नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई विदुर नगरपालिकाले तत्काल घरभाडाका लागि प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्न योग्य घर नभएका नगरवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भान्साका सामग्री, सरसफाइ सामग्रीलगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
घर भाडामा लिँदा वा दिँदा प्रचलित भाडादरभन्दा बढी रकम लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने निर्णयसमेत गरिएको छ ।
त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताको सहकार्यमा अस्थायी आवास निर्माण गरी बाढी प्रभावितलाई पुनःस्थापना गरिने भएको छ ।
नगरपालिकाले अस्थायी आवास केन्द्र सञ्चालनमा नरहेका विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । अस्थायी आवास केन्द्रका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।
विदुर नगरपालिकाभित्र सञ्चालित अस्थायी आवास केन्द्रमा अन्य जिल्ला तथा स्थानीय तहका भोटेकोशी बाढी प्रभावित नागरिकसमेत रहेकाले उनीहरूलाई सम्बन्धित जिल्ला तथा स्थानीय तहसँग समन्वय गरी व्यवस्थापन गर्न आग्रह गरिने नगरपालिकाले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology