देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह-७, रुपन्देहीमा तहगत चेस प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा क्रियाशील इन्ट्रयाक्ट क्लव अफ सगरमाथा देवदहको आयोजनामा विद्यार्थीहरुको बौद्धिक क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।
अतिरिक्त क्रियाकलाप संयोजक दधिराम ज्ञवालीको संयोजकत्वमा भएको प्रतियोगितामा जुनियरतर्फ कक्षा ६ ब्लु का अविश्रान्त न्यौपाने प्रथम, कक्षा ७ ब्लु का छात्र अंकित कुँवर द्वितीय र कक्षा ५ ग्रीनका प्रमिस चापागाईंले तृतीय स्थान प्राप्त गरे ।
सिनियरतर्फ कक्षा ९ रेडका छात्र पुस्कल पाण्डे प्रथम, कक्षा १० रेडका छात्र सुवोध पाठक द्वितीय र कक्षा ९ ब्लुका छात्र दिक्षान्त गुरुङले तृतीय स्थान प्राप्त गरे ।
विद्यालयका ७० बढी विद्यार्थीले सहभागीता जनाएको उक्त प्रतियोगितालाई सम्बोधन गर्दै विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारीले मानव जीवनमा चेस जस्ता बौद्धिक खेलले बौद्धिक विकास र सिकाई अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतियोगितामा कक्षा ८ रेडका अनुज खनाल र कक्षा ९ रेडका युजिन गुरुङ लगायत विद्यार्थीले सहजिकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology