नेपालमा अब बिस्तारै जाडो मौसमले बिदा लिएर गर्मी मौसमको समय बढ्दो छ । प्रकृतिको हिसाबले यो सुन्दर परिवर्तनको चरण हो । यो परिवर्तनसंगै बिहान–बेलुकाको चिसोपन हराउँदै जान्छ, घाम चर्किन थाल्छ र दिन क्रमशः लामा हुँदै जान्छन् । तर यही मौसम परिवर्तनले मानव स्वास्थ्यमा विभिन्न असरहरू पनि पार्छ । जाडोबाट गर्मीतर्फको संक्रमण कालमा शरीरले नयाँ वातावरणमा आफूलाई ढाल्न केही समय लिन्छ । यही क्रममा मानिसलाई विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्या देखिन सक्छन् ।
गर्मीमा देखिने समस्याहरु :
मौसम परिवर्तनसँगै देखिने सबैभन्दा सामान्य समस्या रुघाखोकी, ज्वरो र घाँटी दुखाइ हुन् । जाडोमा चिसोबाट जोगिनका लागि बाक्लो कपडा प्रयोग गरिने र गर्मीको सुरुवातसंगै पातलो कपडा प्रयोगमा आउने भएकाले चिसो–तातोको असन्तुलन हुन पुग्दछ । जसको कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन पुग्छ । दिनमा घाम लागेर पसिना आउँछ, तर बेलुका अझै चिसो हुन्छ । यस्तो असन्तुलनले संक्रमणको सम्भावना बढाउँछ । नेपाल जस्तो देशमा, जहाँ मौसम एक्कासी परिवर्तन हुने गर्छ, विशेषगरी पहाडी तथा तराई क्षेत्रमा, यस्ता समस्या धेरै देखिन्छन् ।
गर्मी सुरु भएसँगै देखिने अर्को प्रमुख समस्या डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमी हुनु हो । जाडोमा मानिसहरू प्रायः कम पानी पिउँछन् । त्यही बानी गर्मीमा पनि जारी रहँदा शरीरमा आवश्यक पानीको मात्रा पुग्दैन । जसका कारण अत्यधिक पसिना आउनु, टाउको दुख्नु, थकान महसुस हुनु, छाला सुख्खा हुनु जस्ता लक्षण देखिन सक्छन् । यदि समयमै ध्यान दिइएन भने चक्कर लाग्ने वा बेहोस हुने अवस्था पनि आउन सक्छ ।
त्यसैगरी, गर्मी सुरु हुँदा पाचन सम्बन्धी समस्या पनि बढ्न थाल्छ । तापक्रम बढेसँगै खानामा ब्याक्टेरिया छिटो बढ्छन् । बाहिरको अस्वस्थ खाना, पानीको दूषित स्रोत, लामो समयसम्म खुला राखिएको खानाको प्रयोगले झाडापखाला, बान्ता, पेट दुख्ने जस्ता समस्या निम्त्याउन सक्छ । विशेषगरी बालबालिका, रोगबाट प्रभावित व्यक्ति र ज्येष्ठ नागरिकमा यस्ता समस्या गम्भीर हुन सक्छन् ।
छाला सम्बन्धी विभिन्न समस्या पनि गर्मी मौसमको सुरुवातसंगै देखिनु सामान्य हुन्छ । घामको किरण चर्किदै जाँदा छाला डढ्ने, एलर्जी हुने, घमौरा आउने, चिलाउने जस्ता समस्या देखिन सक्छन् । सूर्यको पराबैजनी किरणको प्रभाव बढ्दा छालामा प्रत्यक्ष असर पर्छ । लामो समयसम्म घाममा बस्दा छालाको रंग परिवर्तन हुने वा छालामा जलन हुने सम्भावना रहन्छ ।
मौसम परिवर्तनले मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ । जाडोको अल्छीपनपछि अचानक सक्रिय जीवनशैलीमा फर्किनु, गर्मीको कारण निद्रामा कमी आउनु, चिडचिडापन बढ्नु जस्ता लक्षण देखिन्छन् । पर्याप्त आराम र सन्तुलित दिनचर्या नभएमा मानसिक थकान बढ्न सक्छ ।
यस्ता समस्याबाट कसरी जोगिने :
गर्मी मौसमको सुरुवातसंगै देखापर्ने समस्याबाट जोगिन सर्वप्रथम आफ्नो जीवनशैलीमा सन्तुलन कायम गर्न आवश्यक हुन्छ । मौसमअनुसार लुगा लगाउने बानी बसाल्नु जरुरी छ । बिहान–बेलुका हल्का चिसो हुँदा पातलो तर शरीर ढाक्ने कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ । दिउँसो घाम चर्किँदा हल्का र पसिना सोस्ने कपडा लगाउनु राम्रो हुन्छ ।
पानी प्रशस्त पिउनु अत्यन्त आवश्यक छ । दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउने बानी बसाल्नुपर्छ । पसिना धेरै आउने अवस्थामा झन् बढी पानी वा झोलयुक्त पदार्थ लिनुपर्छ । जसको लागि घरमै बनाइएको झोल, जुस, दही, लस्सी जस्ता पेय पदार्थ उपयोगी हुन्छन् । तर अत्यधिक चिसो पेय पदार्थ सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
स्वस्थकर र ताजा खाना खानु अर्को महत्वपूर्ण उपाय हो । बाहिरको खुला तथा अस्वस्थ खाना सकेसम्म नखानु राम्रो हुन्छ । पकाएको खाना लामो समयसम्म नछोडी ताजा अवस्थामा सेवन गर्नु उचित हुन्छ । फलफूल तथा तरकारी राम्ररी धोएर मात्र खानुपर्छ । पानी सधैँ उमालेर वा फिल्टर गरेर पिउनु स्वास्थ्यको लागि सुरक्षित हुन्छ ।
छालाको सुरक्षाका लागि घाममा निस्कँदा छाता प्रयोग गर्नु, टाउकोमा टोपी लगाउनु, लामो समयसम्म चर्को घाममा नबस्नु जस्ता सावधानी अपनाउनुपर्छ । गर्मी याममा लगाउने लुगाको रंगले पनि शरिरलाई सहजता प्रदन गर्न सक्छ, त्यसैले यो मौसममा सेतो रंगका लुगा लगाउनु उपयुक्त हुन्छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको चर्को घाममा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु राम्रो मानिन्छ । छालालाई सफा र सुक्खा राख्दा घमौरा तथा अन्य एलर्जीजन्य समस्याको सम्भावना घट्छ ।
नियमित व्यायाम र पर्याप्त निद्रा पनि स्वास्थ्यका मुख्य आधार स्तम्भ हुन् । मौसम परिवर्तनको बेला प्रतिरक्षा प्रणाली बलियो बनाउन हल्का व्यायाम, बिहानको हिँडडुल, योग तथा ध्यान उपयोगी माध्यम हुन्छन् । राति कम्तीमा ७–८ घण्टा सुत्नुपर्छ । सन्तुलित आहारको प्रयोग पनि गर्मी मौसमलाई सहजता प्रदान गर्ने माध्यम बन्न सक्छ । हामिले दैनिक जीवनमा हरियो सागसब्जी, फलफूल, प्रोटिनयुक्त खाना र पर्याप्त कार्बोहाइड्रेट समावेश भएका खानेकुरा खानाले शरीरलाई रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
विशेष गरी बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकले अतिरिक्त सावधानी अपनाउनु आवश्यक हुन्छ । उनीहरूको प्रतिरक्षा क्षमता कमजोर हुन सक्ने भएकाले सानो लक्षण देखिए पनि समयमै चिकित्सकको सल्लाह लिनुपर्छ । घरपरिवारका सबै सदस्यले सरसफाइमा ध्यान दिनु, नियमित र पटकपटक हात धुने बानी बसाल्नु र व्यक्तिगत स्वच्छता कायम गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।
जाडोबाट गर्मीतर्फको परिवर्तन स्वाभाविक प्रक्रिया हो । तर यसले स्वास्थ्यमा पार्ने असरलाई बेवास्ता गर्नु बुद्धिमानी होइन । सन्तुलित जीवनशैली, स्वच्छता, पर्याप्त पानी सेवन, पोषणयुक्त खाना र सावधानी अपनाएमा धेरैजसो मौसमी समस्याबाट बच्न सकिन्छ । आफ्नो शरीरको संकेत बुझेर समयमै सचेत हुनु नै स्वस्थ जीवनको मूल मन्त्र हो । मौसम परिवर्तनलाई सकारात्मक रूपमा स्वीकार्दै आवश्यक सावधानी अपनाएमा हामी स्वस्थ र ऊर्जावान् रहन सक्छौँ । शरिरमा उत्पन्न हुने सकारात्मक उर्जा र स्फूर्तिले समय समयमा हुने परिवर्तित मौसमलाई ग्रहण गर्न मद्धत गर्छ र स्वस्थ जीवनलाई टेवा पुर्याउँदछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology