देवदह । नेकपा एकिकृत समाजवादी रुपन्देहीले जिल्ला अधिवेशनका लागि सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनौट गरेको छ । पार्टीको विधान अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार बनाएर शनिवार र आईतवार गरी समाजवादीले सर्वसम्त प्रतिनिधि छनौट गरेको हो ।
चैत ९ र १० गते बुटवलको बेलबासमा गर्न लागिएको अधिवेशनका लागि रुपन्देहीको प्रतिनिधिसभा अन्तर्गतका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरिएको पार्टीका उपसचिव टंक पोखरेलले जानकारी दिए । यसपटक प्रतिनिधि नभएकाहरु जिल्लाको अधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था समेत गरेको नेकपा एकिकृत समाजवादी रुपन्देहीले जनाएको छ । यसअघि जिल्लाका पदाधिकारी तथा सदस्यहरु स्वत प्रतिनिधि हुने प्रावधान रहँदै आएकोमा रुपन्देहीमा प्रतिनिधि अनिवार्य हुने व्यवस्था गरिएको हो ।
५ वटै निर्वाचन क्षेत्रमा समावेशिताका आधारमा महिला, दलित, तथा खुल्ला क्षेत्रबाट प्रतिनिधि सर्वसम्मत भएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । पोखरेलका अनुसार छनौट प्रकृयामा २० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि र त्यसमा महिला ३३ प्रतिशत र ४० बर्ष मनिका युवा २० प्रतिशत चयन हुने व्यवस्था रहेको छ । छनौटमा १० जना दलित समुदायका पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरिएको छ ।
प्रतिनिधि छनौट भएसँगै अब अधिवेशनको अन्य तयारीका कामहरु शुरु भएको पार्टीले जनाएको छ । शनिवार ४ वटा निर्वाचन क्षेत्र र आईतवार ५ नम्बरको गरी जिल्लाका सवै निर्वाचन क्षेत्रबाट एक सय २७ जना छनौट भई जिल्लामा प्रतिनिधिहरुको नाम आएको उपसचिव पोखरेलले सेतोमसीलाई बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology