सुर्खेत । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका-१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो ।
राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।
उनका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् । हाउसका चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो । उनीहरू तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।
पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।
शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रजिअ रिजालले बताइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology