काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र राष्ट्रिय पहिचान भएको बताएका छन् ।
उनले नेवार समुदायले मनाउने म्हः पूजाले आत्मशुद्धि र चेतनाको बोध गराउनुका साथै आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन् ।
त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारको सांस्कृतिक र धार्मिक महत्त्व स्मरण गर्दै उनले कृषि कर्मका सहयात्री गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व झल्काउने बताएका छन् ।
प्रधानमन्त्री शाहले देउसी–भैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै मौलिक चाडपर्वले रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology