बुटवल । मंगलबार बिहान लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित वाइसिएल नेता एकराज बस्नेतको घर पुगिन् ।
त्यहाँ पुगेपछी राज्यमन्त्री वलीले बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरिन् ।
घटना हुँदा एकराज घरमा थिएनन् । स्थानीयको रिपोर्टपछि वलीलाई प्रहरीले नियन्त्रणमा लियो ।
राज्यमन्त्री वली प्रहरी नियन्त्रणमै रहेको बेला एकराजकि श्रीमती मिना भण्डारी बस्नेतले उनी विरुद्ध जाहेरी दिईन् । प्रहरीले अनुसन्धान अघि बढायो । वलीले एकराज आफ्नो 'प्रेमी' भएको स्वीकार गरेका समाचार बाहिरीए ।
नेकपा एमालेबाट दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी कहिले एमाले त कहिले माओवादी मै रहेको विज्ञप्तिहरू सार्वजनिक भएपनि अन्तिमत: उनी माओवादीमा लागेकी थिइन् ।
स्वास्थ्य राज्यमन्त्री वलीको यस प्रकारको 'अस्वस्थ' हर्कतले यतिबेला उनलाई मात्र समस्यामा पारेको छैन । उनले आफुसंगै लुम्बिनी प्रदेश सरकारलाई नै संकटमा धकेलेकी छन् ।
राज्यमन्त्री वलीको हर्कत प्रदेशको प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सरकार ढाल्ने गतिलो बाहना भएको छ । एमालेले वलीको राजिनामा मागेको छ । यदि जनदवाव र राजनैतिक दवावमा मुख्यमन्त्री कुलप्रसाद केसीले वलीलाइ मन्त्रीबाट बर्खास्त गरे भने वलीले माओवादी छाड्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
बहुदल स्थापना भएपछि गणतन्त्र प्राप्तिसम्मको झन्डै डेढ दशक नेपाली कांग्रेसले पटक पटक थाङ्नामा सुताएपछि खारिएर संसदिय राजनीतिको 'खेलाडी' बनेको एमाले लुम्बिनी प्रदेश सरकार ढाल्ने उपयुक्त मौकाको पर्खाईमा थियो । प्रदेश सरकारलाई नैतिक र राजनीतिक दबाब दिएर जसरी पनि सरकार ढाल्ने खेलमा यतिबेला एमाले लागेको छ ।
जसपालाई मुख्यमन्त्रीको अफर !
कुल ८२ जना प्रदेशसभा सदस्य रहेका रहेको लुम्बिनी प्रदेशमा सरकार बनाउनको लागि ४२ मत चाहिन्छ । अहिले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको सरकार बनेको छ ।
यदि हालको गठबन्धनबाट जनता समाजवादी बाहिरीयो भने सरकारले बहुमत गुमाउने र हालको कुलप्रसाद केसी नेतृत्वको सरकार ढल्ने छ । गठबन्धनको सोहि कमजोरीमा प्रहार गरेर सरकार ढाल्ने तयारीमा यतिबेला एमाले लागेको छ ।
स्रोतका अनुसार जनता समाजवादीलाई मुख्यमन्त्री दिन एमाले तयार भएको छ । सेतोमसीसंग कुरा गर्दै एक जसपा नेताले भने, "अफर आएको छ, एमालेले मुख्यमन्त्री नै दिन्छ भने किन गठबन्धन कुरेर बस्ने भन्नेमा पार्टीभित्र पनि छलफल भएको छ । तर निर्णय भने भैसकेको छैन ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology