रेशम अधिकारी, देवदह । "सयको डेढ किलो ! सयको डेढ किलो !! ए हजुर कता ? सस्तो तरकारी एता !! " यो आवाज हो - शुक्रबारे हाटबजार देवदहको ।
कोरोना महामारीको तेस्रो लहर तिब्र रुपमा फैलिएको छ । शुक्रबार मात्र देशभर दश हजार भन्दा बढी संक्रमीत थपिएका छन । महामारीको चेन ब्रेक गर्न सरकारले सुरक्षा सतर्कता अपनाउँदै आएको छ । देशभरका शैक्षिक संस्था बन्द छन् । विवाह तथा धार्मीक अनुष्ठानमा समेत कडाइ गरिएको छ । कुनै पनि सार्वजनिक गतिविधि गर्न परे २५ जना मात्र संलग्न हुनुपर्ने, अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कने लगायतका निर्णय राज्यले गरिरहँदा देवदहमा भने हाटबजार पनि ठुलै महोत्सव झै गरि संचालित छन् । दृश्य देख्दा यस्तो लाग्छ - यो देशमा केही भएकै छैन, सब ठिकठाक छ ।
हाटबजारमा व्यापार गर्ने व्यापारी हुन् या सामान किन्न पुगेका ग्राहक नै किन नहुन् । अधिकांशले मास्क लगाएका छैनन् । यदाकदा लगाएकाहरूले समेत चिउँडोमा झुन्ड्याएर डुलिरहेका छन् । यसरी हेर्दा व्यापारी र उपभोक्ता कोहि पनि स्वास्थ्य सतर्कताबारे गम्भीर नभएको बुझिन्छ ।
यसबारे ब्यापारीहरूसंग कुरा गर्दा उनीहरूले मास्क लगाएर बोल्न अफ्ट्यारो हुने हुनाले मास्क नलगाईएको बताए । परिचय नखुलाउने सर्तमा सोही बजारमा आलु बिक्रि गरिरहेका एक व्यापारीले आफुले मात्रै नभएर कसैले पनि मास्क तथा सेनिटाइजर केहिको पनि प्रयोग नगरेको स्विकार गरे ।
यसबारे देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर केसीसंग कुरा गर्दा उनले हाटबजार लगायत भिडभाड हुने स्थान बन्द गर्ने निर्णय भएको बताउँदै अनुगमन जरुरी रहेको बताए ।
हाट बजारमात्रै होइन, देवदहमा क्रियाशिल सामाजिक संघसंस्थाका कार्यक्रम हुन् या त विवाह लगायतका कार्यक्रम कहिँ पनि स्वास्थ्य सतर्कता अपनाएको पाइन्न ।
यदि यहिक्रम कायम रहने हो भने दैनिकजसो बढ्दै गइहेको महामारी देवदहमा नियन्त्रण बाहिर जानसक्ने तर्फ आमनगरवासी र सम्बन्धित निकायको ध्यान जानू जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology