स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन् :
‘हेभी डिनर’ नलिनुस् : डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी सुधार्नुस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्याउँछन् ।
तातो पानीले राति ननुहाउनुस् :
दिनभरिको कामबाट राति घर फर्किएपछि तातो पानीले नुहाउने बानी छ भने बानी बदल्न ढिलो नगर्नुस् । किनकि, शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनै परे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुस् ।
सुत्ने कोठामा मधुरो बत्ती राख्नुस् : चर्को प्रकाशमा बसेर सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।
ओछ्यानमा मोबाइल नचलाउनुस् :
ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि आफूलाई बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।
तालिका बनाउनुस् :
सुत्ने र उठ्ने समयतालिका बनाउनुस् र यसलाई भरिसक्के पालना गर्नुस् । सधँै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।
सुत्नुअघि कसरत नगर्नुस् :
कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच चार घण्टाको ग्याप राख्नु राम्रो हु्न्छ ।
धूम्रपान र मद्यपान छोड्नु्स् :
धूम्रपान र मद्यपानको बानी छ भने छोड्न ढिलो नगर्नुस् । धुम्रपान र मद्यपान गर्ने मानिस नगर्नेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । निकोटिन र अल्कोहलले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।
सुत्नुअघि औषधि नखानुस् :
प्रेसर, डिप्रेसन लगायतको औषधि नियमित सेवन गर्ने गर्नुभएको छ भने औषधि खाने समय र सुत्ने समयबीच केही घण्टाको अन्तर राख्ने कोसिस गर्नुस् । यस्ता औषधि खानासाथ सुत्न जानुभयो भने निदाउन समय लाग्छ ।
मनमा गुम्सिएका कुरा लेख्नुस् :
मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने उनीहरूको सुझाव छ ।
कथा, संगीत सुन्नुस् :
निद्रा लाग्दैन भने रेडियो, ल्यापटप, मोबाइलबाट मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाल्नुस् । डाक्टरहरू निदाउने यो शैलीबाट धेरै मानिस लाभान्वित भइसकेको बताउँछन् ।
सकारात्मक सोच राख्नुस् :
नराम्रो चिताउने र सोच्ने बानीले गर्दा पनि निदाउन समस्या पर्ने गरेको मनोचिकित्सकहरूको भनाइ छ । यसका लागि आफू र अरूको भलो चिताउने गर्नुस् । सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर पर्छ निद्रामा ।
गहिरो सास लिने गर्नुस् :
फुर्सदमा गहिरो र लामो सास फेर्ने गर्नुस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ, जसले गर्दा राति मीठो निद्रा पर्छ । गहिरो सास लिने गरेमा मुटुको धड्कन सन्तुलनमा आउने र रक्तचापका बिरामीलाई राम्रो हुने गर्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक रसायन उत्सर्जन हुन्छ, जसले तपाईंलाई तनावरहित बनाएर मीठोसँग निदाउने अवस्था सिर्जना गरिदिन्छ । गहिरो सास लिँदा पाँच सेकेन्डसम्म सास तान्ने, तीन सेकेन्ड थाम्ने र पाँच सेकेन्डसम्म सास फाल्ने गर्नुपर्छ । यो विधिलाई योगगुरुले मात्र नभई चिकित्सकहरूले पनि अनिद्रा भएका मानिसका लागि उपयोगी ठह¥याइसकेका छन् ।
खानपानमा ध्यान दिनुस् :
मीठो निद्रा लगाउन माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा एकभन्दा बढीलाई हरेक दिनको खानामा समावेश गर्ने कोसिस गर्नुस् ।
सुत्नुअघि पानी नपिउनुस् :
कसै–कसैले सुत्नुअघि पानी पिउने बानी बसालेका हुन्छन् । यस्तो बानी आजैदेखि बदल्नुस् । किनकि, पानी पिएर सुत्न जाँदा राति पिसाब फेर्न उठ्नुपर्छ । यसरी निद्रा भंग हुन्छ । सुत्नुभन्दा एक अथवा दुई घण्टाअघि पानी पिउने गर्नुस् ।
स्वार्थी नहुनुस् :
मान्छेका इच्छा आकांक्षा अनेक हुन्छन् । सबै चाहाना पूरा नै हुन्छन् भन्ने छैन । त्यसैले मसंग यो भएन । मैले यो पाएन भन्ने कहिले नसोंच्नुहोस । बरू सधैं आफुभन्दा कमजोर र दु:खीलाई सहयोग गर्न तत्पर हुनुहोस् । अरुलाई सहयोग गर्दा, आफ्नो कारणले अरुको जीवनमा खुसी छाउँदा आनन्दीत हुने आदतको विकास गर्नुहोस् ।
जीवन अमुल्य छ भन्ने बुझ्नुहोस् :
जीवन अमुल्य छ । यसलाई त्यसै खेर फाल्ने वा अमुल्य जीवनको दुरुपयोग गर्ने काम नगर्नुहोस् । चाहेर वा नचाहेर पनि कसैलाई दु:ख दिने प्रयत्न कहिले पनि नगर्नुस् । यदि विगतमा त्यस्तो गर्नुभएको छ भने मनदेखि नै प्रायश्चित गर्नुहोस् । आफुले जान अन्जानमा दु:ख दिएका मानिससंग माफी माग्नुहोस र उनीहरूले दिएको माफिको लागि कृतज्ञ रहनुहोस् । यसले तपाईंलाई चिन्ता र भय मुक्त बनाउँछ ।
पुस्तक पढ्नुहोस् :
रातमा निद्रा नलाग्नेहरूका लागि पुस्तक अचुक औषधि हो । यसैपनि पढ्नाले ज्ञान् बढ्छ । ज्ञानी मान्छे गलत गतिविधिमा संलग्न हुने संभावना नै कम हुन्छ । जसले मन र मस्तिष्कलाई पवित्र राख्छ । सुत्नेबेला सकारात्मक उर्जादिने पुस्तक पढ्नाले राम्रो निद्रा लाग्छ ।
साना बच्चासंग रमाउनुहोस् :
आजभोलि हामी विग्रीएका छौं, दुनियाँको अर्कै कुनामा रहेको अन्जान मान्छेलाई दिनरात समय दिनेहरू आफ्नै घर वा छिमेकमा रहेका साना-साना नानीबाबुहरूसंग रमाउन वा उनीहरूसंग समय व्यतित गर्न चाहादैनौं । कतिपय धर्मशास्त्रले बच्चाबच्चीलाई भगवानको रुप समेत भनेको छ । बच्चाहरूसंगको संगतले एकातिर सानासाना कुरामा रमाउने आदत बस्छ भने अर्कोतिर मान्छे बच्चा झै निर्दोष र पवित्र आत्माको हुन्छ । साथै बच्चासंग घर वा छिमेकका ठुलामान्छेले समय व्यतीत गर्दा उनीहरूमा पनि अनलाइन गेम लगायतको लत नबस्ने तथा बच्चा सानैबाट थप सामाजिक बन्दछ ।
बगैंचा, करेसाबारी वा खेतबारीमा समय विताउनुस् :
बगैंचा, करेसाबारी वा खेतबारीमा माटो हुन्छ । त्यो माटो जसमा हजारौं जीवन छन् । किराकिरी देखि घाँसपात, अन्नबाली सबै उत्पादन हुने उक्त माटोमा अथाह उर्जा हुन्छ । उक्त माटोमा रमाउन सिक्यो भने मन नै आनन्दित हुन्छ । बगैंचा वा करेसाबारी सजाउँने तथा खेतबारीमा अन्न फलाउँदा प्राप्त हुने सन्तुष्टिले मान्छेमा माटोप्रति प्रेम जगाउँछ ।
नियमित व्यायाम गर्नुहोस् :
सुत्ने र उठ्ने समयको तालमेल मिलाउने कुरा माथि नै उल्लेख गरियो । साथै सुत्नेबेलामा कसरत नगर्न समेत सुझाइयो । तर हरेक दिन विहान जति समय सकिन्छ, शारीरिक कसरत गर्नुपर्छ । कसरतले मान्छेलाई स्फुर्त र निरोगी बनाउँन मदत गर्छ । जसको प्रत्यक्ष प्रभाव हाम्रो दैनिक जीवनमा पर्छ ।
।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology