रमेश बहादुर सिह, बझाङ । देशका साना ठुला सहर र गाउँपालिकाहरूले समेत ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका मनाए । महिला अधिकार र समानताका लामै भाषण गरिए । महिला मुक्तिका इतिहासको व्याखा गरियो । अन्यत्र झै सो कार्य बझाङको जयपृथ्वी नगरपालिकाले पनि गर्यो ।
तर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै गर्दा भारी बोकेर खाने महिला र मजदुर गरिखाने महिला भने कोहि रोडमा दाउरा बोकेर पसल होटल पुगेका देखिन्थे भने कोहि दरमुकाम चैनपुर नजिकै रहेको बाउलि खोला दुङ्गा कुटिरहेका थिए ।
'हामीलाई वेलुकाको खाना कसरी खाने र बाल बच्चाहरुलाई खुवाउने भन्ने मात्रै चिन्ता छ, अरु थाहा छैन' यो भनाइ हो - चैनपुरमा डेरा गरी बस्ने २४ वर्षीया सिता चौधरीको । जो दिनभरी मजदूरी काममा व्यस्त थिइन् ।
चौधरी एक उदाहरण मात्रै हुन् । श्रमिक महिला दिवसको दिन हामीले भेटेका अधिकांश श्रमजीवी महिलाहरू मरिमेटेर काम मै खटेका छन् । दिनभरी काम नगरे साँझ घरको चुलो नबल्ने उनीहरूलाई न श्रमिक दिवस छ नत महिला मुक्ति र समानताका भाषणमै चासो ।
देशमा महिला राष्ट्रपति छन्, अधिकांश स्थानीय सरकारका उपप्रमुख महिला नै छन् तर पनि देशमा न महिला हिंसा रोकिएका छन् नत वास्तविक श्रमिक महिलालाई महिला दिवसले छोएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology