Logo

२०८३, कार्तिक ११गते


images
images

पुस्तक चर्चा

डा. नवराज केसीको स्वस्पर्श : अन्योल युवाहरुको सञ्जिवनीबुटी

डा. नवराज केसीको स्वस्पर्श : अन्योल युवाहरुको सञ्जिवनीबुटी

images
  • सेतोमसी सहकर्मी
  • डा. नवराज केसीको स्वस्पर्श : अन्योल युवाहरुको सञ्जिवनीबुटी
    images
    images

    साहित्य, धर्मले नै नैतिकता, ऊर्जा, उत्प्रेरणा, हौसला दिने ल्याकत राख्छ । अर्काका कथा कहानीमा जब व्यक्तिले आफ्नो चिह्न खोज्छ, त्यसमा भएका राम्राले भन्दा नराम्रा पक्षले छिटो आकर्षित गर्छन् । भाषिक क्लिष्टता, उच्छृङ्खल विषयवस्तु, सतही साहित्य चेतनाले छिट्टै आकर्षित हुन्छन्, आजका युवावर्ग । यद्यपि, कहिलेकाहीँ यस्ता पुस्तकहरु आउँछन् जसले यी सबैभन्दा पर, आफ्नो सरल र यथार्थपरक विषयवस्तुले कसैको अन्तःकरणमा झाँकेर आफूभित्रको आफूसँग साक्षात्कार गराइदिन्छ । त्यस्तै एउटा युवा मनोविज्ञानमा आधारित उत्प्रेरणात्मक कृति हो डा. नवराज केसीको स्वस्पर्श।

    images
    images
    images

    २०८२ भदौमा फाइनप्रिन्टद्वारा प्रथमपटक प्रकाशित यस कृतिको मुद्रण थम्सन प्रेसले गरेको हो । प्राक्कथन, धन्यवाद, आभारसहित २६९ पृष्ठको विषयवस्तुले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्न सक्छ । भाषिक विन्यास सरल छ र कहीँकतै रङ्गीन चित्रको प्रयोगले पुस्तक अझ आकर्षक बनाउँदछ । तीन अध्याय र पन्ध्र शीर्षकमा विभक्त कृतिले पाठकलाई दुःखलाई पार गरी सुखसँग जीवनयापन गर्न, संघर्षका पर्खाल नाघी सफलतातर्फ उन्मुख हुन उत्प्रेरित गर्छ र यो नै कृतिको मूल विषयवस्तु हो । 

    images
    images
    images

    स्वस्पर्श, आफूले आफ्नो अन्तरमनलाई स्पर्श गरेर सांसारिकताबाट पर आफ्नो दुःखरुपी बाधा चुनौतिलाई पार गरी उल्लासमय जीवनको प्रत्याभूतिको यात्रा हो । संस्मरण र कथानक शैलीमा कृतिकारले आफ्नो डाक्टरी पेशामा आफूले साक्षात्कार गरेका पात्रहरु, उनीहरुको जीवनका घटना, परिघटना, अनुभव, संघर्ष र उनीहरुका दुःखको चश्माबाट नियालेको संसारको चित्रण तथा त्यसको उन्मुक्तिका लागि गरेको प्रयासलाई मानवेतर ढंगले पस्किएका छन् । साहित्यिक र भाषिक अतिशयतामा मात्र सीमित नभई हरेक कथ्यका लागि यथेष्ट वैज्ञानिक, जैविक र मनोवैज्ञानिक तथ्य प्रस्तुत गरेर कृतिको विश्वसनियतालाई अझ पुख्ता बनाउने कोशिश लेखकद्वारा गरिएको छ । 

    images
    images
    images

    कथा, कथामा वर्णित घटना, पात्र, पात्रका कथा वास्तविक जीवनबाट टिपिएका हुनाले आफ्नै अनुभूति जस्ता लाग्छन् । जाजरकोटका जङ्गबहादुर, पत्रिका, पर्वत र धर्मशीलाको माध्यमबाट राज्यबाट उपेक्षित कर्णाली भेगको कथा बोल्ने प्रयास लेखकले गरेका छन् । डाक्टरी र चिकित्सा पेसामा आबद्ध हुनेलाई देवत्वकरण गर्ने भाष्यको विपरित उनीहरुमा हुने मानव सुलभ गुण, कसैको दुःखमा मन रुने तर आँखा रुन नसक्ने भावावस्था, अस्पतालको शैयामा टुसा उमार्ने आशालाई मलजल गर्दाको सास्ती लगायत यावत् कुरालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । 

    लेखनशैली संस्मरणात्मक र संवादात्मक भएकाले पाठकका लागि कुनै ठूलै उत्प्रेरणाको उद्घोष यही ठाउँमा नै हुन्छ भन्ने चाहिँ छैन । संवाद संवादमै पात्रले गहन विषयवस्तुको उठान, विमर्श र शमन गरिरहेको भेटिन्छ । पात्रको दुःख, दुःख निवारणको क्रममा भएको मनोवैज्ञानिक भावावस्था, संघर्षलाई पार गरी पाएको सफलता र त्यसले ल्याएको ऊर्जा आफैँमा अवर्णनीय उत्प्रेरणा दिने खालका छन् । दर्शन होइन अनुभव र भोगाइमा व्याप्त छ उत्प्रेरणा, मननका लागि केवल पाठकीय अनुभूति आवश्यक पर्दछ।

    गर्बे दाइ, मन्दिरे, बाआमाजस्ता पात्रको माध्यमबाट मानिसले आफ्नो जीवनमा जति संघर्षको पहाडलाई विशाल बताए तापनि अर्को कोही पक्कै हुन्छ जसको संघर्षको गाथा आफू बराबर वा त्योभन्दा अधिक हुन सक्छ भन्ने कुरा बोध हुन्छ । ध्यार गाउँले, सानी नानी, नवराज भेडा, गिद्ध सखीले मानवीय संवेदना केवल मानवमा मात्र सीमित नरही ऊ, उसको वरिपरिका अन्य मान्छेदेखि पशुपन्छीसम्म प्रभाव पार्न सक्ने खालको हुन्छ भन्ने कुरा कथानक रुपमा प्रस्तुत गरेका छन् । पुस्तकको सबल पक्ष यहाँ पशुपन्छीहरुलाई मानवीय संवेग र भावनाको निकट साथीको रुपमा चित्रण गरिएको छ, जुन अतिरञ्जित नभई वास्तविक प्रतीत हुन्छ ।

    रिटायर्ड आमा र अस्मिताको कथाले मान्छेको जीवन केवल आफू बाँच्नका लागि मात्र नभई अरुमा सकारात्मक प्रभाव पार्न पनि सक्षम हुन्छ र एउटाको सत्कर्मको अन्य सयौँमा कति हदसम्म सकारात्मक प्रभाव पर्न सक्छ भन्ने कुरा कारुणिक र मर्मस्पर्शी ढंगमा प्रस्तुत गरिएको छ । मानव जीवन हिजोको सत्कर्मका फल सञ्चय गरी सुखमय भविष्यतर्फ निरन्तर बढिरहने यात्रा हो । हिजोका दुःखका दिनमा गरिएको संघर्षले भोलि राम्रो दिन लिएर आउँछ त्यसैले आज दिन कठीन गयो भन्दैमा हार नमान्नु, वर्ष आनन्दमय हुन सक्छ भनेर भन्ने कथाको सन्देश पाठकको मानसपटलमा पछिसम्म रहिरन्छ । 

    हातमा पेन/पेन्सिल लिएर कृतिको सबल पक्ष रेखाङ्कन गर्न खोज्ने पाठकका लागि किताब खजाना जस्तो लाग्छ । प्रत्येक कहानीमा कुनै हृदयस्पर्शी र भावोत्तेजक वाक्यांश अवश्य भेटिन्छ । प्रत्येक शीर्षक सुरु हुनु अघि लेखिएका उत्प्रेरणात्मक वाक्यांशले त्यो शीर्षकमा प्रस्तुत विषयवस्तु र त्यसको मूल आशयलाई पहिल्यै थोरै जानकारी दिने हुनाले पनि पाठकले ध्यान दिएर पढ्नुपर्ने गराउँछ । विशेषतः, पुस्तकको दर्शन बुद्धदेखि विज्ञानसम्न फैलिएकाले फराक दायरामा सैकडौँ कुरा समेटिएका छन् । 

    कपोलकल्पनाबाट सिर्जित भएको नभई तथ्यमा आधारित भएकाले ठाउँठाउँमा शोधको सन्दर्भ सामग्रीको सम्बोधन र कठीन वैज्ञानिक तथ्यलाई सामान्यीकरण गरी आममानसले बुझ्ने भाषामा लेखिएको छ । मानवीय मस्तिष्क, यसको संरचना, कार्यशैली, आउन सक्ने समस्या र तिनलाई पार गर्नलाई अपनाउन सकिने उपायका बारेमा सरल व्याख्यान गरेकाले पाठकलाई बुझ्न कठिनाइ हुँदैन । कथा अगाडि बढेसँगै पाठक सुर्खेतको अस्पताल र जाजरकोटको गाउँमा डाक्टर र जङ्गबहादुरसँगै विचरण गरेजस्तो महसुस गराउन सक्नु लेखकीय शिल्पको उच्चतम नमुना हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समीक्षा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।