काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै तीनवटा बन्दुक र गोलीसहित भेनेजुएलाका एक युवक पक्राउ परेका छन् ।
अमेरिकी गृह सुरक्षा विभागका अनुसार २६ वर्षीय रोनी योर्ड्रिक्स गुआनिपा क्रिनोसलाई सुरक्षाकर्मीले शङ्कास्पद अवस्थामा कारभित्र फेला पारेका थिए ।
वासिङ्टन डीसीस्थित कन्स्टिच्युसन एभिन्युमा गस्ती गरिरहेका गोप्य सुरक्षा सेवाका अधिकारीहरूले सडक किनारमा रोकिएको नीलो रङको कारभित्र युवकलाई सुतिरहेको अवस्थामा देखेका थिए । सोधपुछका क्रममा उनले आफूलाई ट्रम्पको हत्या गर्न निर्देशन दिने आवाजहरू टाउकोभित्र सुनिने गरेको बताएका थिए ।
अंग्रेजी बोल्न नसक्ने उनले अनुवाद गर्ने माध्यम प्रयोग गरेर आफूसँग हतियार रहेको जानकारी सुरक्षाकर्मीलाई दिएका थिए । जाँचका क्रममा उनले प्रयोग गरिरहेको कार चोरीको रहेको खुलेको थियो। युवकले केही व्यक्तिले आफूलाई मार्न खोजेको र उनीहरूमध्ये एकबाट बन्दुक खोसेर कारमा राखेको दाबी गरेका थिए । उनले करिब एक महिनाअघि केही हतियार किनेको र ती सरकारलाई बुझाउन चाहेको पनि बताएका थिए ।
सुरक्षाकर्मीले कारबाट एआर–१५ शैलीको राइफल, म्याक–१० ह्यान्डगन र ग्लक ४३एक्स पेस्तोलसहित तीनवटा हतियार तथा गोली बरामद गरेका छन् ।
सन् २०२४ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका क्रिनोसविरुद्ध गैरकानुनी रूपमा हतियार तथा गोली राखेको, हतियार ओसारपसार गरेको र चोरीको गाडी प्रयोग गरेकोलगायतका आरोप लगाइएको छ। उनलाई सोमबार संघीय अदालतमा उपस्थित गराउने तयारी छ ।
यस घटनालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी अमेरिकी नियन्त्रणमा रहेको घटनासँग जोडेर समाचारमा उल्लेख गरिएको छ । समाचारअनुसार अमेरिकी सेनाले गत जनवरीमा भेनेजुएलामा कारबाही गरी मदुरो दम्पतीलाई पक्राउ गरेर न्युयोर्क ल्याएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology