वीरगञ्ज । वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेका प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।
एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको बताए । ‘जसपाबाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ उनले भने ।
नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका मेयर सरावगी अन्तिममा एमाले प्रवेश गरे । उनले पूर्वमन्त्री मोती दुगडले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराइदिएपछि एमाले प्रवेश गरेको पनि खुलाए ।
‘म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेको थिएँ । तर पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो’ उनले भने, ‘त्यसपछि एमालेमा आएँ ।’
एमाले अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै मेयर सरावगीले उनले जत्तिको बोल्ड डिसिजन गर्न सक्ने नेता अरु नभएको बताए । ‘उहाँको नेतृत्वमा देशले नयाँ काँचुली फेर्नेछ’ उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology