देवदह । देवदहका सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा नयाँ विद्यार्थी भर्ना उत्साहजनक देखिएको छ । वसन्त पञ्चमीको दिन नयाँ बालबालिकालाई विद्यालयले आयोजना गरेको अक्षरारम्भ कार्यक्रममा यस्तो देखिएको हो ।
सेतोमसीले देवदहका करिव डेढ दर्जन विद्यालयमा सम्पर्क गरि संकलन गरेको तथ्याङ्कलाई हेर्दा अभिभावकको रुची संस्थागत तर्फ देखिएको छ । प्रतिनिधि विद्यालयको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढि देवदह बुद्ध पब्लिक सेकेण्डरी स्कूलमा १२२ जना विद्यार्थीले शुक्रवार अक्षरारम्भ गरेका छन् । सोहि विद्यालयद्धारा सञ्चालित बुद्धपब्लिक मन्टेश्वरीमा ४८ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ ।
यसैगरी ग्रीनप्लान्ट मन्टेश्वरीमा ७० जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रिन्सिपल राजीव सापकोटाले जानकरी दिए । वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रम मार्फत ७० जना विद्यार्थी भर्ना भएको सापकोटाले बताए ।
यस्तै सगरमाथा आवासिय माध्यमिक विद्यालय देवदह-७ मा ६८ जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । अक्षरारम्भको अवसरमा न्यू नमुना ईङ्गलिस बोर्डिङ्ग स्कूलमा ४९ जना र देवदह ईङ्गलिस बोर्डिङ्ग स्कूलमा ४५ जना विद्यार्थी नयाँ भर्ना भएको जनाइएको छ ।
त्यसैगरी देवदह मदरटङ्गस एकेडेमीमा सरस्वती पूजाको अवसरमा गरिएको अक्षरारम्भ कार्यक्रम मार्फत ४३ जना वालवालिका भर्ना हुँदा न्यू लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कूल र ग्रेट फ्युचर मण्टेश्वरीमा समान ३२ जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालयले जनाएका छन् ।
सामुदायिक विद्यालय तर्फ सबैभन्दा बढि भविष्य निर्माण माध्यमिक विद्यालय देवदह–२ मा बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पुजासँगै गरिएको अक्षरारम्भ कार्यक्रममा ३० जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक गोविन्दप्रसाद भुषालले जानकरी दिए ।
यस क्षेत्रको अग्रणी तथा नमुना विद्यालय केरवानी मावि प्रगती केन्द्र मण्टेश्वरीमा मा २१ जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जनाएका छन् । केरवानीले सरस्वती पूजासँगै अक्षरारभ्भ कार्यक्रम राखेको थियो ।
यस्तै जनप्रिय मा वि देवदह १० मा सरस्वती पूजा तथा अक्षरारम्भ मार्फत १६ जना नयाँ विद्यार्थी भर्ना भइरहँदा महामाया भवानी मा वि देवदह-४ मा १२ जना र जनता मावि देवदह-८ मा ९ जना विद्यार्थी भर्ना भएका छन् ।
यसैगरी देवदह मा वि देवदह-७ र कालिका आधारभुत विद्यालय देवदह-६ मा सरस्वती पूजा सहित गरिएको अक्षरारम्भमा समान ८÷८ जना विद्यार्थी भर्ना भएका छन् भने सीता मा वि देवदह-१० मा ७ जना र सन्दिप आधारभुत विद्यालय देवदह-९ मा सरस्वती पुजाको अवसरमा अक्षरारम्भ गर्दै ७ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology