देवदह । स्मृति सामुदायिक वन बाटीकामा हुने प्रस्तरकला कार्यशालाको तयारी तिब्र रुपमा अगाडि बढेको छ । ड्रिम देवदहको आयोजना र स्मृती सामूदायिक वन उपभोक्ता समूहको संयोजनमा कार्यशाला शुरु हुन लागेको हो ।
कार्यशालामा न्युनतम ८ वटा ढुङ्गाका मूतिहरु ब्नाउने योजना रहेको बताइएको छ । नेपाल ललितकाल प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा हुने कार्यशालाले देवदह क्षेत्रको पर्यटन विकाशमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यशाला सञ्चालनको सन्दर्भमा बिहिबार देवदहमा आयोजक मूल समिति, बिभिन्न उपसमितीहरु तथा संघ संस्था एवं स्थानियहरुको भेलाले बिभिन्न निर्णयहरु गरेको संयोजक सिद्धिचरण भट्टराईले जानकारी दिए ।
भेलामा बोल्दै संयोजक भट्टराईले कार्यशाला सबैको साझा बिषयवस्तु भएको र यसले समग्र देवदहको पर्यटन क्षेत्रमा ठूलो अर्थ राख्ने बताए । उनले यसलाई भव्य रुपमा सफल बनाउनको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने औंल्याएका थिए ।
भेलामा स्वागत मन्तव्य राख्दै उप संयोजक तथा स्मृती सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङ्गले आँफुहरु प्रस्तरकला कार्यशालामा देवदहका सबैलाई अपनत्व हुने गरी अगाडि बढिरहेको बताए । उनले कार्यशालका लागि बिभिन्न उपसमितिहरु गठन गरिएको र कतिपय उपसमितिहरुलाई पूर्णता दिने काम बाँकी रहेको समेत जानकारी दिए।
भेलामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य यम थापाले यस अघि देवदहमा गरिएको काष्ठकला कार्यशाला सफल भएको उल्लेख गर्दै प्रस्तरकला कार्यशाला पनि अझै भव्यताका साथ सफल हुने विश्वास व्यक्त गरेका थिए ।
बिकासका कामहरुमा देवदहबासीको ऐक्यबद्धता रहेको कुरा काष्ठकला कार्यशाला गर्दा बोध भएको स्मरण गर्दै त्यस समयमा सञ्चारकर्मीहरुले प्रचारप्रसारमा गरेको सहयोगले ठूलो भूमिका खेलेको कारण यसपटक पनि मिडिया क्षेत्रको भूमिका हुने उनको भनाइ थियो ।
प्रतिष्ठानबाट देश बिदेशमा ख्याती प्राप्त १९ जना मूतिकार कार्यशालाको लागि आउने जानकारी दिंदै थापाले मूर्तिकारहरुले कार्यशालाबाट देवदको पर्यटन क्षेत्रलाई अमूल्य सम्पत्ती दिएर जाने दाबी गरे ।
भेलामा देवदह ७ का वडा अध्यक्ष पदम थापा, वडा नं. ६ का अध्यक्ष दामोदर क्षेत्री, मदन आश्रीत स्मृती वाटीकाका अध्यक्ष ऋषिराम सापकोटा, देवदह ९ का वडा सदस्य खैराज शर्मा, देवदह खानेपानीका अध्यक्ष गुमानसिंह कुँवर, पल्लवी साकोसका अध्यक्ष प्रमोद खनाल, गौतमबुद्ध राष्ट्रिय उद्यानका रेशम गुरुङ्ग लगायतले बोल्दै आँफैमा ऐतिहासीक, पुरातात्वीक गरीमा बोकेको देवदहमा कार्यशालाले छुट्टै महत्व राख्ने बताएका थिए ।
कार्यशाला यहि चैत्र ८ गतेदेखि सुरु हुने बताइएको छ । बिगत लामो समयदेखि योजनामा रहेको प्रस्तरकला कार्यशाला बिभिन्न समस्याका कारणले आयोजना हुन सकेको थिएन । कार्यशालामा मूर्ति बनाउने ढुङ्गाहरुको संकलन कार्य सम्पन्न भएको आयोजकले जनाएको छ ।
भेला ड्रिम देवदहका सचिव दिपेश बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology