मुगु । मुगुको खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा स्काभेटरसहित पुरिएका चालकको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनामा स्काभेटरका सहचालक पनि घाइते भएका छन् ।
सोमबार बिहान करिब ८:३० बजे मुगु-रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा माथिबाट एक्कासि सुक्खा पहिरो खसेको थियो। पहिरोमा बा.३ क. ३२७६ नम्बरको स्काभेटरसहित चालक पुरिएका थिए ।
पहिरोमा पुरिने चालक बझाङको बुङ्गल नगरपालिका-१० निवासी २४ वर्षीय बिमल बाग रहेको प्रहरीले जनाएको छ। बिहान १०:३० बजे जेसीबीको सहायताले पहिरो पन्छाएर उनको उद्धार गरिएको थियो ।
गम्भीर अवस्थामा रहेका बागलाई बा.प्र.०१–००४ क. ६४८३ नम्बरको ट्रकमार्फत उपचारका लागि रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
त्यस्तै, स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका-१ निवासी २२ वर्षीय विनय मल्ललाई पहिरोसँगै खसेको ढुङ्गाले हात र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि माझचौर मेडिकल पठाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology