Logo

२०८३, आश्विन ९गते


images
images

समीक्षा

बुद्धकालीन देवदह : बुद्धलाई देवदहसँग जोड्ने सेतु

बुद्धकालीन देवदह : बुद्धलाई देवदहसँग जोड्ने सेतु

images
  • बुद्धकालीन देवदह : बुद्धलाई देवदहसँग जोड्ने सेतु
    images
    images

    पछिल्लो समय, बुद्ध र बौद्ध दर्शनसँग सम्बन्धित धेरै साहित्य प्रकाशित भएको पाइन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनको प्रभावले पनि हुन सक्छ, स्नातकोत्तरको अध्ययन पश्चात् जुन शीर्षकमा आफ्नो शोध केन्द्रित हुन्छ, त्यसैमा अझ मिहीन अध्ययन गरेर किताब प्रकाशन गर्ने प्रवृत्ति पाठकका लागि फाइदाजनक भएको देखिन्छ । तिनै शोधकर्तामध्ये एक हुन् डा. कृष्ण प्रसाद न्यौपाने र हालसालै उनको कृति बुद्धकालीन देवदह प्रकाशित भएर बजारमा आएको छ ।

    images
    images
    images

    बौद्ध शिक्षामा दशकौँदेखि अध्ययन, अनुसन्धान र अनुभव गर्दै आइरहेका डा. न्यौपानेको विशेषतः देवदह र वरिपरिको क्षेत्रमा बुद्धकालीन सम्पदाको उत्खनन, अध्ययन र अनुसन्धानमा विशिष्ट योगदान रहेको छ । लामो समयदेखि देवदह कार्यक्षेत्र बनाई यहाँको ओझेलमा परेका प्राचीन सम्पदालाई पुनरुत्थान गर्दै पुनर्जीवित पार्ने प्रयासमा रहेका न्यौपानेको वर्षौँको अध्ययनको उपज यो पुस्तक रहेको महसुस गर्न सकिन्छ ।

    images
    images
    images

    पुस्तक, बुद्धकालीन समयमा देवदह र प्राचीन कोलीय राज्यको अस्तित्व र औचित्यको वरिपरि घुम्दछ । शिखा बुक्स प्रकाशक र ज्ञानज्योति बुक्स पब्लिकेसन वितरक रहेको यस कृतिको विमोचन ३१ श्रावण २०८३ मा देवदहमै भव्य समारोहको बीचमा भएको थियो । प्रकाशित मूल्य ५९५ रहेको यस पुस्तकमा कुल २१६ पृष्ठ रहेका छन् । पुस्तक दश अध्यायमा विभक्त छ, जसमध्ये २०२ पृष्ठसम्म विषयवस्तु र त्यसपश्चात् उपसंहार, सन्दर्भ ग्रन्थसूची, परिशिष्टाङ्क, लेखक परिचय इत्यादि रहेका छन् । 

    images
    images
    images

    पुस्तकको छपाइस्तर राम्रो छ । पुस्तक पढ्नमा सरल र सरस छ । श्यामश्वेत पृष्ठहरुसँगै परिशिष्टाङ्कमा रहेका विभिन्न ठाउँहरुको चित्र पनि श्यामश्वेत राखिएको छ । भाषिक अशुद्धता एकदमै कम छन्, यद्यपि कताकता टङ्कण गर्ने बेला भएका केही त्रुटि सामान्य मान्न सकिन्छन् ।

