काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले उल्लेख्य गति लिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश रुटमा तार बन्डलिङ गरिएको छ । तर, खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र फिनिसिङ सुधार्ने काम पूर्ण हुन सकेको छैन ।
शहरी सौन्दर्य बिगार्नुका साथै अव्यवस्थित तारले आगलागी, दुर्घटना तथा सडक सुरक्षामा जोखिम बढाएको भन्दै सरकारले तार व्यवस्थापन अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा त्रिपुरेश्वर–कलंकी–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
अभियानलाई व्यवस्थित बनाउन प्राधिकरणले जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो । उपसमितिमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटाका प्रतिनिधि छन् ।
प्राधिकरणले सम्बन्धित सेवा प्रदायकलाई आफ्ना तारमा पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न निर्देशन दिएको थियो । प्रयोगविहीन तार हटाउने र बाँकी तारमा ट्याग लगाउने कामलाई तीव्र बनाउन विभिन्न समयसीमा पनि तोकिएको थियो । प्रारम्भिक चरणमा अपेक्षित गति नदेखिएपछि प्रत्येक रुटका लागि ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर नियमित अनुगमन सुरु गरिएको थियो ।
प्राधिकरणका अनुसार जडीबुटी क्षेत्रमा बन्डलिङको काम सम्पन्न भए पनि अन्तिम 'फिनिसिङ' कमजोर छ । सेवा प्रदायकको पहिचान खुल्ने ट्याग निकै कम स्थानमा मात्र राखिएको छ । 'केबल लूप' पनि देखिन्छन् । बानेश्वर क्षेत्रमा भने अवस्था तुलनात्मक रूपमा सन्तोषजनक छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइएका छन् । तर, केही स्थानमा ट्याग छुटेका छन् भने केही ट्याग च्यातिएका छन् ।
सामाखुसी क्षेत्रमा तार 'बन्डलिङ' भए पनि दृश्य अझै पूर्ण रूपमा व्यवस्थित देखिँदैन । ट्यागिङमा एकरूपता छैन । लूप व्यवस्थापन र अन्तिम 'फिनिसिङ'मा पनि सुधार गर्नुपर्ने देखिएको छ । लाजिम्पाट–त्रिपुरेश्वर रुटमा अधिकांश तार बन्डलिङ गरिए पनि केही खुला तार बाँकी छन् । ट्यागिङ पनि सबै क्षेत्रमा पूरा भएको छैन ।
त्रिपुरेश्वर–कलंकी रुटमा भने तुलनात्मक रूपमा राम्रो प्रगति भएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न भएको र ट्यागिङ पनि अन्य रुटको तुलनामा व्यवस्थित रहेको प्राधिकरणले जनाएको छ । केही स्थानमा भने बन्डलभन्दा बाहिर खुला तार अझै बाँकी छन् । कीर्तिपुर क्षेत्रमा पनि अधिकांश तार बन्डलिङ गरिएको छ । तर, खुला तार तथा सीमित ट्यागिङका कारण काम अझै पूर्ण भएको छैन ।
प्राधिकरणको अनुगमनमा सबै रुटमा देखिएको साझा समस्या ‘केबल लूप’ हो । सेवा विस्तार वा मर्मतका लागि अतिरिक्त केबल राखिए पनि त्यसलाई व्यवस्थित नगर्दा तार व्यवस्थापनपछि पनि पोलको दृश्य अव्यवस्थित देखिने गरेको छ । त्यसैले लूप राख्ने र व्यवस्थापन गर्ने स्पष्ट मापदण्ड आवश्यक देखिएको छ ।
त्यस्तै, ट्यागिङलाई पनि अभियानको महत्वपूर्ण कमजोरीका रूपमा औंल्याइएको छ । सबै तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नहुँदा भविष्यमा बिग्रिएका वा प्रयोगविहीन तारको स्वामित्व पहिचान गर्न समस्या हुन सक्छ । कतिपय ठाउँमा ट्याग छुटेका तथा च्यातिएका समेत भेटिएका छन् ।
प्राधिकरणले अब बन्डलिङलाई मात्र प्रगतिको आधार नमान्ने जनाएको छ । प्रत्येक रुटको अन्तिम निरीक्षण गरी खुला तार हटाउने, लूप व्यवस्थापन गर्ने, ट्यागिङ पूरा गर्ने र फिनिसिङ सुधार्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
भविष्यमा समस्या दोहोरिन नदिन साझा पूर्वाधार र भूमिगत युटिलिटी डक्टको व्यवस्था गर्नुपर्ने प्राधिकरणको सुझाव छ । नयाँ तार थपिँदै जाने तर पुराना तथा प्रयोगविहीन तार समयमै नहटाउने प्रवृत्ति अन्त्य नगरेसम्म समस्या दोहोरिरहने भएकाले नियमित अनुगमन र स्पष्ट जिम्मेवारीसहितको दीर्घकालीन प्रणाली आवश्यक देखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology