गुल्मी । स्थानीय सरकारले गरेका कामकारबाहीमा असन्तुष्ट रहदैं आएका मुसिकोट नगरपालिकामा कृयाशिल प्रमुख प्रतिपक्षी सहितका प्रमुख तीन दल एकजुट भएका छन् ।
मुसिकोट नगरपालिकामा प्रतिपक्षमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गरी ३ दल मुसिकोट नगरपालिकाले गरेका विभिन्न बेतिथि, अनियमितता र भ्रष्टाचारका विरुद्धमा एकजुट भएर अगाडी बढ्ने भएका हुन् ।
मुख्य प्रतिपक्ष दल नेपाली काँग्रेसको आयोजनामा वामीमा सम्पन्न ३ दलको सयुक्तं गठबन्धन बैठकले सरकारले गरेका बेतिथि विरुद्ध खबरदारी गर्दै जनतालाई सुसुचित बनाउन एकजुट भएर लाग्ने निर्णय भएको नेपाली काँग्रेस मुसिकोट नगर समिति सभापति मोहन घिमिरेले जानकारी दिए ।
मुसिकोट नगरपालिकामा एमाले नेतृत्वको स्थानीय सरकारका अनियमितता, बेतिथि र भ्रष्टाचारका विरुद्ध ३ दलिय संयुक्त गठबन्धनबीच कार्यगत एकता गरी सामुहिक रुपले अगाडी बढ्ने निर्णय भएको उनको भनाई छ ।
बैठकमा नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दुर्गा वि.क. ले हिँजो आफुहरु सत्तामा रहँदा पनि खराब नियत र बेतिथिका विरुद्ध खबरदारी गरेको भन्दै नगरले विभिन्न पूर्वाधार र विकास निर्माणका नाममा गरेका भ्रष्टचार र अनियमितताको बारेमा अब सडकबाटै आन्दोलन र दबाबका कार्यक्रमहरु गर्नुपर्ने बेला आएको बताए ।
उनले नेपाली काँग्रेस पहिले देखिनै प्रतिपक्षमा रहेको दल भएपनि प्रतिपक्षको भूमिका सशक्त रुपले निर्वाह गर्न नसक्दा बेतिथि झनै मौलाएको आरोप लगाए ।
केन्द्रीय राजनीतिमा गठबन्धन यथावत रहेपनि नरहेपनि आशन्न स्थानीय तहका निर्वाचनमा मुसिकोटमा भने गठबन्धन कायम गरेर अगाडी बढ्न आफुहरु तयार रहेको उनको धारणा थियो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका बसन्त अधिकारीले नेकपा एमालेको दादागिरी प्रवृत्ति मौलाउँदै गएको भन्दै त्यसलाई रोक्न सयुंक्त गठबन्धन एकजुट हुनुपर्ने जिकिर गरे ।
अधिकारीले विगतमा कसैलाई विकासप्रेमी भनेर आफुहरुले चर्चा गर्नु गलत भएको महसुस भएको भन्दै मुसिकोटका केही एमालेका नेताहरुले पार्टी भित्रै आफ्नो अस्तित्व गुमाएको आरोप समेत लगाए ।
सोही अवसरमा नेपाली काँग्रेस मुसिकोट नगरसभापति मोहन घिमिरेले हिँजो गणतन्त्र निर्माणको ईतिहासमा हातेमालो गरेर अगाडी बढेको पार्टीसगं आज पुनः कार्यगत एकता गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।
फरक प्रसगंमा घिमिरेले अहिलेको राष्ट्रिय राजनीतिलाई नियाल्दा आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने देखिएकाले यति त्यस्तो परिस्थिति यथावत रहेमा मुसिकोटमा पनि गठबन्धन गर्ने पक्षमा आफुहरु सकारात्मक रहेको धारणा व्यक्त गरे ।
नेपाली काँग्रेस मुसिकोट नगरसभापति मोहन घिमिरेको सभापतित्वमा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दुर्गा बहादुर विक, नेकपा एकीकृत समाजवादीका बसन्त अधिकारी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका पूर्व सचिव हरिनारायण सापकोटा, नेकपा माओवादीका नेता खुम बहादुर थापा, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, नेकपा माओवादी केन्द्रका सचिव युवराज खरेल, उपाध्यक्ष रोमाकान्त खरेल, नेपाली काँग्रेस मुसिकोटका बरिष्ठ सदस्य झविलाल भण्डारी, नेकपा माओवादी केन्द्रका नर बहादुर वि.क, गोविन्द वि.क आकाश, नेपाली काँगेसका रण बहादुर रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology