'हामी भजन होइन, समाचार लेख्छौँ' म यहि वाक्यांशबाट नै प्रभावित थिएँ । जब मेरा सहकर्मी मित्र यस अनलाइनका सह-सम्पादक आदरणीय सुमन महतराले मलाई यसमा आवद्द गराउनुभयो ।
सेतोमसी अनलाइन संचालनमा आएको आज एक बर्ष पूरा भएतापनि मलाई यस मिडियामा जोडिने मौका केही पछि मिल्यो। सर्वप्रथम त मलाई यस् मिडियामा जोड्नुहुने सहकर्मी मित्र आदरणीय सुमन महतरा प्रती कृतज्ञता प्रकट गर्न चाहान्छु।
गुल्मीको रेडियो श्रृङ्गेस्वरबाट आफ्नो संचार क्षेत्रको यात्रालाई अघि बढाउने सौभाग्य करिब २ बर्ष अघिबाट पाएको थिएँ। यस् विचमा रेडियोदेखि विभिन्न अनलाइन तथा पत्रपत्रिकामा पनि आवद्द हुने मौका मिल्यो। सर्वप्रथम त मलाई संचार जगतमा ल्याउन सहयोग गर्नुहुने रेडियो श्रृङ्गेश्वरका दामोदर ज्ञवाली, भुवन भुसाल र इश्वरी बस्याल प्रती सम्मान छ।
कुरा गरौं, सेतोमसी अनलाइनको । यस अनलाइनमा जोडिएपछि आफुमा ठूलो परिवर्तन पाएको छु।समाचार लेख्ने शैली देखि लिएर समाचार लेखनका धेरै कुरा सिक्ने मौका मैले यहाँ जोडिएपछी पाएको छु। सम्पादक, कार्यकारी सम्पादक, सह- सम्पादक लगायतको सुझाव सल्लाह एवं हौसलाले एक किसिमको तागत मिलिरहेको छ।
आफु शिक्षण पेशामा आवद्द भएर पनि होला मनले जति चाहिरहेको छ, सेतोमसी जति चलाउने मन छ । खुलेर त्यो गर्न सकिरहेको छैन तर पनि साँझ बिहानको समय निकालेरै भएपनि पत्रकारिता मार्फत आफू बस्ने समाजलाई सु-सुचित गर्ने प्रयास गरिरहेको छु। भलै म यस भन्दा पहिले अन्य अनलाइनहरुमा पनि आवद्द थिएँ तर मलाई समाचार लेखनमा त्यति सहज थिएन ।
समाचारका बिषयमा संबंधित अनलाइनका सम्पादक ज्युहरुबाट त्यती सुझाव सल्लाह एवं प्रतिक्रिया नपाउँदा मलाई केही गाह्रो अवश्य भएको थियो ।किनकि पत्रकारिताको म त केवल भर्खरै नर्सरी कक्षामा छु जस्तो लाग्थ्यो । सोच्थेँ धेरै कुरा सिक्न बाँकी छ।
तर जब म यस् मिडियामा जोडिएँ, समाचार लेखनमा आफुलाई सुधार्न चाहाने म, आफुलाई सुधार्दै गइरहेको महसुस भएको छ । पहिले भन्दा नयाँ नयाँ बिषयमा कलम चलाउन थालेको अनुभुती भएको छ ।
एउटा विद्यालयको साप्ताहिक कार्यक्रमको समाचार लेख्दाखेरिबाट सुरु गरेको कलमले सेतोमसीसम्म आइपुग्दा स्थानीय तहमा भइरहेका भ्रस्टाचार, अनियमिततादेखि गरिब दुखीहरुका बोल्न नसकिरहेका आवाजहरुलाई कलमको माध्यमबाट बाहिर ल्याउन सफल भएको छु जस्तो लाग्छ । यसको पछाडि सेतोमसी अनलाइनको साथ कहाँ बिर्सिन सकुँला र?
भनिन्छ, आफुले टेकेको लौरी, चढेको सिँढी अनि समाएको हाँगा बिर्सिनेहरुको एकदिन आफ्नै अस्तित्व समाप्त हुन्छ । मैले संचार क्षेत्रको यात्रामा केहि अनलाइनसङ्ग सहकार्य गर्ने सौभाग्य प्राप्त गरेको छु । तर रेडियो श्रृङ्गेश्वर अनि सेतोमसी अनलाईन मैले समाएका हाँगा हुन्, मैले टेकिरहेका लौरा हुन अनि म चढेका अनि अझै चढ्न बाकी सिढिहरु हुन् । यी सिढीहरुलाई म कहिले भुल्ने छैन ।
सिंढीलाई लिफ्ट बनाइदिएर साथ सहयोग गरिरहनुभएका आदरणीय यस अनलाइनका सम्पादक बिष्णु प्रसाद पोखरेलप्रती म सधै कृतज्ञ रहनेछु। उहाँले मलाई दिनुभएको साथ अनि सहयोगको म खुलेर सम्मान गर्न चाहेँ । साथै यस् अनलाइनका कार्यकारी सम्पादक कृष्ण अन्जान जीलाई मैले संचार जगतको अभिभावकको रुपमा लिएको छु । उहाँको साथ, सहयोग अनि हौसलालाई मैले शब्दमा बयान गर्न सक्दिन । आफ्ना दशकौंदेखिका पत्रकारिताका अनुभव कति मज्जाले साट्नु हुन्छ, सिकाउनुहुन्छ । मैले धेरै सिक्ने मौका पाएको छु । यो सब सेतोमसीको देन हो ।
अन्त्यमा सेतोमसी अनलाइन देशकै प्रतिष्ठित र सम्मानित अनलाइन बन्न सकोस् , सेतोमसीले अहिले झैँ सधै व्यक्ति वा शक्ति विशेषको स्तुतिगान (भजन) होइन समाचार लेखोस्, शुभकामना ।
माधव ज्ञवाली
गुल्मी संवाददाता
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology