काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको र भ्रमणको तयारीबारे दुवै देशबीच छलफल भइरहेको बताएका छन् ।
उनले भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने जानकारी दिए। नेपाल–भारत सम्बन्ध विस्तृत साझेदारी र विशेष सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै उनले आपसी हितका सबै विषय छलफलमा समेटिने बताएका थिए ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले नोभेम्बर ४ र ५ मा नेपालको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहसहित विभिन्न मन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका बारेमा छलफल गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology