देवदह । रुपन्देहीको देवदहमा नदिजन्य पदार्थको तस्करी बढेपछि सर्वसाधारणले विरोध जनाएका छन् । आफुहरुलाई रातको समयमा सुत्न समेत नदिने गरि रातभर ट्याक्टरमा ढुंगा तथा नदिजन्य पदार्थ तस्करी हुने गरेको भन्दै नगरवासीले विरोध जनाएका हुन् ।
देवदहकी युवा उद्यमी समज्ञा अधिकारीले देवदहका नदिनालाहरुबाट रातभर नदिजन्य पदार्थको तस्करी हुने गरेको भएपनि देवदह नगरपालिकाले त्यसलाई रोक्न नसकेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् । देवदह नगरपालिका वडा नं ७ निवासी उनले मंगलवार राती करिव १० बजेको समयमा नगरपालिकालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेकी छन् – ‘... देवदह नगरपालिका, जति भनेपनि नदिजन्य पदार्थ रातीमा रोक्न नसक्ने, खुब समृद्ध देवदह बनाएको छ । आजपनि सुत्न नदिने भए ।’
समज्ञाले सामाजिक सञ्जालमा यो विषय उठान गरेसँगै अर्की युवा विनिता श्रीसले यसरी सामाजिक सञ्जालमा लेख्दा दुश्मन बढ्ने भन्दै प्रतिकृया दिईन् । उनले भनेकी छन्, ‘सत्य बोल्दा दुश्मन बढ्छ, नबोल्दा आत्मा जल्छ ।’ विगत लामो समय देवदहमा रहेर मिडिया क्षेत्रमा काम गरेकी उनले पनि घुमाउरो पारामा तस्करी बढेको र जिम्मेवार निकाय मुकदर्शक बनेको तर्फ इंगित गरेकी छन् ।’
त्यसैगरी अर्की युवा सविता भट्टले पनि समज्ञाको धारण प्रति समर्थन जनाएकी छन् । समस्या परेर नागरिकले गुनासो गर्दा समेत जिम्मेवार निकाय मौन बसेको उनको प्रतिकृयाले प्रष्ट पार्छ । उनी लेख्छिन्, ‘आफुलाई समस्या नपरी आवाज उठाउनु हामी कसैको रहर होइन बाध्यता हो । निर्दोषलाई दोषी हामीपनि कदापि मान्दैनौं । यतिधेरै पटक सामाजिक सञ्जालमा समज्ञा अधिकारीले आवाज उठाउँदा पनि प्रकृतिमाथिको दमनमा हाम्रो नारा ‘सुखी नेपाली समृद्ध नेपाल’ !’

समज्ञाले सामाजिक सञ्जालमा व्यक्त गरेको गुनासोप्रति अभियन्ता तथा सहकारीकर्मी प्रमोद खनालले नदिजन्य पदार्थको अवैध तस्करी रोक्न सुझाव स्वरुप प्रतिकृया लेखेका छन् । उनले नदिजन्य पदार्थ निकासीको बैधानिक बाटोतर्फ राज्य नलागेको बताएका छन् । उनले लेखेका छन्, ‘बैधानिक निकासको बाटोबाट राजस्व संकलन गरि पूर्वाधार विकासमा योगदान दिने नदिजन्य पदार्थ चोरी निकासीलाई बढवा दिएर देवदहवासीलाई आतंकित बनाईरहने सबै नेतृत्व पंक्तिहरु गैरजिम्मेवार देखिए ।’
खनालले खुलेआम नदिजन्य पदार्थको तस्करी भइरहेको बारे थाहा पाएपछि गत सालको भाद्र महिनामा अनुगमन नै गराएर समस्याबारे प्रहरी र नगरपालिकामा जानकारी गराएपनि त्यसको सुनुवाई नभएको बताए । उनले भने, ‘सर्बसाधारणले तपाईहरुकै मिलेमतोमा तस्करी हुन्छ भनेर हामीसँग कैँयौ पटक गुनासो गरेका छन् भनेर प्रहरीलाई समेत जानकारी गराएका हौं ।’ देवदहका बेथिति र अनियमितताबारे सरोकारवालाहरुलाई सचेत गराउने उद्धेश्यले स्वतन्त्र नागरिक अभियान सञ्चालन गरेका उनले पछिल्लो समय नगर प्रहरीसंग समेत तस्करहरुको उठबस रहने सूचना आफुसंग रहेको बताए ।
यो स्टाटसमा प्रतिक्रया दिने युवा र सर्बसाधारण मात्र नभएर राजनीतिक दलका केन्द्रिय स्तरका नेता समेत रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्सालले देवदहमा नदिजन्य पदार्थको तस्करी लामो समयदेखि भईरहेको संकेत गरेका छन् । उनले समज्ञाको स्टाटसमा खेलेका छन्, ‘यो देवदहको राष्ट्रिय कार्य हो, बोल्न हुन्न है बहिनी !’
समज्ञाको स्टाटसमा कतिपय युवाले ब्यङ्गात्मक रुपमा सरोकारवाला निकायलाई खुलेआम गिज्याएका छन् भने कतिपयले मिडियालाई चोरी निकासी नियन्त्रणको लागि खबरदारी गरिदिन आग्रह गरेका छन् । हाल वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका सामाजिक अभियन्ता अमृत लम्साल (स्वतन्त्र नेपाल)ले देवदहका दुईजना पत्रकारलाई मेन्सन गरेरै यसवारे मिडीया किन बेखवर भनेर प्रश्न गरेका छन् । यस्तै युवा रोशन गैरेले प्रतिकृयामा लेखेका छन्, 'मिडिया नबोलेसम्म काम छैन् ।'
नदिजन्य पदार्थको चोरी निकासीबारे देवदहमा रहेका मिडियाले पटक–पटक खवरदारी गर्दै आएका छन् । समाचार प्रकाशन/प्रशारणसँगै नगरपालिकाले आयोजना गर्ने सार्वजनिक सुनुवाई र विषयगत अन्तरक्रिया र गोष्ठिहरुमा समेत मिडियाले खवरदारी गर्ने गरेको देवदह प्रेस क्लवका सल्लाहकार तथा देवदह साप्ताहिकका सम्पादक रामबहादुर गुरुङ्गले बताए । ‘हामीले समाजमा देखिएका र उठान भएका समस्याहरु बाहिर ल्याईदिने हो । तर समस्या समाधानको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने हो ।’ उनले भने, ‘देवदहको हकमा त्यसो देखिएन । सर्वसाधारणले पटक पटक सामाजिक सञ्जालमा बिरोध गर्ने र मिडियाले यो विषय उठान गरिरहँदा समेत यसमा लामो समयदेखि न त नगरपालिका, न त पुलिस प्रशासन कसैको ध्यान जान सकेको छैन ।’
पछिल्लो पटक २०८१ भाद्र २८ गते समेत सेतोमसीले 'देवदहमा नदिजन्य पदार्थको चोरी निकासी, खोलामा ढुंगा सकिए' शिर्षकमा समाचार खेलेको थियो । त्यसैगरी २०८२ जेठ २५ गते टेण्डरको आवरणमा देवदहका खोलाहरुमा अनियन्त्रित रुपमा नदिजन्य पदार्थ निकालिएको भन्दै खवरदारी सहितको समाचार प्रकाशित गरेको थियो । सेतोमसीमै देवदहमा नदिजन्य पदार्थ उत्खनन : राजनीतिक दलले गरे अनुगमन शिर्षकमा लेखिएको समाचार प्रकाशित भएसँगै हेभि इक्वीपमेन्टको प्रयोग मार्फत गरिएको नदीजन्य पदार्थको उत्खनन कार्य रोकिएको थियो ।
तर त्यसपछि पनि ट्याक्टरमा निरन्तर रुपमा हुने गरेको निकासी नरोकिएको समज्ञालेनै सामाजिक सञ्जालमा राखेको पोष्टबाट प्रष्ट हुन्छ । उनले भाद्र ३० गते समाजिक सञ्जालमा देवदह नगरपालिकालाई नै सम्बोधन गरेर लेखेको स्टाटसमा भनिएको छ, ‘हेल्लो देवदह, अहिले रातीको ११ः२० भयो खोलामा नदिजन्य पदार्थ ओसारपसारको काम भइरहेको कारण आवाजले गर्दा राम्रोसँग सुत्न सकेको छैन यसको समाधान के हो ? कुन टाउकेको नेतृत्वमा हुँदैछ यो काम ?’ उनको यो स्टाटसले पनि यो काम नरोकिएको पुष्टि हुन्छ । सेतोमसीसँगको कुराकानीमा समज्ञाले भनिन् ‘यो क्रम निरन्तर चलिरहेको छ । जेन्जी आन्दोलनको क्रममा १/२ दिन रोकियो होला तर त्यसपछि यो कहिल्यै रोकिएको छैन । समज्ञाले गुनासो गरिन्, 'कामको शिलशिलामा थकाई लाग्दा कहिलेकाँही छिट्टै निद्रा पर्यो भने त निदाइएला तर निद्रा परेन भने रातभर नै जाग्राम बस्नुपर्ने बाध्यता छ ।’
उनले मंगलवारको स्टाटससंगै केहि थ्रेटहरुसमेत आएको गुनासो गरिन् । उनले भनिन्, ‘मदिरा सेवन गरेका र गाउँले हौं भन्दै कतिपय पुरुषहरु घरमै आएर हामीले काम गरेर खान पनि नपाउने ? कस्को चोरेका छौं र ?’ भन्दै धम्क्याउँछन् ।
रातभर आफुलाई परेको समस्याबारे समज्ञाले जनप्रतिनिधिलाई अवगत गराएको तर उनीहरुबाट समेत समस्या समाधान भन्दा पनि गाउँलेले नै मिलेर त्यसलाई रोक्नुपर्छ भनेर झर्किएको उनले गुनासो गरिन् । ‘आजमात्र नगर प्रमुख र उपप्रमुखलाई यो समस्याबारे जानकारी गराएकी छु ।’
थाहा पाएसम्म तस्करी नियन्त्रणको लागि प्रयासरत छौं : प्रहरी
यता प्रहरीले भने आफुहरु थाहा पाएसम्म तस्करी नियन्त्रणको लागि प्रयासरत रहेको बताएको छ । देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक भिमसेन विष्टले हामी जानकारी पाउना साथ उक्त स्थानमा पुगेकै छौं । भेटेको खण्डमा समाएर कानुन बमोजिम कारवाही गर्ने हो, नभेटिएसम्म हामीले पनि केहि गर्न सक्ने कुरा भएन ।'
उनले नगर प्रहरीसंगको सहकार्यमा नियमित गस्ती गर्ने र नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । 'मिडियामै विषय आएपछि हामी गम्भीर भएका छौं ।' उनले भने, 'सबै पक्षसंग छलफल र खोलामा गस्ती एकैसाथ गर्छौं ।'
घटनाको जानकारी दिएको केहि समयपछि निकासीमा प्रयोग भएका ट्याक्टरहरुलाई फोन गरेर भगाएपछि मात्र तपाईहरु चोरी निकासी स्थलमा पुग्नुहुन्छ भन्ने नागरिकको गुनासो छ भन्ने सेतोमसीको प्रश्नमा प्रहरी निरीक्षक विष्टले आफुहरूले त्यस्तो नगरेको बताए । उनले भने, 'मलाई खबर भएसम्म त्यस्तो भएको छ भन्ने मलाई लाग्दैन ।'
तपाई मातहतका प्रहरी तस्करी गर्नेहरुका खबरे र सूचक छन् भन्ने पनि गुनासो छ नि भन्ने प्रश्नमा उनले आधिकारीक रुपमा त्यस्तो भेटिए विभागिय कारवाहिका लागि सिफारिस गर्ने बताए ।
प्रहरी लिएर घटनास्थल पुग्दा तस्कर उम्किसक्छ : नगर प्रमुख खरेल
देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले यो विषयमा पटक पटक आफुसँग कुरा आएपनि यो गुनासो समाधान गर्न नसकेको स्वीकार गरे । ‘आजै मात्र पनि समज्ञा अधिकारी बहिनीले फोन गरेर समस्या बारे अवगत गराउनुभएको थियो । उहाँलाई मैले जानकारी हुनासाथ मलाई सिधै फोन गर्नु तपाईँ हामी सबै मिलेर यो तस्करी नियन्त्रण गर्ने हो भनेर भनेको छु ।’ नगर प्रमुख खरेलले भने, मैले प्रहरीको विषयमा पनि नागरिकले गुनासो गरेपछि अन्यत्रका प्रहरीलाई साथमा लिएर चोरी स्थलमा पुग्दा ति तस्करहरु उम्कीने गरेका छन् ।
स्थानीय प्रशासनले वास्ता गरेन : सामूदायिक वन
अवैध निकासीमा सामुदायिक वन र तिनका पदाधिकारीहरु समेत बेलाबेलामा विवादमा तानिने गरेका छन् । चोरी निकासी हुने खोलाहरु सामुदायिक वन क्षेत्रमै रहेको हुँदा सर्वसाधारणले गुनासो गर्नु स्वभाविक रहेको गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारीले बताए । उनले आफुले सामुदायिक वनका अध्यक्ष र पदाधिकारीहरुलाई समस्याबारे जानकारी गराउँदा उनीहरुले स्थानीय प्रशासनले वास्ता नगरेका कारण चोरी निकासी नियन्त्रणमा कठिनाई भएको बताउने गरेको उल्लेख गरे । ‘मैले पटक पटक जनप्रतिनिधिका हिसावले समेत यो विषयमा कुरा कुरा उठाउने गरेको छु । तर यहाँ एकले अर्कालाई दोष दिएर उम्किने परम्परा विगतदेखिनै चल्दैआएको छ ।’ उनले भने, ‘यो पटक सबै सरोकारवालाहरु एकैठाउँ बसेर दिर्घकालिन निकास निकाल्नुपर्ने आवश्यकता देखिएको छ । त्यसको लागि मैले फेरी पहल सुरु गर्छु ।’
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण विडारीले यसमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । 'प्रहरी प्रशासन मुख्य सरोकारवाला भएको हुनाले अलि बढी दायित्व प्रहरीले बहन गर्न पर्ने देखिन्छ ।' उनले भने, 'सव डिभिजन वन कार्यालय र सामुदायिक वनलाई म आजै थप निर्देशन दिन्छु ।'
देवदहमा नदिजन्य पदार्थको अवैध तस्करी केवल वातावरणीय समस्या मात्र होइन, यो स्थानीय शासन, प्रशासन र नागरिकबीचको विश्वासको संकट समेत हो । सर्वसाधारणले रातभर सुत्न नसक्ने गरी चल्ने ढुंगा–गिटीको निकासीले एकातिर जनजीवनमा त्रास सिर्जना गरेको छ भने अर्कोंतिर जिम्मेवार निकायहरू निरन्तर मौन देखिदा उनीहरु प्रश्नको घेरामा परेका छन् । नगरपालिका, प्रहरी प्रशासन, डिभिजन र सवडिभिजन वन कार्यालयहरू, सामूदायिक वनका पदाधिकारी र सदस्यहरू सबैले यसको जिम्मा लिनुपर्छ । राज्य संयन्त्रमात्र होईन, चौथो अंगको रूपमा रहेको मिडिया, नागरिक समाज, राजनीतिक दल र स्थानीय संघसंस्था सबैको पहल र खबरदारीले मात्र सार्वजनिक सम्पत्तिको संरक्षण हुन सक्छ । सबै सचेत हुन जरूरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology