सुनवल । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि द पाइनियर सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल सुनवल-१, ले १ लाख ३५ हजार ३ सय ४० रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागितामा सञ्चालन गरेको सहयोग अभियानबाट संकलित उक्त रकम प्याब्सन नवलपरासीमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण शर्माले जानकारी दिए ।
अभियानअन्तर्गत विद्यार्थीबाट ३९ हजार ४ सय ६५ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट ५३ हजार ८ सय ७५ रुपैयाँ र विद्यालयको तर्फबाट ४२ हजार रुपैयाँ संकलन गरिएको थियो । विपद्का बेला मानवीय सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विद्यालय परिवारको उल्लेख्य सहभागिता रहेको प्रिन्सिपल शर्माले बताए ।
बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन गरिएको सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा केही भए पनि योगदान पुग्ने विद्यालयको विश्वास छ । सहयोग अभियानमा उत्साहपूर्वक सहभागी विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीसँगै सहयोग र सहजीकरण गर्ने सबैप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology