परासी । सशस्त्र प्रहरीले सनिवार पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट ठूलो परिमाणमा अवैध मोबाइल पार्टस बरामद गरेको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिकास्थित नेपाल-भारत सीमा नजिकबाट करिब १७ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरिएको हो ।
‘सरप्राइज’ अप्रेसन सशस्त्र प्रहरी बल २६ नं. गण बेलासपुर र सीमा सुरक्षा गुल्म महेशपुरको संयुक्त टोलीले पाल्हीनन्दन-५, सिसवागाउँमा चलाइएको विशेष अप्रेसनको क्रममा भारतबाट अवैध रूपमा भित्र्याइएका मोबाइलका कभर तथा टेम्पर्ड ग्लासहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्रीहरू आवश्यक लिलामी प्रक्रियाका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय नवलपरासी पश्चिममा सशस्त्र प्रहरीले तस्करी विरुद्धको अभियानलाई तीव्र पारेको छ । २६ नं. गणका अनुसार गएको एक साताभित्र मात्रैइलेक्ट्रोनिक सिगरेट (भेप), कफीका दाना मोबाइल पार्टस् लगायतका झण्डै ९० लाख रुपैयाँ भन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरी भन्सार बुझाइएको छ ।
भारतीय सीमा नाकाबाट हुने नियमित तस्करीमा प्रहरीले कडाइ गरेपछि स्थानीय वैधानिक व्यापारीहरूले खुसी व्यक्त गरेका छन् । प्रहरीको सक्रियताले राजस्व चुहावट नियन्त्रण हुनुका साथै स्थानीय बजारमा हुने अस्वस्थ प्रतिस्पर्धामा कमी आउने विश्वास लिइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology