियोगितामा भारतीय क्रिकेटको पनि उल्लेख्य लगानी छ । आईएलटी-२० का छमध्ये पाँच टोलीका मालिकहरू इन्डियन प्रिमियर लिग वा महिला प्रिमियर लिगसँग पनि आबद्ध छन् । त्यस्तै, अमेरिकाको मेजर लिग क्रिकेटका चार टोली भारतीय प्रिमियर लिगका मालिक समूहसँग सम्बन्धित छन् ।

    आईसीसीको प्रस्तावमा विदेशी खेलाडीको सीमा निर्धारणसँगै सदस्य राष्ट्रका क्रिकेट बोर्डले कुनै प्रतियोगितालाई दिएको स्वीकृतिमाथि समेत आईसीसीले पुनरावलोकन वा लेखापरीक्षण गर्न पाउने व्यवस्था समेटिएको छ । हाल पूर्ण सदस्य राष्ट्रका क्रिकेट बोर्डले आफ्नै देशमा हुने प्रतियोगितालाई स्वीकृति दिने अधिकार राख्छन् र त्यसमा आईसीसीले प्रत्यक्ष हस्तक्षेप गर्न पाउँदैन । नयाँ व्यवस्था लागू भएमा आवश्यक मापदण्ड पूरा नगर्ने प्रतियोगिताको स्वीकृति खारेज गर्ने वा अस्वीकार गर्ने अधिकारसमेत आईसीसीले पाउन सक्नेछ ।

    त्यस्तै, सट्टेबाजी कम्पनी वा तिनका नाम परिवर्तन गरेर सञ्चालन गरिएका संस्थालाई क्रिकेट प्रतियोगिता तथा टोलीको प्रायोजक बन्न रोक लगाउने प्रस्ताव पनि गरिएको छ । विशेषगरी गैरकानुनी सट्टेबाजीलाई प्रोत्साहन गर्ने जोखिम कम गर्न यस्तो व्यवस्था गर्न लागिएको आईसीसीको भनाइ छ ।

    फ्रेन्चाइज प्रतियोगितालाई स्वीकृति दिँदा आईसीसीको भ्रष्टाचार नियन्त्रण एकाइ वा आईसीसीबाट मान्यता प्राप्त अन्य निकायको सेवा अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ । भ्रष्टाचारको जोखिम उच्च देखिएका प्रतियोगितामा आईसीसीको भ्रष्टाचार नियन्त्रण एकाइले प्रत्यक्ष निगरानी गर्न सक्नेछ । त्यसको खर्च भने प्रतियोगिता आयोजकले व्यहोर्नुपर्नेछ ।

    त्यस्तै, कुनै प्रतियोगितालाई स्वीकृति दिनुअघि आयोजकको आर्थिक स्रोत, खेलाडीको पारिश्रमिक भुक्तानी सुनिश्चितता र भ्रष्टाचार नियन्त्रणका उपायबारे विस्तृत जाँच गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न फ्रेन्चाइज प्रतियोगितामा भ्रष्टाचार, स्वामित्व परिवर्तन र खेलाडीले पारिश्रमिक नपाएको विषय सार्वजनिक हुँदै आएका थिए ।

    आईसीसीले प्रतियोगितालाई स्वीकृति दिँदा आयोजकबाट शुल्क लिने प्रस्तावसमेत अघि सारेको छ । उक्त रकम आर्थिक पृष्ठभूमिको जाँच तथा आवश्यक परे भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा खर्च गर्न सकिनेछ ।

    समीक्षा समूहले विदेशी खेलाडी सहभागी हुने प्रतियोगितामा सम्बन्धित देशको क्रिकेट बोर्डलाई दिइने आर्थिक हिस्सासम्बन्धी व्यवस्थामा पनि एकरूपता ल्याउनुपर्ने विषय उठाएको छ । हाल विदेशी खेलाडी सहभागी गराउने प्रतियोगिताका आयोजक रहेको देशको क्रिकेट बोर्डले खेलाडी आएको देशको क्रिकेट बोर्डलाई निश्चित रकम दिने व्यवस्था छ । तर, रकम दुवै बोर्डबीचको आपसी सहमतिमा निर्धारण हुने भएकाले विवादसमेत उत्पन्न हुने गरेको छ ।

    यसैगरी, पूर्वखेलाडी सहभागी हुने लिजेन्ड्स लिगको व्यवस्थापन र त्यसमा सक्रिय खेलाडीको सहभागिताबारे पनि स्पष्ट नीति बनाउनुपर्ने प्रस्ताव गरिएको छ । यस्ता प्रतियोगिताले खेलको निष्पक्षता र भ्रष्टाचार नियन्त्रणमा चुनौती सिर्जना गर्न सक्ने समीक्षा समूहको निष्कर्ष छ ।

    एउटै सदस्य राष्ट्रको क्षेत्रमा सञ्चालन गर्न पाइने फ्रेन्चाइज प्रतियोगिताको संख्यामा सीमा तोक्ने विषय पनि छलफलका लागि अघि सारिएको छ । यसले अन्तर्राष्ट्रिय क्रिकेटको महत्व र विश्वव्यापी विकासमा असर नपर्ने गरी घरेलु फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न सहयोग पुग्ने आईसीसीको अपेक्षा छ ।

    बंगलादेशका पूर्वओपनर तथा वर्तमान बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष तामिम इकबालको नेतृत्वमा गठित समीक्षा समूहमा इंग्ल्यान्ड क्रिकेट बोर्डका प्रमुख रिचर्ड गोल्ड, क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रिनबर्ग र भारतीय क्रिकेट बोर्डका सचिव देवजित सैकिया सदस्य रहेका छन् ।

    समीक्षा समूहका प्रस्तावमाथि आईसीसीको कार्यकारी समितिले छलफल गर्नेछ । आवश्यक ठहरिएका प्रस्तावलाई अन्तिम स्वीकृतिका लागि आईसीसी बोर्डमा पठाइनेछ । नयाँ व्यवस्था लागू भएमा विश्वभरका टी-२० फ्रेन्चाइज प्रतियोगिताको सञ्चालन, विदेशी खेलाडीको सहभागिता र आर्थिक व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन आउन सक्ने विश्लेषण गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।