    पुस्तक निःसन्देह पठनयोग्य छ । कृतिको सुरुवात प्रा. डा. नरेशमान बज्राचार्यको शुभकामना, प्रा. डा. गितु गिरीको भूमिका र लेखकको लेखकीयबाट हुन्छ । त्यसपछि लेखक विषयवस्तुमा प्रवेश गर्छन् । पहिलो अध्याय बुद्धकालीन देवदहको परिचय शीर्षक अन्तर्गत कृतिकार प्राचीन देवदहको अवस्थिति, इतिहास र बौद्ध ग्रन्थमा गरिएको त्यसको उल्लेखबाट कृतिको औचित्य प्रस्तुत गर्दछन् । प्राचीन देवदह, त्यसमा पनि कोलीय राज्यको इतिहास, नामाकरणको पछाडिको कहानी र अहिलेको समयमा यसको अस्तित्व कहाँ र कुन भौगोलिक क्षेत्रमा रहन सक्छ भन्ने कुरा यहाँ व्यक्त छ, जान्नका लागि पुस्तक नै पढ्नुपर्ने हुन्छ ।

    दोस्रो अध्याय बुद्धकालीन कोलीय राज्यको जनजीवन अन्तर्गत लेखकले तत्कालीन कोलीय राज्य, जुन पश्चिममा रोहिणी नदीदेखि पूर्वमा नारायणीसम्म फैलिएको मानिन्छ, उक्त समयमा उक्त राज्यको शैक्षिक, आर्थिक, सामाजिक, न्यायिक, सांस्कृतिक, धार्मिक र महिलाहरुको अवस्था कस्तो रहेको थियो भन्नेमा विचरण गर्छन् । जसबाट, कोलीय राज्य सानो तर समृद्ध र संगठित बुद्धकालीन गणराज्य रहेको कुरा ज्ञात हुन्छ । सन्दर्भका लागि, विभिन्न बौद्ध ग्रन्थ, बौद्ध यात्रीका संस्मरण, यसअघि यस विषयमा कलम चलाएका लेखकको लेखन सामग्रीहरु लिइएको पाइन्छ । 

    तेस्रो अध्यायमा कोलीय गणराज्यका आदर्श नारीहरु : महामाया (मायादेवी), प्रजापति गौतमी र यशोधराको संक्षिप्त परिचय दिएका छन् । साथै बुद्धकालीन कोलीय राजाहरु अञ्जन, सुप्रबुद्ध र दण्डपाणी, त्रिकालदर्शी ऋषि कालदेवल (असित), उपासिका सुप्रवासा र स्थवीरहरु पक्ख र रख्खितको बारेमा लेखेका छन् । बौद्ध शिक्षामा दख्खल राख्नेहरुका लागि विषय नयाँ नहोला तर अन्य पाठकहरुका लागि नयाँ विषय, नाम र कहानी हुन सक्छन् । 

    चौथो अध्यायमा रोहीणी नदी र यसको पानीको विषयमा शाक्य र कोलीय वंशका बीच भएको विवाद र त्यसलाई समाधान गर्न बुद्धले सुनाएका जातक कथा : फन्दक जातक, लटुकिक जातक, रुखधम्म जातक, बट्टक जातक र पथवी उद्यिभ जातक कथाको बारेमा चर्चा गरिएको छ । बौद्ध ग्रन्थमा रोहिणी नदीमा बुद्धले सुनाएका यी जातक कथाबाट नै तत्कालीन समयमा रोहिणी नदीको अवस्थिति प्रस्ट पार्दै वर्तमान रोहिणी नदीको महत्त्व उजागर भएको छ ।

    पाँचौँ अध्यायमा त्रिपिटकहरुमा, विशेषतः सुत्त पिटकमा, देवदह र वरिपरिको रामग्राम र रोहीणी नदीको उल्लेखबारे लेखिएको छ । बुद्धवचनको शुद्धता र संरक्षणको प्रक्रियामा  भएको बौद्ध सङ्गायनाहरु र तिनको महत्त्वको बारेमा यहाँ जान्न सकिन्छ । छैठौँ अध्यायको विषयवस्तु चिनियाँ यात्रीद्वय फाइयान, हुएनसाङ्गको यात्रा विवरणमा देवदहको उल्लेख र दिशा र दूरीका आधारमा देवदहका अनुमानित अवस्थितिका बारेमा तर्क व्यक्त छन् जुन वर्तमान देवदहको अवस्थितिसँग मेल खान जान्छ । 

    अध्याय सातमा बौद्ध साहित्यमा मेल खाने र नखाने देवदहका बारेमा तर्कसङ्गत रुपमा लेखिएको छ । विशेषतः, दिशा र दूरीका आधारमा कपिलवस्तुभन्दा ५ योजन पूर्वोत्तर दिशामा पर्ने भनिएको देवदह र लुम्बिनीभन्दा ५ योजन पूर्वोत्तर दिशामै पर्ने रामग्राम हालको भौगोलिक अवस्थितिमा पनि उही नाम र उही दिशामा रहेकाले यस तथ्यलाई अझ पुख्ता बनाउँदछ । यद्यपि, यसको ठोस प्रमाण नभएकाले नै बेला बेला यसमा विवाद आउने, भारत लगायत अन्य ठाउँमा पनि देवदह र रामग्राम रहेको दाबी गर्ने कुराहरु समय समयमा भइरहेको देख्न सकिन्छ । 

    आठौँ अध्याय, वर्तमान देवदहसँग नजिक छ, जसमा तत्कालीन समयका बुद्धसँग सम्बन्धित ठाउँ र तिनको वर्तमान अवस्थिति र अवस्थाबारे व्याख्या गरिएको छ । यसमा मुख्यतः, रोहिणी नदी, बैरीमाई, कन्यामाई, खयरडाँडा, पण्डितपुर, रामग्राम, देव दह (मङ्गलपुष्करिणी), माथागढी, कुमारवर्ती, भवानीपुर, घोडाहा, साम्यमाई मन्दिर आदि पर्दछन् । यिनीहरु वर्तमान नेपालको भौगोलिक अवस्थितिमा रुपन्देही जिल्लाको देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, पाल्पा जिल्लाको माथागढी गाउँपालिका, नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिकाका विभिन्न स्थानसम्म फैलिएको कुरा जानकारी पाइन्छ । 
     
    नवौँ अध्यायमा उनै बुद्धकालीन देवदहलाई प्रमाणित गर्ने आधारहरु शीर्षकमा उही अगाडि भनिएका कुरा पुनश्च व्याख्या गरिएको छ, साथसाथै यसको अध्ययन, अनुसन्धान र पुष्टि प्रमाण गर्न अझै सरकार र सरोकारवालाको नजर नपुगेको ठहर गरी आउने दिनमा यसप्रति विशेष लगानी गर्न लेखकले ध्यानाकर्षण गरेका छन् । दशौँ अध्यायमा उपसंहार, सन्दर्भ ग्रन्थसूची, परिशिष्टाङ्क, लेखक परिचय आदि शीर्षक समाविष्ट छन् ।

    पुस्तकको एउटा पक्ष, कतिपय ठाउँमा एउटै कुरा पुनः उल्लिखित छन्,जसले गर्दा पाठकको मानसिकतालाई खज्मज्याउन सक्छ । विशेषतः, सुरुवाती विषयवस्तुमा देवदहका इतिहास, कोलीय राज्यको स्थापनासँग सम्बन्धित कुराहरु सन्दर्भ सामग्रीको उद्धरण पिच्छे उद्धृत गरिएकाले पनि यो भाव उत्पन्न गर्दछ । सन्दर्भ सामग्रीको वैधानिकता र तर्कलाई पुख्ता बनाउन पनि यसो गरिएको हो कि भन्ने लाग्छ। 

    भाषागत पक्षमा मूलतः नेपाली भाषा प्रयोग गरिएतापनि बीच बीचमा पालि भाषा र श्लोकहरु प्रस्तुत छन्, अक्षरशः उही ग्रन्थ वा सन्दर्भ सामग्रीबाट, जसले उक्त तथ्यलाई आधिकारिकता प्रदान गर्दछ । साथै, कुनै कुनै पालि शब्द नेपालीभाषी पाठकलाई बुझ्न गाह्रो होला यद्यपि, त्यसको प्रयोग उत्तिकै महत्त्वपूर्ण रहेको छ । 

    पुस्तकमा आउँदो दिनमा देवदहका ऐतिहासिक पक्षलाई सबल बनाउन र उल्लिखित कुरालाई तथ्य र प्रमाणगत रुपमा प्रस्तुत गर्न के गर्न सकिन्छ भन्ने पक्षमा थोरै जोड दिन सकेको भए अझ स्तरीय हुन सक्थ्यो भन्ने मेरो मान्यता छ । खासगरी, माथि उल्लिखित कुराहरु यथेष्ट उत्खनन र अनुसन्धानको कमीले गर्दा समय समयमा विवादित भएकाले के यो देवदह, रोहिणी, मंगलपुष्करिणी नै वास्तविक बुद्धकालीन ठाउँहरु हुन् त भन्ने गम्भीर प्रश्न खडा गर्छ । जस्तो वैधानिकता कपिलवस्तु, लुम्बिनी र रामग्रामले बौद्ध तीर्थस्थलको रुपमा पाएका छन्, उस्तै वैधानिकता देवदहले नपाएको तथ्य सत्य हो तर यसलाई बदलिनु आवश्यक छ । देवदहवासी नै सर्वप्रथम यसबारे जानकार भई सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धानलाई अगाडि बढाउनुपर्छ अनि जोगाउनुपर्छ धरातलमा पर्न लागेको देवदहको इतिहास । 

    लेखकको सुझावलाई उद्धृत गर्दै नेपाल सरकार, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालयले सातौँ बौद्ध सङ्गायना नेपाल, विशेषतः लुम्बिनीमा गर्न सके त्यसले देवदहको वैधानिकतालाई पनि ठोस टेवा पुर्याउन सक्दछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना यदि वास्तविकतामा परिणत भयो भने, त्यसले पनि देवदहको बुद्धकालीन महत्त्वलाई अझ निखारेर ल्याउने थियो ‌। खयरडाँडा, भवानीपुर, घोडाहा, रोहिणी खोला जस्ता ठाउँहरुको उत्खनन गरेर प्राचीन वस्तुहरु फेला पार्न सके पनि देवदहको अस्तित्व २६०० वर्ष पुरानो रहेको कुरा तर्कसङ्गत लाग्नेछ । अन्यथा, आउने पिढीँका लागि यो सब इतिहास एकादेशको दन्त्यकथा बन्न सक्छ । 

    समग्रमा भन्नुपर्दा, बुद्धकालीन देवदह बौद्ध शिक्षा अध्येता, बौद्ध धर्मावलम्बी, देवदहवासी, सरकार, सरोकारवाला र आम मानसले एकपटक पढ्नैपर्ने पुस्तक हो ‌। विश्वसनीयता र वैधानिकताजस्ता पक्षलाई थाँती राख्दै तथ्यसँग जानकार भई तत् पश्चात् त्यसको तर्कपुष्टितर्फ लाग्नुपर्दछ । देवदह, बुद्धका आमाद्वय मायादेवी र महाप्रजापतिको माइत, बुद्धको मामाघर; श्रीमति यशोधराको माइत, बुद्धको सुसराली, र बुद्ध स्वयम् ध्यान तथा धर्मदेशना गर्न आएकाले पनि यसको विशेष महत्त्व रहेको छ । प्राचीन कोलीय राज्यको राजधानी भएको कुरा पनि गर्विलो कुरा रहेको मनन गरिनुपर्छ । साथै, आगामी दिनहरुमा बुद्ध हाँस्ने, खेल्ने गरेको यो पुण्य भूमिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पर्दछ ।

    यस कृतिका लागि लेखकमा विशेष आभारसहित कृतिको व्यापक सफलताको शुभकामना सहित ।

    भवतु सब्ब मङ्गलम् ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समीक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।