देवदह । नेपाल मगर युवा संघ रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन आगामी भदौ २७ गते शनिबार बुटवलमा हुने भएको छ । अधिवेशन बारे जानकारी दिन बिहीबार देवदहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी मगरले बुटवल-८, सुख्खानगरस्थित अमर भवनमा उद्घाटन सत्र सहित संघको दोस्रो अधिवेशन हुने जानकारी हुन् ।
जिल्लाका विभिन्न गाउँ तथा नगर समितिबाट प्रतिनिधि तथा पर्यवेक्षकसहित आयोजक समितिका गरी करिब ६० जना युवाको सहभागिता रहने अधिवेशनबाट सक्षम, जुझारु र सशक्त नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको अध्यक्ष मगरले बताए ।
रुपन्देहीमा २०६६ सालमा पहल सिं राना मगरको नेतृत्वमा नेपाल मगर युवा संघ रुपन्देहीको तदर्थ समिति गठन भएको थियो । त्यसपछि २०६७ सालमा नरेश पुन मगरको नेतृत्वमा अर्को तदर्थ समिति गठन भए पनि दुवै समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी २०७९ साउन २९ गते नेपाल मगर संघ रुपन्देहीको रोहवरमा नेपाल मगर युवा संघ रुपन्देहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भई १८ सदस्यीय बर्तमान समिति बनेको र यहि समितिले दोस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष बिरु रानाले जानकारी दिए ।
वि.सं. २०६४ साल असोज १२ गते बुटवलमा ‘सम्पूर्ण मगर युवा एक हौं, स्वरोजगार तथा उद्यमशील बनी पहिचानसहितको मगरात प्रदेश स्थापना गरौं’ भन्ने मूल नाराका साथ नेपाल मगर युवा संघ स्थापना भएको थियो ।
आफ्नो कार्यकालमा संघले जिल्लाका विभिन्न पालिकामा रहेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । यस्तै, बलिहाङ पर्वलगायत मगर समुदायका सांस्कृतिक पर्वलाई संस्थागत रूपमा मनाउने परम्पराको सुरुवात गरेको र मातहतका समितिलाई प्रशिक्षण, अधिवेशन तथा भेला आयोजना गर्दै आएको संघले जनाएको छ ।
यसैबीच, रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति नेपाल मगर युवा संघ रुपन्देहीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बाढीपीडितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संघको तर्फबाट २६ हजार ५ सय ५० रुपैंया सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, विपद्को समयमा उद्धार तथा राहतका लागि राज्यले अझ प्रभावकारी भूमिका निर्वाह गर्न संघले आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology