सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जीवन खरेलले अघिल्लो स्थानीय सरकारले सञ्चालन गरेका योजनाहरु पुरा गर्दै नयाँ नमुना योजना ल्याउने गरी अगाडी बढ्ने बताएका छन् ।
पदबहाली ग्रहण पश्चात नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खरेलले नगरपालिकामा सञ्चालित ठुला अर्थात गौरवका योजनालाई निरन्तरता दिने र अन्य विकासका पूर्वाधारहरुलाई सम्पन्न गर्दै थप नमुना योजनाहरु ल्याउने गरी आफुहरु अगाडी बढेको बताए।
एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिलेसम्म ७४.७४ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको भन्दै उनले आफ्नो कार्यकालमा त्यसलाई सतप्रतिशत पुर्याउँदै शुद्ध खानेपानीको पहुँचमा नागरिकलाई पुर्याउने बताए । त्यस्तै सडक सञ्जाल अन्तर्गत ग्रामीण सडक र रिगंरोडको ट्रयाक खोल्ने काम सम्पन्न भएको भन्दै उनले ती सडकहरुको स्तरवृद्धि गर्ने र केही मुख्य सडकहरु कालोपत्रे गर्ने गरी आफुहरुले योजना बनाएको जानकारी दिए ।
‘कृषि क्षेत्रमा पनि उल्लेख्य कामहरु भएका छन् खरेलले भने-अब कृषकको उत्पादनको बजारीकरणको ग्यारेन्टी गर्ने र युवाहरुलाई उद्यमसगं जोड्नु आफुहरुको प्रमुख प्राथमिकता रहने समेत स्पष्ट पारे ।’ उत्पादन बढाउँदै कृषकहरुमा व्यवसायीकताको लहर ल्याउने गरी कार्यक्रम निर्माण गर्न आफुहरु छलफल गरिरहेको उनको भनाई छ ।
पत्रकार सम्मेलनकै क्रममा उनले युवाहरुलाई स्वरोजगार बनाउन उनीहरुलाई सहकारीसगं जोड्दै “युवा उद्यम सहकारी”कार्यक्रम सञ्चालन गर्ने र जसअन्तर्गत युवाहरुलाई सहकारीमा सगंठित गरी उद्यम र रोजगारसगं जोड्ने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
खानेपानीको क्षेत्रमा उल्लेख्य काम भएकाले अब सिँचाईको क्षेत्रमा काम गर्ने र कृषकहरुलाई उत्पादन बढाउने किसिमका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । अधिकाशं वडाहरुमा स्वास्थ्य चौकी अथवा बर्थिङ सेन्टर भवनहरु निर्माण भईसकेकाले ती स्वास्थ्य केन्द्रहरुमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत हुने गरी स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । त्यस्तै उनले अत्यावश्यक आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि वस्ती वस्तीमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य स्वयं सेविकाहरुलाई प्राथमिक उपचार बाकस केही दिनमै वितरण गर्न लागिएको बताए ।
खरेलले स्थानीय पाठ्यक्रम निर्माण गर्ने र उक्त पाठ्यक्रम सीप विकाससगं जोड्ने गरी निर्माण गर्न लागिएको भन्दै सदाचार शिक्षा र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि योग्य र उत्कृष्ट शिक्षकलाई पुरस्कृत एवम् प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु पनि ल्याउने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology