काठमाडौँ । रुसको काला समुद्र नजिकको प्रसिद्ध पर्यटकीय शहर सोची मा रहेको ठूलो तेल डिपोमा भीषण आगलागी भएको छ । रुसी अधिकारीहरूका अनुसार, आगलागी युक्रेनबाट भएको ड्रोन आक्रमणका कारण भएको हो ।
सोची नजिकको विमानस्थलको उडानहरू हालका लागि स्थगित गरिएको जनाइएको छ । क्रास्नोदार क्षेत्रका गभर्नर वेन्यामिन कोंद्रात्येभले ड्रोनको टुक्राले इन्धन ट्यांकीमा ठोक्किँदा आगो लागेको र घटनास्थलमा १२७ जना दमकलकर्मी परिचालित गरिएको बताएका छन् ।
अर्कोतर्फ, युक्रेनको दक्षिणी शहर माइकोलाइभमा रुसी क्षेप्यास्त्र आक्रमण हुँदा सर्वसाधारणका घरहरू र संरचनामा क्षति पुगेको छ । कम्तीमा सात जना नागरिक घाइते भएका छन्, जसमा तीन जनाको अस्पतालमा उपचार भइरहेको युक्रेनी आपतकालीन सेवाले जनाएको छ ।
रुसका अनुसार, सोचीको तेल डिपोमा भएको यो आक्रमण शुक्रबारदेखि आइतबारसम्म युक्रेनबाट भएका धेरै ड्रोन आक्रमणहरूमध्ये एक हो । युक्रेनी ड्रोनहरूले रियाजन, पेन्जा, र भोरोनेझ शहरका विभिन्न प्रतिष्ठानहरूलाई निशाना बनाएको र उक्त घटनामा भोरोनेझमा चार जना घाइते भएको त्यहाँका गभर्नरले बताएका छन् ।
रुसी रक्षा मन्त्रालयले भनेको छ कि सोही रातभरि ९३ युक्रेनी ड्रोनमध्ये ६० ड्रोन काला समुद्र क्षेत्रमा खसालिएको थियो । युक्रेनी हवाई सेनाका अनुसार, रुसले सोही रात ८३ (वा ७६ ड्रोन र ७ क्षेप्यास्त्र) प्रहार गरेकोमा ६१ थान नष्ट गरिएको हो । तर १६ ड्रोन र ६ मिसाइलले ८ ठाउँमा निशाना हानेको बताइएको छ ।
यसैबीच, युक्रेनमा पछिल्लो साता सर्वसाधारणमाथि भएका आक्रमणहरू विशेषगरी राजधानी किभमा भएको बिहीबारको आक्रमण सबैभन्दा घातक भएको देखिन्छ, जसमा कम्तीमा ३१ जनाको ज्यान गएको छ । युक्रेनी अधिकारीहरूका अनुसार, उक्त दिन ३०० भन्दा बढी ड्रोन र ८ क्रूज मिसाइल प्रहार गरिएको थियो, जुन २०२२ को फेब्रुअरीमा सुरु भएको युद्धयता किभमाथिको सबैभन्दा भीषण हमला मानिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि अझ कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । यसैक्रममा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रुसी आक्रमणको निन्दा गर्दै रुसविरुद्ध नयाँ प्रतिबन्ध आउने संकेत दिएका छन् ।
जुलाईमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई ५० दिनको अल्टिमेटम दिएका थिए– युद्ध अन्त्य नगरे रुसी तेलसहितका अन्य वस्तु निर्यातमा भारी शुल्क लगाइने चेतावनी दिँदै । पछिल्लो अपडेट अनुसार, ट्रम्पले अब यो म्यादलाई घटाएर ८ अगस्टभित्रको ‘१० वा १२ दिन’ तोकेको बताएका छन् ।
साभार : बिबिसि वल्ड
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology